यो मेरो आत्मानुभुती हो ।आनन्दयोगी मलाई कसैले गुथाइदिएको पगरी होइन यो नितान्त म भित्र बाट आएको आत्माजागृती हो मैले किन आनन्दयोगी ले परिचित हुन चाहेँ भन्ने कुरा को सबैलाई बोध होस, गलत अर्थ र प्रसङ्ग बाट बहकिन नपरोस भनेर यहाँ हरुबिच यो लेख प्रस्तुत गरेको छु।


जीवनमा वास्तविक  आनन्द को खोजीमा निरन्तर लागेको एउटा  आध्यात्मिक यात्री हुँ।म भन्छुसुख र दुःख अस्थायी हुन्

मानिसमा तीन प्रकारको अनुभूति हुन्छ । एक अनुभूति दुःखको हो, एक अनुभूती सुखको हो र एक अनुभूति आनन्दको हो ।

सुखको अनुभूति र दुःखको अनुभूति बाहिरबाट हुन्छ । जब बाहिर हामीले केही चाहन्छौं, प्राप्त गर्छौं तब सुख अनुभूत हुन्छ । हामीले जे चाहेका थियौं, त्यो पुरा भएन भने हामी दुःखी हुन्छौं । सुखी हुनु वा दुःखी हुन दुवै बाहिरी कुरामा निर्भर छ । बाहिरी जुन जगत छ त्यसको सम्बन्धमा हामीसँग दुई किसिमको अनुभूति हुन्छ, दुःखको वा सुखको ।आनन्दको अनुभूति भने बाहिरबाट प्राप्त हुँदैन । भुलेर पनि आनन्दलाई सुख नसम्झनुहोस् । आनन्द र सुखमा फरक छ । सुख भनेको दुःखको अभाव हो । जहाँ दुःख छैन, त्यहाँ सुख छ । दुःख सुखको अभाव हो । जहाँ सुख छैन, त्यहाँ दुःख छ । आनन्द भनेको दुःख र सुख दुवैको अभाव हो, जहाँ दुःख र सुख दुवै हुँदैन । खासगरी चित्तको परिपूर्ण शान्त स्थिति नै आनन्दको स्थिति हो । आनन्दको अर्थ हो, जहाँ बाहिरी दुनियाँ ले  कुनै पनि प्रकारको    प्रभावित नपारेकोहोस , न दुःखको, न सुखको ।


सुख पनि एक संवेदना हो, दुःख पनि एक संवेदना हो । सुख पनि एक पीडा हो, दुःख पनि एक पीडा हो । सुखले हामीलाई वेचैन गराउँछ, दुःखले पनि । दुवै अशान्ति हो । यसलाई थोरै अनुभव गरौ त, सुख पनि अशान्ति, दुःख पनि अशान्ति । दुःखको अशान्ति अप्रीतिकर हुन्छ, सुखको अशान्ति प्रीतिकर हुन्छ । यद्यपि दुवै उद्विग्नता हो । दुवै चित्तको उद्विग्न, उत्तेजित अवस्था । सुखमा पनि तपाईं उत्तेजित हुनुहुन्छ । यदि कोहि अत्यन्तै सुखी भयो भने मृत्युसम्म हुनसक्छ । जस्तो आकस्मिक सुखमा मान्छेको मृत्युसम्म हुने गर्छ । यत्तिको उत्तेजना दिन्छ सुखले ।

दुःख पनि उत्तेजना हो, सुख पनि उत्तेजना हो । अनुत्तेजना आनन्द हो । जहाँ कुनै उत्तेजना छैन, जहाँ चेतनामा बाहिरको कुनै कम्पन, प्रभाव छैन, जहाँ चेतन बाहिरबाट एकदमै पृथक र आफैमा विराजमान छन् । उत्तेजनाको अर्थ हो, स्वयंमा बाहिरसँग सम्बन्धित हुनु । उत्तेजनाको अर्थ हो, स्वयंभन्दा बाहिर विराजमान हुनु ।यहि बिन्दु मा पुग्न सफल भएकोले मैले आफुलाई आनन्दयोगी स्वघोषित गरेको हुँ।

जस्तो कि तालमा लहर उठ्छ, लहर तालमा उठ्दैन । लहर हावामा उठ्छ र तालमा कम्पित हुन्छ । हावाको प्रभावमा, हावाअनुसार तालमा लहर उठ्छ । लहर उठ्नुको अर्थ हो ताल स्वयंमा बाहिर कुनै चिजबाट प्रभावित छ ।

