कुनै वेलामा नेपालमा राष्ट्रवादको शव्द सुन्ने वित्तिकै उग्रप्रतिकृया जनाउनेहरु थिए । राष्ट्रवादी भनेका गुन्डा हुन भन्न पनि पछि पर्दैन थिए ।
राष्ट्रवाद भन्ने वित्तिकै यति धेरै गाली गर्नु पर्ने कारण थियो उनीहरुसंग । त्यो कारणको औचित्य सातसाल ताकाको ‘गोबिन्दनारायण’ अनि त्यसको विकसित रुप ६३ तिरको ‘यचुरी’, ‘सुखदेव मुनी’ आदि हुन ।
यीनको नेपालको शासन सत्तामा कति जगजगी रह्यो त्यो लुकाउन सकिने कुरा हैन ।
त्यसै पनि विदेशका कुनै सहसचिवस्तरका व्यक्ति बसेको होटलमा नेपालका बरिष्टहरुको ताँती नै काफी छ । चाहे त्यो भारतको होस, चीनको होस वा म्यानमार कै किन नहोस । अझ पश्चिमा भयो भनेत साक्षत परमेश्वर ।
विश्वका अनेकौ विद्वानहरुको उद्धरण गर्दै बुझाउनु पर्ने "वाद"हरुको स्थानमा यहि देश र माटोबाट पैदा भएको पञ्चायतको पहिलो विषेशता थियो "राष्ट्रवाद" ।
त्यसैले साम्यवाद, समाजवाद , पुँजीवाद आदिको अनुयायीले राष्ट्रवादमा प्रहार गर्नु पर्ने थियो र गरे पनि । त्यस वेलवेलाका राष्ट्रवाद विरोधी अवषेश विचार वोक्नेहरु अझैपनि त्यसलाई एकल राष्ट्रवाद भन्ने गर्दछन ।
दल हैन आफ्नै लोकप्रियताले जितेकी पल्लो घरको बाटुलीलाई सामन्ती थिई भन्छन । महेन्द्रको नाम सुन्दा कुल्ला गर्नेहरु उनलाई जातीवादीको आरोप लगाउछन ।
अनि भागबण्डाले प्राज्ञिक भएकाहरु जनसमक्ष कहिल्यै नआउने शोधपत्रले दराज भर्छन । तर अव यो क्रम टुटेको छ । नयाँ संविधान अनुसार भएका निर्वाचनहरुमा राष्ट्रवादको नाम खुव विकेको छ ।
राष्ट्रवादले कुनै जात, समुह आदिको आधारमा नभई नेपालीलाई नेपाली कै रुपमा मात्र चिन्दछ । यसलाई बुझाउन महेन्द्रले प्रसस्त मेहेनत गरे ।
यसैको एक उदाहरण उनको कविताको दुई लाईन उपयुक्त होला ।
‘नडराई सम्झी लम्कदै, हि“ड ढाल यै हो देशको
जातमा जे छौं, सबै हौ, एक सन्तति देशको ।।’
–म. बी. बी. शाह
यो उनले नेपालकोे परंपरा , विषेशता स्मरण गराएर त्यसैमा चल्ने प्रतिवद्धता गरेको हो ।
यदि उनको कथनी र करनीमा अन्तर भएको भए तराई कांग्रेसका सस्थापक वेदानन्द झा मुलधारमा आएर महेन्द्रसंगै देशको सेवामा हुने थिएनन । आजकलका जातिय नेता जस्तो सत्तामा हुँदा एक चरित्र र बाहिर अलग राष्ट्र फलाक्ने थिए ।
नेपालमा जो जति छौं सबैको एउटै जात छ र त्यो जात हो नेपाली । यसै गरेर जो जति छौं सबैको धर्म एउटै हो र त्यो धर्म हो राष्ट्रवाद । नेपालको एकिकरण भएदेखी कै भावना यहि हो ।
विजित क्षेत्रलाई आफ्नो पेवा ठान्ने र पराजितलाई गुलाम बनाउने युगमा पनि नेपालको एकिकरण गरिसके पछि आफ्नो दावी नराखी नेपाललाई चार वर्ण छत्तिस जातको फुलवारी घोषणा गर्ने कार्यले यसैको पुष्टि गर्दछ ।
