धरान।साउन ८ — नेकपा (एमाले) धरान उपमहानगर कमिटीको सचिवालय तथा २० वटै वडा कमिटीका अध्यक्षहरूको समन्वयमा सम्पन्न बैठकले धरानका जनसरोकारका तीन महत्त्वपूर्ण विषयमा निर्णाय गरिएको छ। पार्टी अध्यक्ष हर्कजङ एभेङले दिएको जानकारी अनुसार खानेपानी, स्वास्थ्य बीमा तथा जनस्तरसम्म सेवा प्रवाहका लागि विशेष कार्ययोजना तयार पारिएको छ।
खानेपानीमा सबै दल र निकायलाई समेटेर सहमतिको कार्यान्वयन
नेपाल सरकारद्वारा धरानको खानेपानी समस्या समाधानका लागि विनियोजन गरिएको ६ अर्ब १३ करोड रुपैयाँ बजेटमध्ये ८५५ अनुदान स्वरूप र १५५ स्थानीय सरकारको दायित्व रहने स्पष्ट गर्दै एमालेले यस परियोजनालाई कार्यान्वयन गर्न सबै राजनीतिक दल, स्थानीय सरकार, सरोकारवाला संघसंस्था तथा नागरिक समाजसँग समन्वय गर्ने प्रतिबद्धता जनाएको छ। पार्टीले यस अभियानमा संपूर्ण शक्ति लगाउने निर्णय गरेको बताइएको छ।
स्वास्थ्य बीमामा बीपी प्रतिष्ठानलाई केन्द्र बनाउने तयारी
स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयनका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रथम सेवा केन्द्रको रूपमा स्थापना गर्न पहल गरिने निर्णय गरिएको छ। प्रतिष्ठानले सबै मापदण्ड पूरा गरेको जनाउँदै एमालेले नगर अस्पताल तथा वडा–वडा स्वास्थ्य चौकी स्थापना गर्न समेत सक्रिय भूमिका खेल्ने जनाएको छ।
घर–घरमा पुग्ने अभियान सञ्चालन गरिने
खानेपानी र स्वास्थ्य बीमासँग सम्बन्धित कार्यलाई थप प्रभावकारी बनाउन वडा भूगोलअनुसार योजना बनाई घर–घरमा पुगेर परिणाममुखी सेवा प्रवाह गर्ने निर्णय गरिएको छ। पार्टीका वडा कमिटी, टोल कमिटी तथा जनसंगठनहरूलाई सक्रिय रूपमा परिचालन गरिने जानकारी दिइएको छ।
वृहत छलफल हुने
यी मुद्दाहरूमा समग्र सहमति जुटाउन आउँदो २०८२ साउन १० गते, शनिबार बिहान ११ः३० बजे सबै राजनीतिक दल, स्थानीय सरकार, सरोकारवाला संघसंस्था तथा नागरिक समाजका प्रतिनिधिहरूसँग वृहत छलफल गरिने कार्यक्रम तय गरिएको छ।
यस जानकारीमार्फत पार्टीले जनतासँग प्रत्यक्ष सरोकार राख्ने समस्याहरूको समाधानका लागि सहमतिमूलक र अभियान अघि बढाउने तयारी रहेको अध्यक्ष एभेङले जानकारी दिए।




















