रमणीय शरदलाई
आफ्नो गर्भमा लुकाएर
चाडपर्वका उत्सवहरू
वसन्तलाई जिम्मा लगाएर
प्रकृति जन्माउँछ
हेमन्त
हतारमा छ कुहिरो
लुकामारी खेल्न
व्यस्त छ हिउँ
हिमालका चुचुरा सजाउन
बाटोभरि लमतन्न सुतेका
हिउँका थुप्राहरूले
अवरुद्ध पार्छन् गन्तव्य
रोगविरुद्ध हिम्मत बटुल्न
सजग पार्दै मान्छेलाई
प्रत्येक घरको
सँघारमा उभिन्छ
हेमन्त
थन्किएका ऊन
र कपासहरू
फुरुङ्ग हुन्छन्
बाहिरिँदा
न्यानो हुन्छ
कठ्याङ्ग्रिएको शरीर
आनन्द हुन्छ मन
कपास ओडेर
भुँइ कपाससँग
खेल्न पाउँदा
सुखानुभूति मात्र होइन
दुःख पनि दिन्छ हेमन्त
ठुस्स परेर
महिनौँ धुम्मिएर
बसिदिन्छ तराईतिर
छेकिदिन्छ घामको प्रकाश
खसालिदिन्छ शरीरमा
बरफका डल्लाहरू
लिन्छ कैयौँ बुढाबुढी
र अशक्तको ज्यान
कतै पारिलो घाम बोलाएर
कतै कुहिरोको मुस्लो फ्याकेर
हर्ष र विस्मतको दोसाँधमा
आफ्नो दिनचर्या
काटिरहन्छ हेमन्त !
जमुना पौड्याल
विराटनगर




















