विराटनगर । कोशी प्रदेश प्रहरीको प्रमुखको जिम्मा लिएर विराटनगर आएको केही समयपछि डिआइजी ईश्वर कार्कीले पत्रकार सम्मेलनको आयोजना गरेर भनेका थिए ‘कोशी प्रदेशको सबैभन्दा ठूलो चुनौती लागुऔषधको हो । यहाँ यो समस्या बढेको देखिएको छ । 

प्रदेश प्रहरी प्रमुख कार्कीले मात्रै होइन भारतसित साँध जोडिएका तराईदेखि पहाडसम्मका सबैजसो  जिल्लाका प्रहरी अधिकारीहरुका लागि टाउको दुःखाइको कारण बनिरहेको लागुऔषधको ओसारपसार र बेचबिखन आकाशिंदै गएको छ । प्रहरी स्वयमकै तथ्यांकले पनि देखाउँछ कोशी प्रदेश लागुऔषध कारोबारको अखडा नै बनिरहेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयको एक वर्षको तथ्यांक केलाउने हो भने थाहा हुन्छ, प्रदेशमा  लागुऔषधको प्रयोग र ओसारपसार अचाक्ली बढेको छ ।

कोशीका विभिन्न जिल्लाबाट आर्थिक वर्ष २०८१–८२ मा मात्रै चरेस, अफिम, खैरो हेरोइन र विभिन्न लागुऔषधसहित बेचबिखन तथा ओसारपसारमा संलग्न १ हजार ९८५ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

एक वर्ष भित्र झण्डै दुई हजार जना प्रहरीले पक्राउ गरिसके छ।


बितेको आर्थिक वर्षमा कोशीका १४ जिल्लामध्ये झापाबाट मात्रै  १.५६ ग्राम चरेस, २.८८ केजी खैरो हेरोइन, विभिन्न खालका ६३ हजार ५६० चक्की र ३९ एम्पुल प्रहरीले बरामद गरेको तथ्यांक छ । 

मोरङमा १.७७ केजी खैरो हेरोइन, लागुऔषधका ८० हजार ९२३ चक्की र क्याप्सुल, र एक हजार ४८५ एम्पुल प्रहरीले नियन्त्रणमा लिंदा  सुनसरीबाट २ ग्राम चरेस, ७२८ ग्राम खैरो हेरोइन, ४ लाख २८ हजार ६८३ चक्की र ३१८ एम्पुल बरामद भएको छ ।

बितेको आर्थिक वर्षमा प्रदेशभरबाट प्रहरीले कूल ५.४८ किलो खैरो हेरोइन, १५.७ ग्राम अफिम, ३.५ ग्राम चरेससहित ६ लाख १५ हजार ७९ वटा चक्की र २ हजार ६५४ वटा एम्पुल बरामद गरेको छ ।

प्रहरीका अनुसार, केही कारोबारीले लागुऔषधलाई शरीरका विभिन्न भाग तथा मलद्वारमा समेत लुकाएर ओसारपसार गर्ने गरेका छन् । यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरी गोली प्रहार गर्नसमेत बाध्य भएको प्रहरीको भनाइ छ ।