यो मैले व्यक्तिगत रूपमा परिकल्पना गरी ‘पवित्र समाजवाद’ नाम दिएको एक वैचारिक अवधारणा हो।
‘पवित्र समाजवाद’ लेखकको मौलिक अवधारणा तथा बौद्धिक सम्पत्ति हो। सबै अधिकार सुरक्षित छन्। लेखकको अनुमति बिना यसको प्रतिलिपि, पुनःप्रयोग वा प्रयोग गर्न निषेध गरिएको छ।.
नेपालको राजनीतिक, सामाजिक र दार्शनिक चेतनाले लामो संघर्ष, प्रयोग र अनुभूतिको यात्रा तय गरेको छ। विभिन्न कालखण्डमा विभिन्न विचारधाराहरूले नेपाली समाजलाई दिशा दिने प्रयास गरे—कहिले वैज्ञानिक समाजवादले समानताको सपना देखायो, कहिले प्रजातान्त्रिक समाजवादले स्वतन्त्रता र न्यायको सन्तुलन खोज्यो, कहिले जनताको बहुदलीय जनवाद (जबज) ले नेपाली राजनीतिक यथार्थसँग साम्य खोज्यो, त कहिले पृथ्वीपथले मानव र प्रकृतिबीचको सम्बन्धलाई पुनः परिभाषित गर्यो। यी सबै धाराहरू आ–आफ्नै स्थानमा महत्वपूर्ण रहे, तर कुनै एक्लैले नेपाली समाजको सम्पूर्ण आवश्यकता, संवेदना र आत्मालाई पूर्णरूपमा सम्बोधन गर्न सकेनन्।
यही ऐतिहासिक पृष्ठभूमि, वैचारिक रिक्तता र नेपाली समाजको मौलिक चरित्रबाट जन्मिएको विचारधारा हो—पवित्र समाजवाद। पवित्र समाजवाद कुनै आयातित ‘बाद’ होइन, न त केवल पुस्तकमा सीमित सैद्धान्तिक कल्पना हो। यो नेपाली माटोमा उब्जिएको, नेपाली समाजको पीडा, संघर्ष, संस्कार र सम्भावनाबाट विकसित भएको विशेष विचारधारा हो।
प= परमेश्वरलाई साक्षी राखी पराईको गोटि नबन्ने।
वि = बिकाशमा दत्तचित्त रहने।श्रम गरेर देश बनाउने।
त्र =त्रास रहित बनेर आफ्नो धर्म,सस्कृति,राष्ट्रियता र राष्ट्रबादको रक्षा गर्ने।
पवित्र समाजवादले वैज्ञानिक समाजवादको वैज्ञानिक विश्लेषण र शोषणविरोधी चेतनालाई आत्मसात गर्छ, तर त्यसलाई केवल भौतिक उत्पादन र वर्गसंघर्षमा सीमित गर्दैन। यसले मानवलाई केवल आर्थिक प्राणी होइन, नैतिक, सामाजिक र चेतनशील अस्तित्वका रूपमा बुझ्छ। यही कारणले पवित्र समाजवादमा नैतिकता, करुणा र सामाजिक उत्तरदायित्व केन्द्रीय मूल्यका रूपमा स्थापित छन्।
यस विचारधाराले पृथ्वीपथको मूल आत्मालाई पनि स्पष्ट रूपमा समेट्छ। यहाँ पृथ्वीपथ भन्नाले पृथ्वीनारायण शाहले प्रतिपादन गर्नुभएको राष्ट्रिय स्वाधीनता, आत्मनिर्भरता, सामरिक सन्तुलन र राष्ट्रकेन्द्रित चिन्तनको मार्गलाई जनाउँछ। पृथ्वीनारायण शाहको ‘दिव्य उपदेश’मा आधारित यो पथले नेपाललाई विदेशी प्रभुत्वबाट जोगाउँदै आफ्नै माटो, स्रोत र जनशक्तिमा आधारित विकासको दृष्टि दिन्छ। पवित्र समाजवादले यही पृथ्वीपथलाई आधुनिक सन्दर्भमा पुनर्व्याख्या गर्दै राष्ट्रिय हित, स्वाभिमान, आत्मनिर्भर अर्थतन्त्र र प्रकृतिसँग सन्तुलित विकासको वैचारिक आधार निर्माण गर्छ।
