सखुवाको छायाँमुनि म शान्त भएर बस्छु,

जहाँ हावाले पनि बोल्न हिचकिचाउँछ।

पातहरू फुसफुसाउँछन्,

मूलले उत्तर दिन्छ चुपचाप।

त्यो निस्तब्धता, जसमा समय पनि श्वास रोकेर सुन्छ।


अग्लो पाखामा वनमाराहरू उम्रिएका छन्,

हावासँग डुल्दै आफूलाई सखुवा ठानिरहेका छन्।

घामले छोएर चम्किँदा

उनीहरूलाई लाग्छ

“हामी पनि त उभिएका छौं अग्लै ठाउँमा।”


म मुस्कुराउँछु

“अग्लो ठाउँमा उम्रिनु र अग्लो हुनु एउटै कुरा होइन,

उचाइ मापनले होइन, जरा गाड्न सक्ने साहसले स्थायित्व मिल्छ।”


सखुवाको हरियाली घामसँग लडेर बाँचेको हो,

वनमाराहरूको हरियाली ऋतुको दान हो।

दुवैबीचको यही दूरी

सत्य र भ्रमबीचको दर्शन हो।


जीवन पनि यस्तै छ

कसैले ठूलो रुखको छेउमा उभिएर

आफूलाई अग्लो ठान्छन्,चेतना जस्ताको त्यस्तै 

कसैले सखुवाजस्तै मौन भएर

जरा गाड्छन् भूमिको गहिराइमा।

अन्ततः

छाया मेटिन्छ,

तर जरा बाँच्छ।


सखुवाको बोक्रामा समयको लेख टाँसिएको छ

हरेक चिरा एउटा कथा,

हरेक रेखा एउटा तपस्या।

कठोर देखिए पनि

त्यसको निष्ठामा करुणा बग्छ,

त्यसको मौनमा जीवन बोल्छ।


वनमाराहरू हावासँग नाच्छन्,

तर उनीहरूलाई थाहा छैन

जरा नभएका बिरुवाले

सपना उचाइमा देखे पनि

पहिलो आँधीमै ढल्नुपर्छ।


सखुवा केही बोल्दैन।

त्यो नबोल्नु नै वाणी हो,

चुपचाप नै ग्रन्थ हो,

जहाँ शब्द मर्छ र अर्थ जन्मिन्छ।

त्यो सूक्ष्म शान्ति भन्छ

“जीवन बुझ्न हो भने स्थिर बन्न सिक,

किनकि शब्द सीमित छन्,

चुपचाप अनन्त।”


त्यो क्षणमा म सखुवासँग एकाकार हुन्छु

ममा समयको भार, चुपचापको सुवास,

र स्थायित्वको गहिरो स्पन्दन मिसिन्छ।

त्यो बोधको क्षणमा म म रहँदिनँ

एक बिम्ब बन्छु,

जहाँ सखुवा आत्मा हो,

र म उसको ध्यान।


वनमाराहरू फेरि सोध्छन्

“हामी पनि अग्ला हौं, हामी पनि हरिया हौं,

हामी सखुवा किन हुदैनौं?”

म हाँस्दै उत्तर दिन्छु

“छेउमा उभिँदैमा सखुवा बन्न सकिँदैन,

अग्लो ठाउँमा उम्रिँदैमा सोच उचाइँमा पुग्दैन।

स्थायित्व जरा गाड्ने बानी हो,

बाँकी सबै हावाको हर्ष।”


विनोद विवश

इटहरी