मरेको लासले पनि
आफ्नो पार्थिव शरिरलाई यतै धेरै माया गर्दो रहेछ
त्यति नै मैले तिमीलाई माया गरेको छु
भौडी खनेर माटोले पुर्नेहरुले पनि
अन्तिममा एक मुठी माटो नै दिएर फर्कदा रहेछन्
त्यसरी नै तिमीले
ढुङ्गाको मनलाई बिछ्याएर
ढाकेर माटोको हृदयले
पुरेकी छौ मलाई छातीको एक कुनामा
रात निदाएपछि घामले पनि
कोर्दो रहेछ जून लजाएका तस्वीरहरु
त्यसरी नै मैले
मेरा मथिङ्गलका मसीहरु भेला गरेर
च्यातेर केही थान आँखाका अदृष्य पानाहरु
सयौ पटक कोरेको छु
तिम्रा शरिरका नाङ्गा चित्रहरु
उछृङ्खल अङ्गको अनुहार देख्न नसक्ने आँखाले पनि
रोक्न नसक्दो रहेछ छिलिएका ओठको उन्मादहरु
त्यसरी नै
तिम्रो नाङ्गो धर्ती माथि घोप्टिदै गरेको आकाश देखेर
यस्तो मुस्कुराउछेउ तिमी
जुन समयमा
तिम्रो श्वासनलीमा सुर्कने लगाएर
आत्महत्या गरेर मरेको मान्छे पनि जुरुक्क उठ्नेछ ।
अध्यारा पर्दाहरु खुलेपछि बिहानी किरणले पनि
बारम्बार सम्भोग गर्दा रहेछन् पहाडहरुलाई पनि
र पग्लिदा रहेछन् पहाडका कोखबाट सेता हिउँहरु
त्यसरी नै मैले
जगाएर तिम्रा जीवनका जवानीहरु
तिमीलाई थाहै नदिई
कयौ पटक सम्भोग गरेको छु तिमी संग
नियम रोक्न नमिल्ने भएपछि प्रकृतिले पनि
पतन गराईदिदो रहेछ रगतलाई रजस्वला बनाएर
त्यसरी नै तिमीले
रोपेर साहदत सपनाको सम्बन्ध
बारम्बार गर्भपतन गरिदिएकिछौ
मेरा मानसिक भ्रमका भ्रुणहरुलाई
प्रिय ,
बनाईदिनु मेरो पनि प्रेमको समवेदना पत्र
फोटो टाँसेर हृदयको फ्रेम भित्र लेखिदिनु
मन्दिर नभेटे कसम त चिहानमा पनि खान सकिन्छ
मरेको मान्छेको तस्वीर पनि प्रेममा परेपछि मुस्कुराउछ ।
प्रजल पुकार




















