निभ्यो एउटा आशाको दियो
कतै दुर गएर
अब कहिलै नबल्ने गरि।
जीवनका सलेँदाहरु
सङ्घर्षका पसिनामा मोलेर
बाल्ने अठोट बोकेर
मातृभूमि छोडेर उडेको त्यो शरिर
अहिले मुडो बनेर फेर्केकोछ
निष्प्राण अनि
अचल भएर।
शिर भरि बाबा र आमाको आशिर्वाद
आँखा भरि हजारौ सपना बोकेर
गएको उ
कफिन भित्र सेतो कपडामा बेरिएर फर्केको छ -
झर्झराउदो छ अनुहार
अहिलै बोल्ला जस्तो
केहि भन्ला जस्तो
आततायी बेदना पोख्ला जस्तो -
आमा हेरिरहन्छिन त्यो शरिर
र भक्कानिन्छिन बारम्बार
बाबा सुँक्क सुँक्क आँसु झारेर
बर्बाराईरहन्छन छाती पिट्दै
हिजो मन भरि रहर बोकेर
खुसी ल्याउन गएको छोरो
आज काठको बाकस भित्र
चुपचाप आएको छ
अचल भएर -
के लाग्छ तपाईलाइ?
याद गर्नुस
तपाईहरुको झण्डा प्रति बिश्वास नलागेर
तपाईहरुको हुक्के हनुमान बन्न मन नमानेर
तपाईहरुको यो घृणित राजनिति मन नपरेर
तपाईहरु प्रति भर र भरोषा नदेखेर
तपाईहरुका फोस्रा आश्वासनबाट थकित भएर
उ बिदेशिएको थियो -
आउनुस, आउनुस...
अब यो लास माथी तपाई अविर जात्रा गर्नुस
ओढाउनुस पार्टीको झण्डा र दिनुस समवेदना
अनि सुरु गर्नुस
लासमा राजनिति
हामीलाई थाहा छ तपाईहरुले गर्ने भनेकै यत्ती हो।
तपाईहरु त
जातमा राजनिति गर्नुहुन्छ
धर्ममा राजनिति गर्नुहुन्छ
औषधी मा राजनिति गर्नुहुन्छ
मान्छेको प्राणमा राजनिति गर्नुहुन्छ
र बटुल्नुहुन्छ कसिशन
कात्रोको पनि -
दिनहुँ हजारौ युवालाई खादा लगाएर
परदेश पठाउने तपाईहरु,
दिनहुँ कफिनमा फर्कने युवालाई माला लगाउन
पर्खिरहनु हुन्छ -
यहि हो तपाइहरुले ल्याएको ब्यवस्था?
यता युवालाई आत्मानिर्भर बनाउने भन्दै
भाषण ठोकेर
गर्नुहुन्छ राजनितिको खेति
र रोप्नु हुन्छ दलाल भ्रष्टाचार र अपराधको बिउ
अनि फलाउनु हुन्छ हत्या हिंसा आतंक र अराजकता।
हेर्नुस नियालेर हेर्नुस
उसका ति सलसलाउदा औलाहरु
उसका ति धर्ती थेग्ने हत्केलाहरु
ब्रमाण्ड शयर गर्ने पैतालाहरु
उ जादैछ फैलाएर हातहरु
अस्ताएर कहिलै नउदाउने गरि।
के भन्नुहुन्छ अब ति बुढा बा आमालाई
कसरी सान्त्वता दिनुहुन्छ उनिहरुलाइ
आँखा अगाडी साहारा ढलेको छ,
कुल सकिएको छ,
सपना उडेको छ,
तपाईहरुको कु राजनितिले आज सयौ युवा
यसरी फर्कनु परेको छ
सयौको सिउँदो पुछिएको छ,
हजारौको लौरो भाँचिएको छ,
हजारौ को घरबार सकिएको छ,
कति दिन सम्म युवाको परिश्रम पसिना अनि
रगत मा लुट्पुटाउदै
काट्टो खाएर आफ्नो स्वार्थको रोटी सेक्नु हुन्छ?
अति भो , पुग्यो....
अहिलै चाहिएको छ जवाफ
कहिले सम्म यसरी मर्नु पर्छ युवाले?
कहिले सम्म आईरहन्छन बिमानस्थलमा कफिनहरु?
कहिले सम्म ??
¤¤¤
नवशिला ।
बेलबारी -२, नवदेव मार्ग, लालभित्ती, मोरङ।




















