नियाल्दैछु 

मनको मझेरीबाटै 

सुम्सुम्याइरहेँछु हिँड्ने 

त्यो बाटोभरि

इन्द्रेणी रङ्ग सजाउँदै

तिम्रो स्पन्द खोजिरहेँछु

लाग्छ

कतै तिमी नै हौ कि भानु !

मेरो अदृश्य ढुकढुकी !!


प्रकृतिसँग मात्र पनि 

रमाउन नसकिने रहेछ

सुन्दर फूललाई 

चुम्दा मात्र पनि 

तृष्णा नमेटिने रहेछ

विरक्तिएको मनलाई 

अल्मल्याउन 

थकानमा 

शीतल चौतारी खोज्दैछु 

म पनि 

लाग्छ

कतै तिमी नै हौ कि भानु !

मेरो अनुपम सौन्दर्य  !!


फक्रन पाउँछ पाउँदैन  

कोपिला 

निमोठिन्छ कि कतै डर लाग्छ

भय यत्रतत्र सल्बलाउँछन्

तैपनि 

यौवनसँग खेल्ने रहर

आगोजस्तै बल्ने रहर

हिजोआज 

स्वर्णिम सपनाहरू

 धाउन थालेका छन्

लाग्छ 

कतै तिमी नै हौ कि भानु !

बाल्ने आग‍ाको झिल्को  !!


तिम्रो स्नेहको 

आभासले मात्र पनि 

आगो बल्छ

कहिले  

कुना काप्चाभित्र

शीतलता फैलाउँदै

प्रेमिल स्पर्शहरू

प्रमाणित गर्न 

आएको भान हुन्छ

लाग्छ 

कतै तिमी नै हौ कि भानु !

मेरा हावाका झन्कार !!


अम्बिका खरेल उप्रेती 

विराटनगर -१२