जस्को चित्त बाहिरबाट प्रभावित छ । लहर उठ्छ सुखको, दुःखको । चित्त बाहिरबाट प्रभावित नहुने अवस्था हो, आनन्दयोग । सुख र दुःख भन्ने अनुभूति बाहिरबाट आएको हो । आनन्दयोग त्यो अनुभूति हो, जो बाहिरबाट केही पनि आउँदैन । आनन्दयोग बाहिरको अनुभव नभएर स्वयंको अनुभव हो ।

 सुख र दुःख हराउन सक्छ । किनभने यी बाहिरी कुरा हुन् । बाहिरबाट आउने कुरा हुन् । कुनै व्यक्ति सुखी थियो, कुनै कारणले थियो । उक्त कारण हटाइदिएपछि उ दुःखी हुनेछ । आनन्द निःकारण छ । यसैले बाहिरी कुराले आनन्दलाई नष्ट गर्न सक्दैन । हटाउन वा हराउन सक्दैन । अर्थात् सुख अस्थायी हो, दुःख अस्थायी हो । आनन्द भने स्थायी हो ।यसैको पर्यायवाची शब्द "आनन्दयोग" जुन मेरो दर्शन हो यो आनन्दयोग दर्शन लाई जनमानस मा ल्याउने प्रयास गर्ने चेष्टा गर्ने म "आनन्दयोगी" हुँ। 

आनन्द नित्य हो । सुख पनि परतन्त्र हो, दुःख पनि परतन्त्र हो । किनभने यसमा अर्काको हात हुन्छ । आनन्द स्वतन्त्र हो । दुःख बन्धन हो, सुख पनि बन्धन हो । आनन्द मुक्ती हो ।

तब आनन्द मनुष्यको आफ्नो चैतन्यको स्थिति हुनेको नाम हो । सुख मिल्छ, दुःख मिल्छ । आनन्द मिल्दैन । आनन्द उपस्थित छ, केवल बुझ्नुपर्छ । सुख पाउने हो, दुःख पनि पाउने हो । तर, आनन्द पाउने होइन । केवल आविष्कार गर्नुपर्छ, केवल अन्वेषण गर्नुपर्छ । त्यो उपस्थित छ । बुझ्नुहोस् कि जुन चिज पाइन्छ, त्यो हराउँछ पनि । आनन्द हराउँदैन । किनभने यो पाइने कुरा होइन । आफैंभित्र रहेको कुरा हो ।आनन्दको सम्बन्धमा दुई स्थिति छ, एक आनन्दप्रति ज्ञान र आनन्दप्रति अज्ञान ।महावीरलाई, बुद्धलाई, क्राइस्टलाई जुन आनन्द मिल्यो त्यो आफैंभित्र उपस्थित थियो । म भित्र र उनीहरुभित्र बीचको आनन्द दृष्टिले भेद छैन । भेद ज्ञानको दृष्टिले हो । महावीरलाई जुन आनन्द मिल्यो, त्यो हामी सबै भित्र  छ तर त्यसलाई उजागर गर्न र नसक्नु आ-आफ्नो ब्यक्तिगत क्षमता  र इच्छाशक्ति मा निर्भर रहन्छ ।, यो कुरा म मा  बोध भयो जस्ले "आनन्दयोग" को ज्ञान प्राप्त भयो।यसैले म "आनन्दयोगी"कतिलाइ यो भ्रम पनि हुनसक्छ कि योगी भेष गेरु बस्त्र,दारी कपाल पालेको आश्रम मा कुटी बनाएर बस्ने जोगि पो हो कि तर यो भ्रम कसैलाइ नपरोस त्यो हुदैहोइन।

मान्छेले सुख र दुःखको बोध गर्छ, तर किन आनन्दको बोध गर्न सक्दैन ? किनभने सुख र दुःख बाहिरी हो । मान्छे बाहिरी कुरामा अल्झिएको छ । भित्र प्रवेश गर्ने फुर्सद नै छैन ।जब सुखबाट हट्नुहुन्छ आनन्दमा प्रवेश गर्नुहुन्छ । त्यो साधना होइन, सामान्य चित्तको भाव हो । दुःखबाट हट्न चाहनु भनेको उस्को आकंक्षा सुख हो । जो सुखबाट हट्न चाहन्छ उसले भने आनन्दमा प्रवेश गर्न सक्छ ।


– लक्ष्मण घिमिरे "आनन्दयोगी"