विराटनगर । अहिलेको सत्ता समीकरण नै परिवर्तन गर्ने कसरत गरिरहेको आरोप खेपेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदीय दलको नेता परिवर्तन गर्न सक्ने अवस्थामा आफू नरहेको अभिव्यक्ति दिएका छन् ।

बुधबार गृहनगर विराटनगर आइपुगेका नेता कोइरालाले दलको नेता फेर्न अहिले संख्या पुग्ने स्थिति नरहेको स्वीकारेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति असन्तुष्ट उनले विपक्षी नेताहरूदेखि एमालेभित्रैका ओलीविरोधी नेताहरूसँग बाक्लो भेटघाट गरिरहेका छन् ।

पूर्वपदाधिकारीहरुसँगको भेटमा देउवाले ‘सक्ने भए शेखरले संसदीय दलको नेता फेरेर देखाए हुन्छ’ भन्दै चुनौती दिएका शेखर कोइराला विराटनगर विमानस्थलमा यसबारे पत्रकारहरूले प्रश्न गर्दा शेखरले अहिले आफू दलको नेता फेर्ने अवस्थामा नरहेको मात्रै बताएनन्, अहिलेको सरकारको विकल्प खोज्न नलागेकोसमेत भनेका छन् । 

संसदीय दल नेता फेर्नका लागि सांसदहरूको संख्या आवश्यक पर्ने उल्लेख गर्दै कोइरालाले त्यो सम्भावना अहिले नरहेको बताएका छन्।