उखानै छ बोल्नेको पिठो बिक्छ, आजको युगको यथार्थ पनि यही नै हो कि चर्को बोलले पिठोे अझ त्यो पनि सडेको व्यापारमा अग्रणी भएको छ ।


 कुरो र कुलो जता लगाए पनि हुन्छ भने झै झुट खुल्न लाग्यो भने बिषयसंग असम्बन्धित कुनै कुरो उठाएर कुरो बटार्न पनि झुटका खेती गर्नेहरु दक्ष भै सकेका छन ।


  कुनै कुरालाई राम्रो वा नराम्रो भन्न त्यसको गुण दोष केलाउने हैन आफ्नाले जेलाई राम्रो भनेका छन त्यसलाई राम्रो र जेलाई नराम्रो भनेका छन त्यसलाई नराम्रो भन्नु पर्दछ भन्ने मानसिकतामा साधारण मात्र हैन समाजका अग्रणी भएका बुद्धिजीविहरु पनि छन ।


 कागले तिम्रो कान लग्यो भन्दा आफ्नो कान नछामी त्यो काल्पनिक कान खोस्न कागको पछाडी दगुर्नु आजको दिनहरुमा अग्रगमन, प्रगती भएको छ । कसैले कान त आफ्नै ठाउमा छ भनिदियो भने बरु त्यसलाई गाली गर्न रुचाईनु मुलुकको यो अधोगतिको कारक हो । यो प्रवृति केवल नेपालमा मात्र भएको भने हैन, छरछिमेकमा पनि यस्तै कुराहरु देख्न पाईन्छन ।


 मानव स्वभावले नै असन्तोषी प्राणी हो, यो उसको कमजोरी हैन खुवी नै हो । यो असन्तोष नभएको भए यत्रा आविष्कार हुने थिएनन् । कुनै बिन्दुमा अब प्राप्त हुने सबै पाईयो थप केही बाँकी छैन भन्ने लागेमा त्यस बिन्दु पछिको प्रगती नै रोकिने छ ।


 यदी घोडा गाडीमा नै सन्तोष गरेको भए सुपरसोनिक विमान आउने थिएन । टेलीग्राफ मै सन्तोष गरेको भए आज सेकेन्ड भर मै संसारका कुनै पनि कुनामा संवाद कायम गर्न सक्ने हुने नै थिएन ।


 त्यसैले यो असन्तोष राम्रो कुरा हो, तर यो असन्तोषको भावना भड्काएर आफ्ना विगतलाई अस्विकार गराउने अनि आफुले आज चाहेको कुरामात्र शाश्वत हो भन्ने छनक दिएर ठुलो हुन खोज्ने राजनीतिको चरित्रमा यदि समय मै बिराम लागेन भने मानव फेरी ढुँगे युग तिर फर्कन बेर लाग्ने छैन । 


 संयुक्त राज्य अमेरिका जो आज विश्वका प्राय सबै स्थानका बासिन्दाको निमित्त सपनाको प्रदेश बनेको छ, त्यो कोलम्वसको समयमा कस्तो थियो भन्ने कुरा आज कसैले सोच्दैन ।


 उन्नत सभ्यताको खानी भएको पुर्विय भुभागको प्रतिनिधि भारत आवतजावत गर्न निमित्त समुद्री मार्ग खोज्नेक्रममा कोलम्वस बाटो अलमलिएर अमेरिका पुगेको ईतिहास सर्व विदित नै छ । अमेरिका यो खोजबाट आफ्नो सभ्यता परिमार्जन गरेर वर्तमानमा विश्वको अग्रणी भूमिकामा पुग्यो भने भास्को डि गामाले भारतको बाटो खोजे पछि यस भुभागले आफ्नो नाम पनि गुमायो ।


 आज भारत भन्दा ईन्डियाको नामले विश्वमा चिनिन्छ । यहाको रितिथिती परंपरा जो केवल आजको भारतिय संघको मात्र नभएर यस उपमहाद्विपको नै थियो त्यसको नाम समेत बदलिएर हिन्दू हुन पुग्यो ।