जनताको बहुदलीय जनवाद (जबज) बाट पवित्र समाजवादले लोकतान्त्रिक अभ्यास, बहुलवाद र जनसहभागिताको मूल्य ग्रहण गरेको छ। सत्ता परिवर्तन मात्र होइन, सत्ताको नैतिक शुद्धता र जनउत्तरदायित्व यसको मूल चिन्तन हो। त्यसैगरी प्रजातान्त्रिक समाजवादबाट यसले मानव अधिकार, स्वतन्त्रता र सामाजिक न्यायको सन्तुलनलाई आत्मसात गरेको छ।
यी सबै धाराहरूको सारलाई एकीकृत गर्दै पवित्र समाजवाद एउटा विशेषवादका रूपमा उभिन्छ। यसले समानता मात्र होइन, शुद्धता खोज्छ; विकास मात्र होइन, सदाचार खोज्छ; सत्ता मात्र होइन, सेवा खोज्छ। राजनीति, अर्थतन्त्र र नैतिकता अलग–अलग होइनन् भन्ने मान्यतामाथि आधारित भएकाले यसलाई ‘पवित्र’ समाजवाद भनिएको हो।
नेपाल जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र धार्मिक सहिष्णुताले भरिएको देशका लागि पवित्र समाजवाद विशेष रूपमा सान्दर्भिक छ। यसले विविधतालाई विभाजनको आधार होइन, समृद्धिको शक्ति ठान्छ। गाउँ–समुदाय, सहकारिता, श्रम, प्रकृति, संस्कार र आधुनिक वैज्ञानिक चेतनालाई एउटै धारामा बाँध्नु नै यसको मौलिक विशेषता हो।
समय–समयमा मानव समाजले आफ्नो अस्तित्व, न्याय, समृद्धि र शान्तिको खोजीमा अनेकौँ बाद र विचारधाराहरू जन्मायो। कुनै बादले उत्पादनको प्रश्न उठायो, कुनैले सत्ता र वर्गसंघर्षको व्याख्या गर्यो, कुनैले लोकतन्त्र र जनअधिकारको आवाज बुलन्द गर्यो, त कुनैले प्रकृति र सभ्यताको सहअस्तित्वको कुरा गर्यो। तर यिनै सबै बादहरूको सीमालाई आत्मसात् गर्दै, तिनका कमजोरीलाई समेट्दै, र तिनको सारलाई नेपाली माटो, संस्कृति र चेतनासँग एकाकार गर्दै जन्मिएको नवीन, मौलिक र समग्र दर्शन हो — पवित्र समाजवाद।
बैज्ञानिक समाजवादको तर्कशीलता, पृथ्वीपथको प्रकृतिपरक चेतना, जनताको बहुदलीय जनवाद (जबज) को व्यवहारिक राजनीतिक मार्ग, र प्रजातान्त्रिक समाजवादको मानवीय स्वतन्त्रता — यी सबैको संश्लेषण मात्र होइन, तिनको आध्यात्मिक उन्नयन हो पवित्र समाजवाद। यस अर्थमा पवित्र समाजवाद कुनै एउटा ‘वाद’ मात्र होइन; यो बादहरूमाथिको महाबाद हो — जसले अर्थ, राजनीति, संस्कृति, नैतिकता र प्रकृतिलाई एउटै सूत्रमा गाँस्छ।
