कति नीर्मल अनि नीस्चल छौ
बा तीमी
मेरा कलिला ओठहरूले लरबराउँदै
तोते शब्दमा पहिलो पटक
‘बा’ उच्चारेँ जब,
तिम्रो आँखाबाट बगेको
त्यो खुसीको सानो नदी
आजसम्म सुक्क सुक्क बगिरहेझैँ लाग्छ।
मैले कलिला खुट्टाहरू घिसारेर
यो धर्तीमा पहिलो पाइला चाल्दा,
हरेक चोटि ठोकिएर लड्दा—
उठाउन तानिएको
सहायताको पहिलो हात
तिमी नै थियौ,
मेरा बा!
आमाले बोक्ने ममताको विशाल खोला
सायद तिमीले बगाउन सक्यौैनौ,
तर म बिरामी भएर
ओछ्यानमा ढलेको बेला
मेरो नाडीमा सुमसुमाएर घरी घरी
मायालु स्पर्स गर्ने मेरा बा
निधारमा चढेको ज्वरो
बारम्बार छामेर
मेरो पीडालाई
आफ्नै मुटुमा थाम्ने कोशिश
तिमीले नै गरेका थियौ,
मेरा बा!
मैले झगडा गर्दा, बिगार गर्दा
कति सम्झाइरहन्थ्यौ—
मेरो जिद्दीपनमा कहिल्यै थाकेनौ।
कहिलेकाहीँ बेस्सरी पिटाइ दियौ,
तर म रुँदा—
तिमी कुना पसि
लुकिछिपी रुने त्यो असली पीडा
आज पनि बुबापनको
सबैभन्दा ठूलो बिम्ब जस्तो उभिन्छ,
मेरा बा!
कतै गएर फर्कँदा
दौराको गोजीभित्र
लुकाइ ल्याएको सानो मिठाईको टुक्रा
मेरो हाँसो किन्ने तिम्रो प्रयास मात्र थिएन—
त्यो तिम्रो विशाल ह्रदय अनि ,
‘म सधैँ तिम्रो साथ छु’
भन्ने मौन भाषाभित्र लुकेको प्रेम थियो।
घुँडा टेकी
कहिले हात्ती, कहिले घोडा बनेर
आफैँ बालकझैँ भई
मेरो संसार सुखमय बनाइदिन्थ्यौ,
मेरा बा!
पहिलो पटक अक्षर कोर्ने
कलादेखि अनुशासनको बाटोसम्म
तिमीले नै त सिकायौ।
कहिले साथी, कहिले अभिभावक,
कहिले गुरु—
एकै शरीरमा
धेरै रूप भएर उभिन सक्ने कला भएका
एकमात्र व्यक्ति तिमी नै थियौ,
मेरा बा!
सन्तानलाई सुख दिन्छु भनी
कहिले देश, कहिले विदेश
जुनसुकै दिशा धाउने तिमी—
आमालेजस्तो गर्भको भारी त बोकेनौ होला,
तर सन्तानको
खुसी किन्छु भनि
हजारौँ पटक लाखौ करोडौ पटक
ऋण र जिम्मेबारीको भारी
काँधमै बोक्ने शक्ति
तिमीमै थियो,
जति पीडालाई पनि संतानको
खुसीमा समर्पीत गर्न सक्ने
सक्ति कसरी आउथ्यो ?
शरीर थाक्थ्यो होला तर तिमी
कहिलै थाकेनौ , हरपल काधमा
जिम्मेवारीको भारी बोकी रहौ
तिम्रो ममता अपार छ
सदा सर्बदा
मेरा बा!
जमुना क्षेत्री
इटहरी




















