महाशय!
तिमी जन्मनु अघि ,
तिम्रो कोमल पाइलाले यो धर्ती टेक्नु अघि,
बाला उमेरमै जानि नजानी
देशको निम्ति मुठ्ठी उठाएको मान्छे म,
जीवनको धर्म संकटको क्षणमा
गृहस्थ र राजनीतिको दोबाटोमा
धर्म संकटमा राजनिती छानेको चट्टानी मान्छे ,
तिम्रो बौद्धिताको आयतनले,
मलाई हनुमान देख!
तिम्रो चरित्रले तुलोमा
मेरै चरित्रको तौल नाप,
के के देख्छौ, देख, के के नाप्छौ नाप ।
समयले मेरो सिद्धान्तलाई कहाँ पुराउछ,
कुन उचाइ मा ?
सगरमाथा कि केचनाकेवल?
देखाउने छ , म हेर्ने छु, तिमी हेर्ने छौ ,
सब कुरा म स्वीकार्छु,
लाग्छ तिमी झन स्वीकार्ने छौ ।
म त निष्ठाको राजनीती गर्ने मान्छे,
मेरो निष्ठा म भन्दा प्यारो छ,
तिमी त हिजो दोबाटोमा भेटेर
मैले प्रिय भनिदिएर प्रिय भएको न हौ ,
मैले अगालेको मेरो सिद्धान्त ,
तिमीलाई वा कसैलाई
मन पर्नै पर्छ भन्ने छैन,
संसारमा एउटै कुरा
सबैलाई मन पर्ने भए
किन वाद, प्रतिवाद र संवाद चाहिन्थ्यो र?
किन द्वन्द्व र सङ्घर्ष हुन्थ्यो र?
तिमी स्वतन्त्र छौ आफ्नो विचारमा
म छु… हामी छौ…
तिम्रो स्वतन्त्रता स्वछन्दता तिमी सँगै छ,
न कसैले खोस्न सक्छ, न कसैले चोर्न सक्छ ।
बस! यत्ति थाह छ मलाई ,
जे गर्छु, हृदयले गर्छु र जे गर्दिन,
त्यो नगरेको दिन पनि हृदयले गर्दिन
र यो पनि थाह छ मलाई ,
आजको मितिसम्म मैले
साटेको छुइन केहीसँग आफुलाई,
अहिले बाचेको पल सम्म
केहि र कोहीसँग बिक्री गरेको छुइन आफूलाई ,
त्यसैले मेरो एक रुपसँग गर्व छ मलाई ,
त्यसैले मेरो इमानदारीता स्वाभिमानसँग गर्व छ,
तिमी मेरो चरित्रको सगरमाथा नाप्दै गर,
अवश्य
एक दिन भेट हुनेछ साझा चौतारीमा ।
मीन श्रेष्ठ
इटहरी




















