काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रूपन्देही जिल्ला अदालतको आदेशलाई उच्च अदालतमा चुनौती दिएका छन् ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेले बिगो बुझाएर रिहा गर्न माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए । तर, न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त निवेदन अस्वीकृत गर्दै उनलाई थुनामै पठाउने आदेश दिएको थियो ।
जिल्ला अदालतको उक्त आदेशविरुद्ध लामिछानेले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा रिट दर्ता गरेका छन् । उनी गत चैत २५ देखि कारागारमा रहेका छन् । रूपन्देही कारागारमा थुनामा रहेका उनलाई केही दिनअघि काठमाडौंको नख्खु कारागारमा सारिएको हो ।
सहकारी ठगी मुद्दामा मुछिएका लामिछानेको कानुनी लडाइँ उच्च अदालतमा पुगेसँगै यसलाई रास्वपाको राजनीतिक भविष्यसँग जोडिएको छ ।




















