विराटनगर । आफ्ना उटपट्याङ हर्कत र अभिव्यक्तिका कारण निरन्तर विवाद र चर्चाको पात्र बनिरहने धरानका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान विरोधी गतिविधि जारी राखेका छन् ।
मुलुककै ठूलो स्वास्थ्य प्रतिष्ठान मध्येमा पर्ने बीपी प्रतिष्ठानलाई कज्याउने ध्येय पूरा नभएपछि अनेक बहानामा प्रतिष्ठान विरोधी गतिविधिमा उनी लागेको आरोप छ । यही क्रममा उनले उपमहानगरको जग्गा प्रतिष्ठानले हडपेको आरोपमा उत्रिएर धावा बोलेका छन् ।
यसअघि बारम्बार बीपी प्रतिष्ठानको स्वामित्व धरान उपमहानगरलाई दिनुपर्ने भन्दै आएका उनले प्रतिष्ठान र त्यसको नेतृत्वलाई कज्याउन नपाएकै कारण ‘उट्फट्याङ्ग’ अभिव्यक्ति दिने गरेको बीपीकै एक पदाधिकारीले बताएका छन् ।
बीपी प्रतिष्ठान उपमहानगरलाई हस्तान्तरण गर्न भन्दै फेसबुकमा निरन्तर लेख्दै र सार्वजनिक मञ्चहरुमा बोल्दै पनि आएका मेयर साम्पाङले यसपटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई मर्यादाहीन भाषा र शैलीमा पत्र लेखेर प्रतिष्ठानले जग्गा हडपेको आरोप लगाएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उनले लेखेको पत्रमा भनेका छन् ‘धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको छ ।
छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुन चाहिं कुलङ्गारले दलालीमा भुलेर बीपी अस्पताललाई दिइ पठाएछ थाहा भएन । यसरी नगरपालिकाको जग्गा लान पाइँदैन । प्लिज फिर्ता गरिदिनु होला भनेर पत्र लेखेका छन्।




