पवित्र समाजवाद कुनै आयातित विचार होइन। यो न त पश्चिमी कारखानाबाट निस्किएको सिद्धान्त हो, न त केवल पुस्तकालयको धुलोमा सीमित अकादमिक अवधारणा। यसको मूल बीउ नेपाली गाउँ, गुठी, मठ–मन्दिर, पोखरी, पाटी–पौवा, र परम्परागत श्रमदानको संस्कारमा रोपिएको छ।
जहाँ खेत केवल निजी सम्पत्ति थिएन, देवता र समाजको साझा धरोहर थियो; जहाँ पानी केवल उपभोगको साधन थिएन, जीवनको देवत्व थियो; जहाँ श्रम केवल ज्याला थिएन, पुण्य थियो; र जहाँ समाज केवल भीड थिएन, परिवार थियो — त्यहीँ पवित्र समाजवादको मौन अभ्यास हुँदै आएको थियो। आधुनिक राजनीतिक भाषाले जसलाई ‘पिछडोपन’ ठानेर विस्थापित गर्यो, पवित्र समाजवादले त्यसैलाई पुनः दर्शनको उचाइमा पुनर्स्थापित गर्छ।
पवित्र समाजवादको केन्द्रीय मन्त्र हो — “आर्थिक समता र आध्यात्मिक सन्तुलनको संयोजन।”
यो दर्शनले समाजलाई केवल पेट र पैसाको गणनामा सीमित गर्दैन। यसले मानव जीवनलाई नैतिकता, धर्म, करुणा, सेवा र प्रकृतिसँगको सहअस्तित्वको व्यापक धरातलमा राख्छ। आर्थिक असमानता, नैतिक पतन र पर्यावरणीय विनाश — आजका यी तीन गहिरा संकटको साझा समाधान खोज्ने दुर्लभ दर्शन पवित्र समाजवाद हो।
जहाँ बैज्ञानिक समाजवादले उत्पादन सम्बन्धको परिवर्तनमा जोड दिन्छ, त्यहाँ पवित्र समाजवादले उत्पादन गर्ने मन, उपभोग गर्ने विवेक र बाँड्ने संस्कारको परिवर्तनमा जोड दिन्छ।
पवित्र समाजवादको आत्मा “श्री” शब्दमा निहित छ। संस्कृत मूलको ‘श्री’ ले वृद्धि, प्रकाश, ऐश्वर्य, शुभता र समृद्धिलाई जनाउँछ। वैदिक परम्परामा ‘श्री’ महालक्ष्मीको प्रतीक हो — तर यहाँ लक्ष्मी केवल धनकी देवी होइनन्; उनी सदाचार, ज्ञान, करुणा र सन्तुलनको ऊर्जा हुन्।
श्रीलाई शिरमा राख्नुको अर्थ — सोच, विवेक र निर्णयमा धर्म, शुभता र नैतिकताको शासन स्थापना गर्नु हो। यही कारण पवित्र समाजवादको दर्शन ‘शिरहीन क्रान्ति’ होइन; यो विवेकशील, धर्मयुक्त र करुणामय रूपान्तरण हो।
पवित्र समाजवादको सम्पूर्ण ढाँचा अडिएको छ ४–ज मा —
• जमिन — उत्पादन, आत्मनिर्भरता र जीवनको आधार
• जल — जीवन, सभ्यता र भविष्यको स्रोत
• जनता — श्रम, चेतना र सार्वभौम शक्ति
• जनसहभागिता (श्रमदान) — सामूहिक उत्तरदायित्व र सामाजिक आत्मा
यी चार तत्त्व केवल भौतिक स्रोत होइनन्; यी राष्ट्रजीवनका चार पवित्र स्तम्भ हुन्। जमिन बिना अर्थतन्त्र छैन, जल बिना जीवन छैन, जनता बिना राज्य छैन, र जनसहभागिता बिना लोकतन्त्रको आत्मा छैन।
