मैले बनजंगलमा बिन बजाइनँ,
किनभने अब कुनै सर्पलाई बोलाउन आवश्यक छैन।
यहाँ हरेक अनुहार, हरेक छायाँ, हरेक स्वर,
आफ्नोपन ओढेर विष उगल्न तयार छन्।
सर्प अब गुफामा बस्दैनन्,
उनीहरू मानिस बनेर शहरमा घुम्छन्।
मधुर शब्दमा लुकेको विष,
मुस्कानको पछाडि धूर्तता,
र हात मिलाउने साथमै बुनेको षड्यन्त्र—
यी सबै परिचित छन् अब मलाई।
मैले धेरै पहिला बुझिसकेको थिएँ—
सबैभन्दा नजिक हुनेहरूको दाँत नै
सबैभन्दा तिखो हुन्छ।
उनीहरू तातो श्वासमा मोह घोल्छन्,
र त्यसै क्षण मेरुदण्डमा
एक चिसो डस गर्छन्।
त्यसैले मैले आफ्नै वरिपरि पर्खाल उठाएँ—
न कसैलाई भित्र पस्न दिएँ,
न आफै अरूको नजिक गएँ।
किनभने टाढा हुनेहरू वार गर्न सक्दैनन्,
तर नजिक हुनेहरू कहिल्यै अवसर छुटाउँदैनन्।
इमानदारी अझै जिउँदो छ—
तर केवल गरिब झुपडीहरूमा।
श्वासमा सत्य त हुन्छ,
तर पेटमा रोटी हुँदैन।
त्यहाँका मानिसहरू डराउँछन्,
तर कसैलाई डस्ने योजना बुन्न सक्दैनन्।
मैले आफ्नो यात्रा एक्लै तय गरेको छु,
सिर्फ़ दृढ संकल्प र सत्यको साथ।
सर्पहरूले भरिएको यो संसारमा,
विषालु सम्बन्धभन्दा,
एक्लोपन धेरै सुरक्षित छ।
अब म बनजंगलमा भौतारिँदिनँ,
मैले आफ्नै बाटो बनाइसकेको छु।
सर्पहरू अझै त्यहीँ छन्—
मेरो कुनै भूलको प्रतीक्षामा।
तर म जान्दछु—
मेरो दृढता उनीहरूको विषभन्दा तेज छ,
म तिनीहरूको विषाक्त षड्यन्त्रमा
कहिल्यै नपर्ने प्रतिज्ञामा छु।
मिथिलेश आदित्य
ठेगाना :
विराटनगर, नेपाल




















