मैले आफैसँग

एउटा दुर्लभ युद्ध लडेँ । 

र, त्यही युद्धका चोटहरुले

गहिरो घाउ बनाएको छ

आफ्नै छातीमा ।


मेरो आवेगको ज्वालामा

धरोहरहरु ह्वारह्वार्ती बल्दा

मलाई हीनताबोध हैन ,

गर्व लागेको थियो ।

मेरो विवेकहीन बौद्धिकताले

मेरो हात समाएन ।

मेरा अराजक पाइलाहरुलाई

पछाडि फर्काएन ।

ती चिच्याहट

रोदनहरु

र, त्यो सर्वनास

अहिले खरानी भएर

मलाइ नै तर्साइरहेको छ ,

भयभीत मानसिकताको सन्त्रासले

मलाई आफै जलाइरहेको  छ ।


मैले अन्यायको विरुद्ध ।

अत्याचार 

र, कुशासनका विरुद्ध  ।

अनैतिकता

र, दम्भका विरुद्ध ।

पथभ्रष्ट

र, भ्रष्टाचारका विरुद्ध 

उत्कृष्ट संस्कार

र , संस्कृतिका लागि आवाज उठाएको थिए 

कसरी सल्कन पुग्यो मेरो आवाजमा आगो ?

र, डढ्यो इतिहासको सगरमाथा

मेरो आफ्नै स्वाभिमानको धरोहर 

र, निर्दोष मान्छेका सपनाहरु ।

एउटा कठोर प्रश्नले आफैलाई निरुत्तर बनाएको छ ।


एउटा अप्रत्याशित युद्ध !

नेपालकै छातिमा कुल्चिएर

नेपालीकै समृद्धि सल्काएर

म आफ्नो नागरिकतामाथी कसरी गर्व गरौं ?

घाइते मानसिकतामा उभिएर

अहिले त्यो कुरुप यथार्थता नियाल्दैछु

मैले ठिक गरेँ  कि !

बेठिक ?

मैले राम्रो गरेँ कि !

गलत ?


शायद , यो कठोर प्रश्नले

मलाई जीवनभर घाइते बनाएर राख्नेछ ।।

सागर तिमल्सिना