प्रभातले 

सप्को खोल्न नभ्याउँदै

दुइचार धर्का मिरमिरे

गर्भिणी क्षितिजहरु

चिसो घाम कोरल्छन् ।


लखेटिएर 

पल्लो भू – खण्ड पुग्छन्

अपाङ्ग शरणर्थी सपनाहरु।


घामसंगै ओहोर दोहोर गर्ने दिनहरु

त्यो जुनको बलेसी

झ्यालढोका छलेर चिहाउने हावाका झोकाहरु

मौसमका बहार

पिठ्युभरि थकाइ थाप्ने चौतारी

फुर्सदका कल्पना

फूलको महक

खर्कको सेलो, पालममा तमुल स्वर

वेठिको सुरम्य

उत्ताउला रत्तेउलीहरु

मारुती, हाक्पारे

दशैको मालसिरी

तिहारको सयपत्री, मखमली भेला

देउसी र भैली 

चासोक र तुङ्माको नुतनता

बक्रितको अङ्गालो

सबै सबै पाको पारि उतै लगेछौ

फगत छाडेछौ

झझल्को अल्झाइ राखेर

यो भुगोलभरि

कतिन्जेल झुक्काउनु

निर्मल आँखाहरुलाई

उ त्यो मूलबाटोको हरीयो मन देखाउँदै

प्रतिक्षालयमा कुराएर


फेरि यो निष्ठुर कालचक्रले

भेटाउँछ भेटाउदैन

मैले मेरो देश हँुदै

सगरमाथाको अहलि निस्केर

यो सन्देश पठाएको छु

भोलि हेर्ने ऐनाहरु नहटाउनु भनेर

कसैगरी सुनाइदिनू

एउटा परदेशीलाई सम्झेर ।

                         तारा पराजुली 

                    बेलबारी मोरङ