नेपाल स्वतन्त्र जन्मेकोे थियो । नेपालीहरु आफ्नो स्वाभिमानमा आँच आउन दिदैनन । यो कुरा सर्वसाधारण नेपालीलाई सम्झाउनै पर्दैन । नेपाली भएर जन्मने वित्तिकै उसको रगतमै यो कुरा सामेल हुन्छ ।
नालापानीको यूद्धमा अंग्रेजद्वारा कुटिलतापूर्वक भोकै र प्यासै लडेर मर्न कि अंग्रेजको दासता स्विकार गर्न बाहेक अर्को बिकल्प न छोडिएको अबस्थामा सहास र वीरता प्रर्दशन गर्न वीर बलभद्रको निर्णयमा साथ दिने प्रत्येक वीर तथा वीरांगनालाई यहि स्वाभिमान र राष्ट्रवादले प्रेरित गरेको थियो ।
हातमा नाङ्गो खुँडा र खुकुरी अनि खोकिलामा आफ्ना शिशु च्यापेर अंग्रेजको तोपको मोहरी अगाडी पर्दा अंग्रेज फौज हक्काबक्का भएर हेरि रहलान र प्राण रक्षा होला भन्ने उनिहरुको मनमा थियो भनेर सोच्न सकिने कुरा होईन ।
बेलाईतमा आफ्नो स्थान राजाको लहरमा राख्दा नेपाल रजौटा होईन अधिराज्य हो र नेपालका राजा राजा होईन महाराजा हुन भनेर भन्न जंग बहादुर राणलाई हिम्मत दिने तत्व स्वाभिमान र राष्ट्रवाद थियो ।
नेपाल रजौटा नभएर बेलाइत जत्तिकै सार्वभौम मुलुक भएको कुरा राम्रेरी अंग्रेजलाई बुझएका थिए त्यो यात्राक्रममा ।
आफु कुनै राजासाहेवको नभएर महाराजाधिराजको प्रतिनिधिको रुपमा आएकोले मुलुकलाई सो सरहको सम्मान चाहिने कुरा संसारभरका अनेकौ मुलुकलाई आफ्नो उपनिवेश बनाउन सफल अंग्रेजलाई बुझाउन सकेको कुरा वर्तमानमा सत्तालिप्सा र शक्तिको भोक मेटाउन विदेशी राजदुतको आदेशको पालना गर्नेहरुको साहसमा पर्दैन ।
वर्तमानका नेपाली नेतृत्व नेपाल वास्तवमा स्वतन्त्र त कहिले थिएन अप्रत्यक्षरुपमा उपनिवेश थियो मात्र भन्दैनन त्यस्तै व्यवहार पनि देखाउने गर्दछन । योे कुरा कुनै पनि स्वाभिमानी नेपालीलाई पच्न सक्ने कुरै होईन ।
भारत लगायत विश्वका शक्ति राष्ट्रको दया र कृपा वेगर देश चलाउन सकिदैन भनेर भन्नेहरुले अन्तरराष्ट्रिय मंचहरुमा आफु भन्दा पहिलेको नेपालले खेलेको निर्णायक भुमिका तर्फ आँखा चिम्लेको हुनुपर्छ ।
बर्षदिन भन्दा ज्यादा कडा भारतिय नाकावन्दी हुँदा पनि भोग्न नपरेको कष्ट अघोषित नाकावन्दीको हप्तादिन नपुग्दै जनताले भोग्नु परेको कारण विदेशी निगाह विना बाँच्न सकिदैन भनेर पढाइएकोले हो । भारत टेढिए चीन छ भन्नु पनि एकप्रकारको लम्पसारवाद नै हो ।
संसारको अन्यमुलुक भन्दा धेरै सहभागितामा बनाएको र एसियाको सर्वोत्कृष्ट भनेर आफैले घोषणा गरेको संविधान अनुसारको पहिलो प्रतिनिधिसभाको अधिवेशनको पहिलो कार्यसुची नै संविधान संसोधनको हुनु भन्दा दुर्भाग्यपुर्ण कुरो अन्य के हुन सक्छ र ?
