निरासा नबन्दा दिलासा हमेसा 

लगाए पखेटा उठाए तमासा 

भयो खाग जम्मै उड्यो राप बन्दै

 टिपेका मदारी रमे खाग गन्दै ।१


कुनै चाख लाग्दो  नयाँदृष्टि शून्य 

उदाए अनौठा मदारी जघन्य 

उचाल्दै अबोला अनाडी र स्वार्थी 

समस्या भजाई उजाडेर धर्ती ।२


बने भ्रष्टताको निखार्ने तुवाँलो

अकर्मी नसाको लुकाएर जालो  

उनैको छ आफ्नै इरादा अँध्यारो 

 कता पार्न सक्थे अरूमा उज्यालो ।३


 मिले छाल मार्ने छ ढोँगी समाज 

सुधार्नै कसैको ध्यान छैन आज 

बिब्लेँटो दिशाको डुङ्गामा  बहेर 

सब्लेँटो उतार्ने कुराको छ भेल ।४


न सुध्रे सबैको  बिब्लेँटो दिमाग

कता सुद्द हुन्थ्यो अविद्या समाज 

सुधार्ने मदारी कुराका  भकारी 

झुटा बात हाक्दै उफार्छन् सवारी ।५


उहीँ चेतनामा रुझेमा समाज  

 कुनै देवताले  उतार्दैन ताज 

सबैले सबेरै चुरो खोज्दा मात्र

सबै साम्य बन्छ हराएर जात्रा ।६

मणि दाहाल 

विराटनगर