सारीमा   सजिएर  काम  गरिँदा, पाखे  बुहारी  हुने

छोरीको  तन  अर्ध नग्न  रहँदा ,त्यो  सादगी देखिने

साथीका  सँग सभ्य  बात  गरिँदा,छाडा बुहारी हुने

छोरीको  तर  बास हुन्न घरमा ,त्यो  सभ्यता देखिने

.                             (१)

पत्नीदास  भनी  कहिन्छ  घरमा, पैसा बुहारी लिँदा

क्या खासा हुन जान्छ ज्वाइँ बबुरो,छोरी भँडारे हुँदा

पत्नीको  पिछ्लग्गु भन्छ दुनियाँ,साथै हिँडे काममा

छोरीनिम्ति भने  जुवाइँ गुनिलो, हाँस्दै  बसे साथमा

.                             (२)

पत्नी-दास  भनी  कहिन्छ  घरमा,कामै सघायो भने

क्या खासा हुन जान्छ ज्वाइँ बबुरो,भाँडा खकाल्यो भने

सोध्दा  प्रश्न  कुनै  असाध्य  रिसले, हेर्छन् बुहारीतिर

छुच्ची त्यो जति नै भए पनि अहो!, छोरी हुने सुन्दर

.                              (३)   

बोली  नम्र  भए नि  दुष्ट  मनकी, भन्छन्  बुहारीकन

चोथाले  जति  नै भए  पनि  यहाँ, छोरी  हुने सज्जन

आफ्नो  दु:ख  बिसाउँदा नकचरी,भन्छन् बुहारीकन

छोरीको  दुखमा  भने  विरहले ,तड्पिन्छ भन्छन् मन

.                              (४)

जस्तै काम गरुन् तथापि  जस यो, दिन्नन् बुहारीकन

छोरीनिम्ति भने  सदैव  दुख  भो, भन्छन्  घरैका  जन

गाह्रो  भो  अहिले  गएर  बस को? भन्ला बुहारीकन

छोरी  छिर्न  नपाउँदै सदनमा,पाक्छन्  मिठा भोजन

.                             (५)

यस्तै  वर्ग  विभेद  नित्य  चुलिँदा, बढ्दै  दुराचार छ

मान्छेमा  पनि  भेदभाव  गरिने, यो  धूर्त संस्कार छ

छोरी हुन् अहिले परन्तु पछि ता,बन्छिन् बुहारी भनी 

छाडौँ  राख्न  कुभावना सकलमा,बन्ने छ सञ्जीवनी

.                             (६)

विदुर अधिकारी

भरतपुर महानगरपालिका-१९

रामपुर,चितवन