पवित्र समाजवादले जमिनलाई दलालको होइन, कृषक र समुदायको बनाउँछ; जललाई निजी नाफाको होइन, भावी पुस्ताको धरोहर ठान्छ; जनतालाई केवल मतदाता होइन, निर्माता बनाउँछ; र श्रमदानलाई बाध्यता होइन, पुण्यको रूपमा पुनर्जीवित गर्छ।
पवित्र समाजवाद केवल भावना होइन; यो व्यवस्थापन र शासनको स्पष्ट मार्गचित्र पनि हो। यसको लागि प्रस्तुत गरिएको छ ७–S मार्गनिर्देशन —
• Strategy (रणनीति): चेतना, करुणा र सेवा आधारित दीर्घकालीन समाज निर्माण योजना
• Structure (संरचना): राज्य, संस्था र समुदाय समानता र सेवामा आधारित
• Systems (प्रणाली): शिक्षा, स्वास्थ्य, न्याय, अर्थतन्त्र मानवहित केन्द्रित
• Shared Values (साझा मूल्य): सत्य, प्रेम, सेवा, करुणा, समानता
• Skills (कौशल): नैतिक, बौद्धिक र आध्यात्मिक दक्षता
• Style (शैली): सेवा, उत्तरदायित्व र करुणामय नेतृत्व
• Staff (जनशक्ति): जागरूक, जिम्मेवार र सशक्त नागरिक
यसरी ७–S ले पवित्र समाजवादलाई केवल आदर्शको तहमा होइन, कार्यान्वयनयोग्य शासनदर्शनको तहमा उभ्याउँछ।
पवित्र समाजवादको राजनीतिक दर्शन केवल सत्ता सञ्चालनको प्रविधि होइन; यो नैतिक चेतनामा आधारित राज्य–समाज रूपान्तरणको परियोजना हो। यही कारण यसको आधारस्तम्भका रूपमा प्रस्तुत गरिएको छ १०–‘स’ सिद्धान्त, जसले व्यक्ति, समाज र राज्यलाई एउटै मूल्य–सूत्रमा बाँध्छ।
संस्कार बिना राजनीति नाङ्गो हुन्छ। पवित्र समाजवाद संस्कारलाई निजी जीवनमा मात्र सीमित नराखी सार्वजनिक जीवनको आधार बनाउँछ। संस्कृति बिना राष्ट्र आत्माहीन हुन्छ; त्यसैले कला, साहित्य, भाषा र परम्परालाई राष्ट्रिय पूँजीका रूपमा स्वीकार गर्छ। समानता पवित्र समाजवादमा केवल कानुनी अवधारणा होइन; यो अवसर, सम्मान र पहुँचको समानता हो।
सह–अस्तित्व यसको राजनीतिक पर्यावरण दर्शन हो, जहाँ मानव–मानव, मानव–समाज र मानव–प्रकृति बीच सन्तुलन कायम हुन्छ। सत्य शासनको मेरुदण्ड हो; असत्यमा टिकेको सत्ता दीर्घायु हुँदैन भन्ने यसको स्पष्ट मान्यता छ। सेवा सत्ता प्राप्तिको साधन होइन, सत्ता सञ्चालनको चरित्र हो।
श्रमदान पवित्र समाजवादको मौलिक राजनीतिक औजार हो, जसले नागरिकलाई उपभोक्ता मात्र होइन, राष्ट्रनिर्माता बनाउँछ। सृजनशीलता बिना समाज जड हुन्छ; त्यसैले नवप्रवर्तनलाई यसले वैचारिक कर्तव्य ठान्छ। सद्भाव बिना बहुल समाज विखण्डित हुन्छ, र सन्तुलन बिना विकास आत्मघाती बन्छ। १०–‘स’ ले यसरी समाजवादलाई कठोर संरचना होइन, जीवित नैतिक प्रणाली बनाउँछ।बैज्ञानिक समाजवादले वर्गसंघर्ष र उत्पादन सम्बन्धको ऐतिहासिक विश्लेषण गर्यो। तर यसले नैतिकता र आध्यात्मिक चेतनालाई ‘अधिरचना’ भनेर सीमित गर्यो। पवित्र समाजवादले उत्पादन सम्बन्ध मात्र होइन, उत्पादन गर्ने चेतनालाई पनि परिवर्तन गर्छ।