त्यो पनि जनताको सुझावलाई लत्याएर सबै नियम निलम्वन गरेर कथित द्रुतमार्गबाट ल्याएको संविधानको संसोधन कुरा सबै कुटनैतिक मर्यादा नाघेर भारतले दिएको दवावको कारण आएको भनिन्छ ।
नेहरुले खेश्रा गरेको राजा त्रिभुवनको घोषणामा सामेल सविधान सभा कस्को माग थियो भन्ने विवेचन हुँदै गर्ला । तर ७ सालको , ४६ सालको र यो संविधानसभाको विचारको पनि स्वामित्व भारतले खोजेको भने पक्कै हो ।
जातभात, वर्ण, लिङ्ग, क्षेत्र, धर्म कुनै कुराले पनि देशको सन्तति हुन अबरोध पुर्याउदैन ।
एकताको सुत्रमा आबद्ध भएर नडराई हरेक चुनौतिको सामना गर्न सक्छौं भनेर भन्ने म. बी. बी. शाहको भावनालाई चुनौती दिएर नेपालीलाई यसरी अनेकौ श्रेणीमा विभाजन गरिएला भन्ने कल्पना राष्ट्रवादी नेपालीे गर्न सक्ने कुरा हैन तर विडम्वना , भयो ।
अब त संविधानतः नै नेपालीलाई नेपालीसंग छुट्याईएको छ ।
महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम भनेर नेपालीलाई चिन्छ । सकारात्मकको नाममा विभेद गर्छु भन्छ ।
यो नेपाली सबै एक हौं भन्ने भावनाको विपरित आफ्नो आत्मवल हमेशा गिराउने संज्ञाले नेपालीलाई अनेकौ किसिममा बाँडेर चीरकालको निमित्त भेदभाव कायम राख्ने प्रपञ्च हो ।
यसले व्यवहारमा थिचोमिचो , शोषण कायम राखेर भेदभावयुक्त समाज बनाउँछ । यसको प्रारम्भ संविधानको घोषणा भएको दिनबाटै देखिन थालेको छ ।
मनले बिभाजित भएकाहरुलाई जस्तोसुकै कानुनले पनि एक गर्न सक्दैन । मनले एकिकृत भएकालाई कुनै कानुन र भौगोलिक सिमारेखाले पनि भिन्न गर्न सक्दैन ।
त्यसैले मुलुकको कानून उलंघन नगरी पनि मुलुकको अस्तित्व रक्षाको निमित्त ‘राष्ट्र एक अनि राष्ट्रवादी एक’ हुन आवश्यक छ । अब यो आबश्यकतालाई नेपाली समाजले अनुभुत गर्न थालेको छ ।
यसैले हिजो राष्ट्रवादलाई गाली गरेर नथाक्नेहरु आज त्यही नाममा जनअनुमोदित हुन तँछाड मछाड गर्दैछन ।
आज कोही आफुलाई महेन्द्रको प्रतिरुप भनाउन प्रयत्न गर्दैछ । राष्ट्रवाद वेकारको कुरा हो अन्तराष्ट्रवाद भविष्य हो भनेर राजनैतिक प्रशिक्षण दिँदै हिँडनेहरु आज राष्ट्रवादको नाममा मत माग्दै जित्दै गर्दैछन ।
यो नै राजा महेन्द्रको दृष्टिकोणको विजय हो । करिव आधा शताव्दी पछि महेन्द्र र राष्ट्रवादलाई तानाशाही देख्नेहरु त्यो दुवैको महत्व बुझ्दैछन ।
यो बुझाई कोरा बुझाई हैन करिव तीन दशक महेन्द्रको वाद हराएर राज गरेको अनुभवको बुझाई हो ।
जीवनभर राजाले भौगोलिक एकिकरण गरे, राज्य विस्तार गरे तर भावनात्मक एकिकरण गर्न सकेनन भन्नेहरुलाइ जवाफ हो जो उनीहरु आफुले आफैलाई दिँदैछन ।
भावनात्मक एकता नभएकाहरु कुनै राष्ट्रको नाममा एक हुँदैनन । भावनात्मक एकताको अभावमा राष्ट्रवाद मर्छ बलियो हुन्न ।
राष्ट्रवाद त्यहाँ मात्र महत्वपूर्णहुन्छ जहाँ कुनै राष्ट्र भावनात्मक रुपले एक भएको हुन्छ ।
पहाडे खस राष्ट्रवाद भन्ने , मधेशी, हिमाली राष्ट्रवाद भन्नेहरुले त्यही भावनतत्मक एकता भत्काउन खोजेका हुन ।
चाहे नाममात्र होस तर राष्ट्रवादको नामले कसैले मत बटुल्न सक्छ भने त्यो भावनत्मक एकता कायम रहेको लक्षण हो ।
राष्ट्रवाद कति महत्वपूर्ण हुन्छ भन्ने कुरा डोनाल्ड ट्रम्पका मतदातालाई सोध्नु पर्छ , नरेन्दभाई मोदीलाई मत दिनेहरुलाई सोध्नु पर्छ ।
ट्रम्पले पनि जव अमेरिकीहरुलाई जात, जाती, सम्प्रदायको रुपमा चिन्न थाल्छन उनका पतन हुन्छ ।
मोदीले पनि जव भारतियलाई हिन्दु, मुस्लिम , गुजराती, बंगाली भनेर चिन्न थाल्छन पतन हुन्छन ।
यो शुभ लक्षण हो, अव छिटै नेपालीले पनि आफुलाई नेपाली भन्दा फरक चिनारी दिनेलाई पतन गराउने दिन आउने लक्षण देखिदैछ । ठिक महेन्द्रको पालामा जस्तो । त्यसैले ‘ जातमा जे छौं, सबै हौ, एक सन्तति देशको’ ।
स्वयम्भुनाथ कार्की
विराटनगर १
२०७४।९।२
परिमार्जन सहित ः हिमालय टाइम्स




