 इतिहासमा कुनै समयमा चरम उत्कर्षमा पुगेका सभ्यताहरुमा रोमन सभ्यता त अव केवल इतिहासमा मात्र सिमित छ भने पुर्वीय सभ्यता पनि आफ्नो घिडघिडो गन्दैछ । शायद यो सभ्यताको चुली पछि आउने ठाडो ढलान हो ।


 भारतिय उपमहाद्विपमा मुगलहरुको आगमन पुर्वका सभ्यता तथा परंपराहरु यस भेकका सम्पति थिए । यस कुराको उदाहरणको निमित्त माहाभारत ग्रन्थमा अनेकौ दृष्टान्त छन ।


 छोरीको खुट्टा ढोग्ने र छोरीको साष्टंग डण्डवत लिने दुवै परंपरा यहाका साझा थिए ।


 अआफ्नो कुल परंपराको चलन मान्ने र अर्काको नमाने पनि त्यसलाई सम्मान गर्ने समाजमा वर्तमानमा यति साह्रो विचलन पैदा गराईएको छ कि एक आपस मै म तेरो हिस्सा हैन भन्ने कलह बढदो छ ।


 पुर्वीय सभ्यता नै बहु आयामिक र विविधताको संगम हो जुन वेला यो तथ्यलाई अस्विकार गरिन्छ त्यसै वेला पुर्वीय सभ्यता विनास तिर लम्कन्छ ।


 आजको झुटको खेती गर्नेहरु सबैले यही नै गर्दैछन । डमरु वजाएर त्रिशुल हातमा लिएर रमाउने, आफ्ना ग्रन्थमा किरातेश्वर भनेर भनिएकाको उपसना गर्नेहरुले किरातले हामी अलग हौ भन्ने वित्तिकै अलग मान्ने हो भने के तिनलाई किरातेश्वरको अर्चना गर्ने वैधानिकता छ ?


 विष्णुको नवौं अवतारको रुपमा बुद्धको पुजा गर्नेहरुले के बुद्धमार्गी हाम्रा हैनन् भन्न हुन्छ ? सोच्ने फुर्सद कसैलाई छैन ।


 आफ्नै अंग भएका यी सभ्यता तथा परंपराहरुलाई ओंकार परिवारका भनेर साथ लिने प्रयत्न हुनु ठिक जस्तो लाग्ला तर ठिक भने हैन । सबै हामी मध्य कै हौ भन्ने सत्य मनन गर्ने कहिले ?


 एकले अर्कालाई विखण्डनकारी देख्ने अनि धम्काउने कुराले अपनत्व हैन वैमनश्यता वढाउछ । पुर्वीय दर्शनले कसैको पनि उपासना स्थल देखेमा त्यसलाई नमन गर्न सिकाउछ ।


 बाटोमा शव यात्रा भेटदा पनि त्यसको सम्मानमा शिर निहुराउन भन्छ, त्यो शव जसको पनि होस त्यो गौण कुरा हो । महत्वको कुरा के हो भने एक मानवले देह त्यागेको छ केही मानवलाई दुख परेको छ त्यसैले आफुले सके जतिको सम्मान र श्रद्धान्जली व्यक्त गर्नु पर्दछ, यो नै सनातन सभ्यता हो । 


त्यसैले विगतको तितोलाई महत्व नदिई त्यसको मिठो केही छ भने त्यसलाई आत्मसात गरेर भविष्यको सुन्दर योजना गर्नु पर्ने हो । भएकोमा थपेर परिमार्जन गर्दै गएमा प्रगती हुन्छ, हमेशा नयाँ मात्र बनाउन खोज्ने हो भने बन्दै गरेको पनि भत्कने हुन्छ ।


 संयुक्त राज्य अमेरिकामा एक संविधानमा सत्ताइस संसोधन गरेर परिमार्जन भएको छ भने भेनेजुयलाले छब्बिसबटा संविधान नै बनाई सक्यो । नेपाल सातौमा छ । नयाँ संविधानले सबै रोग चटक्क पार्छ भन्ने झुटको खेतीमा फल लागेको छ । तर के यसले समस्या समाधान गर्‍यो ?


स्वयम्भुनाथ कार्की

विराटनगर १

रचना समय २०७४।८।६(पु७०।१२।२)