प्रजातान्त्रिक समाजवादले स्वतन्त्रता र समानताको सन्तुलन खोज्यो, तर बजार र नैतिक नियन्त्रणबीच स्पष्ट रेखा कोर्न सकेन। पवित्र समाजवादले बजारलाई स्वीकार गर्छ, तर धर्म, करुणा र सामाजिक उत्तरदायित्वको लगामसहित।
जनताको बहुदलीय जनवाद (जबज) नेपाली राजनीतिमा व्यवहारिक मार्गदर्शन हो। पवित्र समाजवाद जबजको लोकतान्त्रिक यथार्थवादलाई आत्मसात् गर्छ, तर त्यसमा आध्यात्मिक नैतिक अनुशासन थप्छ।
पृथ्वीपथले पर्यावरणीय चेतना दियो, तर राजनीतिक–आर्थिक संरचनाको समग्र विकल्प दिन सकेन। पवित्र समाजवादले पृथ्वीपथलाई आफ्नो जल–जमिन दर्शनमार्फत पूर्णता दिन्छ।
यसरी पवित्र समाजवाद यी सबै धाराहरूको अस्वीकार होइन; यो तिनको संश्लेषण, परिष्कार र उन्नयन हो। यही कारण यो बाद होइन, महाबाद हो।
पवित्र समाजवादमा राज्य शक्ति केन्द्रित संस्था होइन; यो सेवक संरचना हो। सत्ता विशेष वर्गको अधिकार होइन, जनताको पवित्र जिम्मेवारी हो। नागरिक मतदाता मात्र होइन, नीति–निर्माता, श्रमदाता र नैतिक पहरेदार हो।
यस दर्शनमा राजनीतिक नेतृत्व ‘शासक’ होइन, सेवक–साधक हो। भ्रष्टाचार केवल कानुनी अपराध होइन; यो नैतिक पतन हो। त्यसैले दण्ड मात्र होइन, चेतना रूपान्तरण आवश्यक ठानिन्छ।
किन पवित्र समाजवाद महाबाद हो?
किनकि —
• यसले अर्थ, राजनीति, धर्म र प्रकृतिलाई एउटै दर्शनमा बाँध्छ।
• यसले नेपाली परम्परालाई आधुनिक शासनसँग मिलाउँछ।
• यसले वर्गसंघर्षलाई करुणा–संवादमा रूपान्तरण गर्छ।
• यसले विकासलाई सन्तुलन र शुभतासँग बाँध्छ।
यसैले पवित्र समाजवाद कुनै एक युगको विचार होइन; यो सभ्यताको दिशासूचक दर्शन हो।पवित्र समाजवाद नेपालको राजनीतिक प्रयोग मात्र होइन; यो नयाँ राष्ट्रिय पुनर्जागरणको घोषणापत्र हो। जहाँ जमिन पूज्य हुन्छ, जल पवित्र हुन्छ, जनता सार्वभौम हुन्छन्, र श्रम साधना बन्छ।यो विचार लागू भयो भने नेपाल केवल गरिब देशबाट धनी राष्ट्रमा मात्र रूपान्तरण हुँदैन; नेपाल नैतिक, आध्यात्मिक र मानवीय नेतृत्व दिने राष्ट्र बन्छ।अन्ततः पवित्र समाजवाद सत्ता प्राप्तिको बाटो होइन; यो मानव मुक्ति र सभ्यता संरक्षणको पथ हो — यही कारण यो बादहरूमाथिको महाबाद हो।
डा: गोपाल पौडेल




















