सुनिरहेछु, 

एकतमासको चिच्याहट,

उच्चाटलाग्दो बरबराहट 

“खोई माफी मागेको? 

हेर हेर ! अझै अहङ्कारको घडा छैन फुटेको!”

 

मागुँला माफी केही थान उत्तर दिन्छौ भने, 

देओ उत्तर... 

यी कस्ता अपराध थिए-

यो देश लाई प्रेम गर्नु

यो देश सिमा जोगाउनु

यो देशको गौरव बढाउनु

बिकास र समृद्धिका सपना देख्नु

र ती सपनालाई साकार पार्दै जानु…


यिनै र यस्तै गौरवशाली कार्य गर्नु

भुल हो भने मलाई माफ गर, 

यो देश लुछ्नेको विरोध गर्दा

देशको निकास खोज्ने सन्धि गर्दा

खोसिएका जमिन दावी गर्दा

भ्रष्टाचारी,कामचोर र ठगहरूको सातो लिँदा

कोही रिसायो भनेर

तिनीहरूसँग मागुँ माफी? 


स्वाभिमानको पक्षमा सतिसालजस्तै उभिँनु

गलत हो भने माफ गर

हिंसाको राजनीति गर्नेहरू,

देश टुक्र्याउछु भन्नेहरू

सबैलाई मुलधारको राजनीतिमा मिसाउनु

गल्ती भए माफ गर, 

म भ्रष्टाचारविरुद्ध लडिरहेको एउटा योद्धालाई, 

जेनजीको नाममा युवाहरुलाई दिग्भ्रमित गरेर

मेरै घरमा आगो लगाउँदा

माफी माग्ने न्यायशास्त्र छ भने

मलाई माफ गर। 


देखेको छु मैले पनि, 

अहङ्कार गर्न हुन्न भन्दै

दम्भको घोढा चढेर

हिहिहिहि गर्दै खित्का छोड्नेहरू, 

सुनेको छु, 

गुटबन्दी गर्न हुँदैन भन्दै, 

गुटकै खेतीमा मलजल गर्नेहरू, 

भोगेकोछु, 

धोका दिन हुँदैन भन्दै, 

अंकमाल गरेर छुरी धस्नेहरू, 


त्यसैले

जिन्दगीका चर्खाहरूमा, 

हिसाबकिताब बुन्न मन छ, 

किनकि

उधारो कारोबार ठिक हुन्न, 

एक दिन चुक्ता गर्न पर्छ ।

मिना श्रेष्ठ 

इटहरी