पञ्चायत व्यवस्थाले सबैलाई पञ्च मानेको थियो । समाज, देश र देशवाशीको काम गर्न कुनै विषेश योग्यताको आवश्यकता नै थिएन , आफ्नो ल्याकत र वर्कतलाई अरुले पत्याई दिए पुन्थ्यो । काम गर्नसक्ने वा नसक्ने योग्यताको प्रमाणपत्र मतदाताले दिन्थे ।
जसलाई मतदाताले जुनस्तरको मान्थ्यो उ त्यही स्तरमा हुन्थ्यो । यो नयाँ कुरा पनि थिएन, अझैपनि राजनीतिले प्रदुषित गर्न नभ्याएको क्षेत्रमा यहि पद्धती कायम छ ।
निजी क्षेत्रका त्यस्तै कामले नाफा आर्जन गरिरहेको अवस्थामा सार्वजनिक वा सरकारी क्षेत्र त्यही कामले घाटा खानुको यहीमात्र कारण हो । निजी क्षेत्रले आफुलाई चाहिनेको योग्यता आफै हेर्छ भने सरकारी क्षेत्रमा यो योग्यता दलका महन्तहरुले हेर्छन ।
जनमत संग्रह पछि राजा वीरेन्द्रले यहि कुरा भने ‘सबै नेपाली पञ्च ’ । वर्तमानमा पञ्चायत व्यवस्था ढाल्न योगदान दिएको ‘भत्ता’ पाउदै गरेका त्यस वेलाका मुर्धन्य पत्रकारहरुले यो भनाईको खिसी गर्ने कुनै मौका छोडेनन । राजाको यो भनाई सबैको वैचारिक भिन्नता समाप्त गरेर एक विचारमात्र हुनु पर्दछ भन्ने थिएन ।
आफ्नो अलग परिचय, विषेशता र अस्तित्व सहित नेपालमा नेपालीको रुपमा सबैको समान हक, कर्तव्य छ भन्ने थियो । यहि अलग परिचय, विषेशता र अस्तित्वको संयुक्त नाम अहिले भनिने गरेको ‘पहिचान’ हो ।
अहिले भनिने गरेको सहमती र सहाकार्य भने व्यवहार रुपमा आफ्नो यो पहिचान विसर्जन गरेर अरुको कुरामा विलिन हुन जानु हो । सहमति र सहकार्य अलग पहिचान बोकेर पनि संभव भने छ तर त्यसको निमित्त सबैले सबैको पहिचानको अस्तित्व स्विकार्नु पर्छ र सम्मान गर्नु पर्छ । ‘सबै नेपाली पञ्च’ को अर्थ यहि थियो ।
पञ्चायतमा जसको प्रतिनिधित्व गर्ने हो उसैले आफ्नो काम गर्न को योग्य छ भनेर छान्ने भएकाले योग्यता कार्यसम्पादनमा निर्भर थियो । पञ्चायतमा भाषण कला, ठूला नेताहरुसंगको अन्तरंग सम्वन्ध वा छिमेकी मुलुकको कृपापात्र हुनुले खासै अर्थ थिएन ।
व्यवस्थामा जनप्रतिनिधि भएर काम गर्ने वा काम गर्न चाहानेलाई नेता हैन पदमा भए जनप्रतिनिधि नभए कार्यकर्ता भनिन्थ्यो । हो ३६ साल पछि पत्रकारहरुले यस्ता कार्यकर्ता, जनप्रतिनिधि र व्यवस्थाप्रति आस्थावान जनतालाई एक साझा नाम दिएका थिए ‘पञ्च’ ।
पछि ‘पञ्च’ र महापञ्च भनिन लाग्यो र यसलाई महापञ्च भनिएकाहरुले अपनाए पनि । विकृतिको प्रवेश यसरी नै भयो ।
४ हजार २३ गाँउ पञ्चायत हरेकमा ९ वडा र हरेक वडामा ५ जनप्रतिनिधि । त्यसै गरेर २९ नगर पञ्चायत ११ देखि ३१ वडा र हरेक वडामा ५ जनप्रतिनिधि । थपमा वर्गिय संगठनहरु र त्यसका तल्लास्तरका प्रतिनिधिहरु ।
यसले पदमा भएका जनप्रतिनिधिहरुको विशाल आकार देखाउछ । अझ यसमा विकल्पमा हामी पनि छौ भन्ने निर्वाचनमा असफल भएर अर्को पल्ट सफल हुन प्रयत्नरत कार्यकर्ताहरुको संख्या पनि लिँदा लाखौ हुन आउछ ।
जो स्थानिय स्तरमा जनताको र आफ्नो स्थानको भलोको निमित्त सोच्ने वा काम गर्ने गर्दथे । यस्तो समुहमा केही हजार नराम्रा व्यक्तिहरु पनि हुनु न अनौठो हो न अस्वभाविक नै ।
विना कुनै आग्रह पुर्वाग्रह नियमित रुपमा जनताले आफ्नो प्रतिनिधि चयन गर्ने भएकोले नराम्रा पछि पर्दै जाने स्वचालित प्रक्रिया थियो । त्यसैले मात्र भाषण कलामा निपुर्ण भएर र शिर्ष नेता रिझाएर टिक्न संभव पनि थिएन ।
त्यसैले केही अपवाद छोडेर कार्यकर्ताहरुलाई भाषण गर्न आउदैन थियो । त्यसै गरेर केही अपवाद छोडेर सबैलाई काम गर्न भने आउथ्यो । जनता जसरी भए पनि नरिझाई नहुने त्यो व्यवस्थामा अहिले आफुले पटक्कै मन नपराएको व्यक्तिलाई पनि पार्टीको ‘टिकट’ पाएको कारणले वोकेर हिंडनु पर्ने अवस्था संभव नै थिएन ।
जनप्रतिनिधि हुने वा हुन चाहानेको ज्यादा समय वास आफ्नो क्षेत्रमा हुन र उनिहरुको सुखदुख अनुभव हुन नितान्त आवश्यक थियो । सदरमुकाममा ज्यादा समय बास र क्षेत्रमा पनि सर्वसाधारणलाई दर्शन वाहेक संवाद दुर्लभ हुने गरेर दौडाहा अयोग्यता हुनसक्ने तर्फ चनाखो हुनै पर्दथ्यो ।
काम किन पुरा भएन भनेर जनताले सिधा गरेको प्रश्नमा जसरी भए पनि चित्त बुझाउनै पर्ने विवशता थियो । चित्त नबुझाए अर्को पल्ट ‘माथिका’ जो कोही दाहिना भए पनि ‘पत्तासाफ’ गर्ने जनताको हैसियत थियो ।
कि योग्य हुनै पर्यो कि योग्य भएको भ्रममा राख्न सक्नै पर्यो भाषण र 'माथि' नचल्ने भएकोले पञ्चायतमा योग्यताको आधार कार्यसम्पादन र जनप्रियता थियो ।
स्वयम्भुनाथ कार्की
विराटनगर १
२०७२।९।१५
(क्राईमचेक)




















