यो शहरमा शब्दहरू बोल्दैनन्,

तर हरेक भित्तामा कविता बोल्छन शब्दको विम्ब बोकेर

अनि शब्दहरु चम्किन्छन।

बत्तीको उज्यालोले होइन, कविहरुको 

रौनकले।

सपना र कल्पनाले यो शहर चम्किएको छ।

यहाँ हावामा रूपकहरू तैरिरहेका छन्,

र बर्षातसँगै छन्दहरू भित्रिरहेछन।

रातभर कविहरू निदाउँदैनन्,

उनीहरू त ताराहरू गन्दै कविता लेख्छन।

कसैको मनको पीडालाई कविता मार्फत ब्यक्त 

गर्छन।

कसैको हाँसो भित्र लुकेका शब्दहरूलाई 

कविताकै भावमा  गुनगुनाउछन ।

यहाँ आँसुले पनि आफ्नै भाखामा गित रच्छ।

र हरेक मौनतामा पनि अर्थ फुल्छ।

यो शहरमा किताबका पाना होइन,

मानिसका मुटुहरू खुल्छन्।

हर एउटै गल्लीमा एउटा कथा लुकेको हुन्छ,

र प्रत्येक कदममा कविता बस्छ।

यो कविहरुको शहर,हो

जहाँ प्रेम, पीडा र सपनाले सडक बनाएका छन्—

यहाँ कुनै मानिस हराउँदैन,

हराउछ त केवल कविताको भ्रामकता।


यो शहर कविहरुको शहर हो,

यहाँ शब्दहरू हिँड्छन् गल्ली गल्ली,

र भावनाहरू झर्छन निरन्तर

वर्षाको बूँदझैँ ,

यहाँ प्रत्येक सडकको कुनामा

कविता बस्छ निद्रामा,

र जाग्दा बिहानको घामसँगै

गीतको लयमा मुस्काउॅंछ।

यहाँ मान्छेहरू बोल्दैनन् —

केवल बोल्छ कविता!

र आँखा झिम्क्याउँछन् रूपकमा।

एक हाँसो मिश्रित ध्वनिमा।


हरेक शब्दभाव 

उपमा बन्छ, अनि बन्छ कविता नै प्रतीकको छायाँ।

यहॅंा कसैको प्रेम टाँसिएको छ पर्खालमा,

कसैको पीडा हराएको छ धुवाँमा,

तर यहॅंा सबै शब्दहरू भेटिन्छन् —

यो शहरमा, कविहरुको शहरमा।

जहाँ मौनता पनि संगीत हो,

आँसु पनि अक्षर हो,

र मनको चोट — कविता!


यहाँका प्रत्यक मानिसहरूका शब्दहरूमा ,

कसैको आँखामा “प्रेम” लेखिएको छ,

कसैको ओठमा “वियोग” झुण्डिएको छ,

कसैको हृदयमा “आशा” संचित छ।

यो शहरमा रात ढल्दा पनि निद्राउँदैन कविता,

दियोको उज्यालोमा लेखिन्छ पीडा,

र बिहानको किरणसँगै जन्मिन्छ नयाँ रूप –

सपना, संघर्ष र सृष्टिको गन्ध लिएर।

कविहरुको यो शहरमा

आकाश पनि खुल्ला कागज हो।

अनि 

बादलहरू कलम बनेर घुम्छन्,

र वर्षादहरु – आँसुका कविता बन्छन

यदि कहिल्यै तिमी थाक्यौ भने,

यो शहर आउनु,


जहॅंा प्रत्येक हृदयमा एउटा कविता बस्छ,

र प्रत्येक आँशुमा – एउटा कथा बोल्छ।


जमुना क्षेत्री 

इटहरी