वर्षौँ भयो गतिहीन भएको 

जिउँदो लाससरि जीवन बाँचेको 

विस्मृतझैँ भयो त्यो कालो दिन अनि रातहरू

अब त सक्दिनँ सम्झन 

काया पल्टेझँै भयो जिन्दगीको ।


नक्कली हाँसोले पोतेर ओठहरू

आफ्नो भन्नेका उपेक्षा र तिरस्कार 

सहेर पल–प्रतिपल               

हतास र अभावमा बाँचे पनि               

दिँदै आएको छु जीवित हुनुको प्रमाण                     

चिरिएको मुटुलाई हरपल

आशाको त्यान्द्रोले सिलाएर । 


लडेको छु बारम्बार प्रदीप्त गोरेटोको खोजीमा 

प्रत्येक पटक साहस बटुल्दै उठेको छु

इतिहास रच्ने अभिलाषामा

बाकीँ अब के नै छ र ? 

दुःखको भाँडोमा जमेको आँसुको मसीले 

कहाँ सकिन्छ र कोर्न जीवनगाथाहरू

कहाँ दिन मिल्छ र भावीलाई बाँड्न

नियतिले दिएका दुःखका उपहारहरू ।


मेरो मातृभूमिको इतिहासलाई

पारेर मुटुभित्र पोको

अग्रगमनमा लम्केको छु

जतिपटक नियतिले पछारे पनि

जतिपटक शत्रुले लतारे पनि 

सदैव गतिमान बन्ने कोसिस गरेको छु 

थपेर तेल आशाको दियोमा 

धिपधिपाउन खोजेको बत्तीलाई 

मनभित्र शक्तिपुञ्जका रूपमा साँचेको छु ।


हर साल वसन्तमा 

सुकेका रूखका हाँगाबाट  

पुनः नयाँ पालुवा पलाएको देखेको छु

ढुङ्गाको कापबाट पनि

पिपल उम्रेको देखेको छु

यस पटकको यात्राको मधुमासमा

बुझेको छु— लड्नु, सुस्ताउनु, बिसाउनु

अन्त्य होइन जीवनको

यो हो— सरिताप्रवाह समान

बरु एक अल्पविराम हो पूर्णता प्राप्तिको । 


जब अस्ताएको घाम फेरि पूर्वमा झुल्कनेछ 

यो मोहको सँघार काटेर मैले 

हाँक्नुछ विमोहमुक्त रथ र 

निस्कनुपर्ने छ अविराम युद्धको यात्रामा ।


जमुना क्षेत्री

ईटहरी