श्रीमान् !
कारण नबताइ कठघरामा उभ्याइएपछि
म मौन बसेँ-
त्यो मौनता नै मेरो पहिलो बयान थियो ।
तर अब म बोल्छु-
अन्यायको छालमुनि गहिरिएको चोट ।
ओठमा मुस्कुराइरहेको खुसी खोस्न
चोरेर भुइँमान्छेका सपना
छानो च्यात्नेहरू विरुद्ध
धावा बोलेको हुँ मैले
लहलह झुलेको वसन्त खोस्न
डरको जाडो छरिरहेका
शासकहरूको विरुद्ध
विचारको आगो ओकलेको हुँ मैले
च्यातेको छैन मैले न्यायका कुनै दफा
फगत अन्यायले बेस्सरी थिचिएर
रोइरहेकाहरूको आँसु लेखेको हुँ
फूलको जुलुसमा बारम्बार लाठी चार्ज भएपछि
मान्छेहरूलाई काँडा बन्न आह्वान गरेको हुँ ।
हो श्रीमान् !
ताता आशाहरू ख्वाप्पै निलेपछि चिसा मनहरूले
चेतनाको डाक बोलेकै हुँ
सपनाहरू चिथोर्न थालेपछि नङ्ग्राले
पीडाको भित्तामा सङ्घर्ष कोरेकै हुँ
अपराध ठहर गरिएपछि मौनतालाई
शब्दमा प्रतिरोधको ज्वाला प्रज्वलित गरेकै हुँ
तर कहिल्यै उठाइनँ शब्दहरूलाई
स्वाधिनता र अखण्डताको विरुद्ध
माटोको सुगन्ध र एकताको विरुद्ध
तैपनि
मेरो निब किन कहलियो राष्ट्रघाती ?
मेरो बिर्कोमै किन टाँसियो दोषको छाप ?
श्रीमान् !
यातना विछ्याएर रोक्न नखोजियोस् मेरो यात्रा
अपहेलनाको आँधीले चिमोट्न नखोजियोस् आत्मा
म विचारको झिल्को हुँ- निभ्दिनँ म
म समयको प्रतिध्वनि- चुप लाग्न सक्दिनँ
एकछिन टक्क रोकिएला कविताको सास
तर उर्लन्छ विचारको पहिरो ।
र आज हजुरकै कठघराबाट
दुनियाँसामु मेरो उद्घोष छ-
प्रतिवन्धले मेरो मूल्य घटाउदैन
अक्षरहरूको खेत जलाइए पनि
विचारको बीउ नासिँदैन
जति पखेटा फिँजाए पनि दमनले
मेरो मृत्यु कहिल्यै सम्भव छैन ।
नानू दाहाल
विराटनगर




















