उहिले

हामी सानो छउन्जेल 

जवान होउन्जेल 

भिरालो खर्‍यानमा

खर - बाबियो काटिन्थ्यो

लामो तोरन बाटिन्थ्यो

 लिपपोत गरेको 

चोख्याएको घरमा 

लम्बेतान तोरन झुन्डाएर 

फूल र पात टाँसिन्थ्यो 

 एक आपसमा 

खुसी  साटिन्थ्यो

गाउँका 

घरघरमा पाकेका 

सेलरोटी सँगसँगै 

घरमै बनेका 

अर्गानिक थरीथरीका 

मिठाई खाइन्थ्यो

औंला खिइनेगरी

हात चाटिन्थ्यो ।


जहींतहीं

गाउँबस्तीका 

घरघरमा 

तोरनमा फूलपाती 

सेलरोटी  टाँसेर 

वारपार 

झुन्डाउँदाको मजा

ख्याल रमाइलो 

थिइएन गाँठे


राती 

खानपिनपछि 

आमा 

हजुरामा

दिदीबहिनीले 

घरको सरसफाइ 

बर्तनचौका सिध्याएर 

रोटी पकाउँथे

हामी सेल खानलाई 

मुखमा पानी चुहाउँदै 

उङ्दै  ब्युँझदै 

सेलरोटीको 

आसमा बसेका हुन्थियौं

आमा दिदीबहिनीले 

पख ! पख!!

देउतालाई चढाएर खाउला

 भन्दै फकाउनु हुन्थ्यो ।

हामी मुखबाट र्‍याल चुहाउँदै 

सेलरोटी 

फिनी

अनारस 

ठेकुवा

कांक्राको अचारले भरिएका 

सुपा डाला नाङ्लातिर हेर्दै  

उज्यालो होउन्जेलसम्म

नसुती पर्खेर 

बसेका हुन्थ्यौँ।


मैरोमा गाइको 

गोबरले लिपेर

झिलीमिली

चौतर्फी घिउको 

दीपक बालिन्थ्यो 

अम्बक,केरा,सुन्तला 

नोट सिक्का

फूल र 

सेलरोटी 

चढाइन्थ्यो ।


हरियो गोबरले लिपेको, 

लक्ष्मी पूजा गरेको हे!

औंसीको बारो, 

गाई तिहारो भैलो

 हामी त्यसै आएनौँ, 

बलि राजाले पठा'को हे! 

औंसीको बारो, 

गाई तिहारो भैलो "

 मादलसँगै

यस्ता आवाज

गाउँभरि

घरघरमा 

गुन्जिन्थे ।

...

आज हेर्दाहेर्दै 

परिस्थिति 

फरक छ

राजनीतिले

हामीलाई 

बम र पटकाजस्तै

फुटाएको छ

तर्साएको छ

झस्काएको छ

त्यसैले तिहार

तिहारजस्तो छैन।

...........

 •देवी पन्थी

मु: तिलौराकोट, कपिलवस्तु