महाशय! 

तिमी जन्मनु अघि , 

तिम्रो कोमल पाइलाले यो धर्ती टेक्नु अघि, 

बाला उमेरमै जानि नजानी

देशको निम्ति मुठ्ठी उठाएको मान्छे म, 

जीवनको धर्म संकटको क्षणमा

गृहस्थ र राजनीतिको दोबाटोमा 

धर्म संकटमा राजनिती छानेको चट्टानी मान्छे ,  


तिम्रो बौद्धिताको आयतनले, 

मलाई हनुमान देख! 

तिम्रो चरित्रले तुलोमा

मेरै चरित्रको तौल नाप, 

के के देख्छौ, देख, के के नाप्छौ नाप । 

समयले मेरो सिद्धान्तलाई कहाँ पुराउछ, 

कुन उचाइ मा ? 

सगरमाथा कि केचनाकेवल? 

देखाउने छ , म हेर्ने छु, तिमी हेर्ने छौ , 

सब कुरा म स्वीकार्छु, 

लाग्छ तिमी झन स्वीकार्ने छौ ।


म त निष्ठाको राजनीती गर्ने मान्छे,  

मेरो निष्ठा म भन्दा प्यारो छ, 

तिमी त हिजो दोबाटोमा भेटेर 

मैले प्रिय भनिदिएर प्रिय भएको न हौ , 

मैले अगालेको मेरो सिद्धान्त , 

तिमीलाई  वा कसैलाई

मन पर्नै पर्छ भन्ने छैन, 


संसारमा एउटै कुरा

सबैलाई मन पर्ने भए

किन वाद, प्रतिवाद र संवाद चाहिन्थ्यो र?

किन द्वन्द्व र सङ्घर्ष हुन्थ्यो र?

तिमी स्वतन्त्र छौ आफ्नो विचारमा

म छु… हामी छौ…

तिम्रो स्वतन्त्रता स्वछन्दता तिमी सँगै छ, 

न कसैले खोस्न सक्छ, न कसैले चोर्न सक्छ ।


बस! यत्ति थाह छ मलाई , 

जे गर्छु, हृदयले गर्छु र जे गर्दिन, 

त्यो नगरेको दिन पनि हृदयले गर्दिन 

र यो पनि थाह छ मलाई , 

आजको मितिसम्म मैले  

साटेको छुइन केहीसँग आफुलाई, 

अहिले बाचेको पल सम्म 

केहि र कोहीसँग बिक्री गरेको छुइन आफूलाई ,  


त्यसैले मेरो एक रुपसँग गर्व छ मलाई , 

त्यसैले मेरो इमानदारीता स्वाभिमानसँग गर्व छ, 

तिमी मेरो चरित्रको सगरमाथा नाप्दै गर, 

अवश्य

एक दिन भेट हुनेछ साझा चौतारीमा ।

मीन श्रेष्ठ 

इटहरी