विराटनगर।वीरगन्ज भन्सार नाका हुँदै एक वर्षमा २२ अर्ब रुपैयाँ बढीको धान, चामलसहितका खाद्यान्न नेपाल भित्रिएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा भारत तथा तेस्रो मुलुकबाट वीरगन्ज नाका हुँदै २२ अर्ब ३७ करोड रुपैयाँ मूल्यको धान, चामल, मकै, कोदो, फापर र कनिका नेपालमा आयात भएको छ। 

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को भन्दा गत आर्थिक वर्ष २०८१/८२ मा ६ अर्ब ३३ करोड रुपैयाँ बढी मूल्यको खाद्यान्न वीरगन्ज नाका हुँदै भित्रिएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ। उसका अनुसार, अघिल्लो आर्थिक वर्षमा वीरगन्ज नाका हुँदै १६ अर्ब ४ करोड रुपैयाँ मूल्यको धान, चामल, मकै, कोदो, फापर र कनिका नेपाल भित्रिएको थियो। 

गत आर्थिक वर्षमा वीरगन्ज नाका हुँदै अघिल्लो आर्थिक वर्षको भन्दा ३९ दशमलव  ४६ प्रतिशत बढीले अर्थात ६ अर्ब ३३ करोड बढी मूल्यको खाद्यान्न आयात भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिएका छन्।