पाँच दिन अघि सालीको बिहेमा गएर आएँ। यो बिहेमा श्रीमतीको सिफारिसमा आधीतोला सुनको सिक्री सालीलाई उपहार दिन बाध्य पारिएको गहिरो पीडामा म चिन्तित थिएँ।
हिजो साँझ त्यो जोडी मेरो घरमा हनीमुन मनाउने उद्देश्यले आइपुगे छ। श्रीमती अस्पताल गएको साँंझमा नव दम्पतीको जोडीको आगमन मलाई भारी पर्यो । उनकै फुपूकी छोरी सुत्केरी भएकाले श्रीमती मासुभात बोकेर अस्पताल गएकी थिइन् । आज उतै बस्ने भएर मलाई साँझैमा ख्वाएर गएकी थिइन् । म एक्लै घरमा थिएँ।
हमीमुने जोडीलाई "भान्सामा केके छ पकाएर खाओ" भन्दै किचेन देखाई दिएँ र म केहीबेर फेसबुकमा अलमलिएर निदाएँ। बिहान चारबजे उठेर म मर्निङ वाक गएँ। करिब सातबजे दूध लिएर फर्कँदा त्यो जोडी हिडिसकेको रहेछ। भान्सामा गएर र्हेर्दा हिजोमात्र किनेको आधाकिलो महको बट्टा टेबुलमाथि रित्तै लडेको थियो। एकदर्जन अण्डाका बोक्रा बेसिनमा फ्याँकिएका थिए। स्नानगृहमा सेम्फुको बट्टा खाली थियो । यता श्रीमतीका मेकअप सामग्री छरपस्ट थिए। अरू हेर्न चाहिन। श्रीमतीको इन्तजार गर्दै पलङ्गमा पल्टिएँ।
देवी पन्थी
विराटनगर १२




















