विराटनगर । नेपाल निजामती कर्मचारी संगठन मोरङ र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटनगरद्वारा आयोजित हरितालिका तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन कोशी प्रदेशकी राज्यमन्त्री सृजना राईले पानसमा बत्ती बालेर उद्घाटन गरेकी थिइन्। कार्यक्रममा कर्मचारी महिला साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

संगिनी प्रस्तुतिमा सीता लामिछाने, मनमाया रिजाल, कविता केशरी, रिता पाठक, निरा धिताल र शारदा कार्कीले सांगीतिक तथा साहित्यिक प्रस्तुति दिनुभयो भने कलाकार रिता पाठकको टोलीले नाटक प्रस्तुत गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्रीले तीज पर्वले समाजमा आपसी सद्भाव, भाईचारा र सांस्कृतिक एकतालाई बलियो बनाउने उल्लेख गरेकि थिइन् । निजामती कर्मचारी संगठनले आयोजना गर्ने यस्ता सांस्कृतिक कार्यक्रमले कर्मचारीबीच मात्र नभई स्थानीय समुदायमा पनि सकारात्मक प्रभाव पार्ने बताइन । साथै, महिला मात्र नभएर पुरुषहरुको पनि सहभागितासहितको यस्ता कार्यक्रमले लैङ्गिक समानता र सामाजिक सशक्तीकरणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

आयोजकले तीज पर्वको सांस्कृतिक महत्त्वलाई उजागर गर्नुका साथै कर्मचारी तथा समुदायबीच आपसी सद्भाव र एकता सुदृढ गर्ने सन्देश प्रवाह भएको जनाएका छन् ।