एउटा गाउँको छेउमा सानो झुप्रोमा बस्ने कुमाले थियो, जसको जीवन माटोसँगै खेल्नेमा बित्थ्यो। ऊ दिनभरि माटो गुँथ्थ्यो, गोलो बनाउँथ्यो, भाँडा पकाउँथ्यो अनि ती भाँडाकुँडा बजारमा बेचेर दुई छाक टार्थ्यो।
एउटा बिहान ऊ आफ्नो सानो डोकोमा भाँडाहरू भरेर गाउँतिर लाग्यो—बेच्ने आशामा, केही कमाउने लालसामा।
तर बाटो लामो थियो, र ऊ थाक्यो। एउटा घना पीपलको रुखमुनि उभिएर डोको माटोमा राख्यो र बस्यो।
छायाँ चिसो थियो, अनि कल्पना तातो।
"यी भाँडाहरू बेचें भने, केही रुपैयाँ आउँछ। त्यो पैसाले दुईवटा खसी किन्छु, खसी बेचेर चारवटा बाख्रा, अनि बाख्राको व्यापार गर्छु। त्यसैबाट गाई ल्याउँछु, गाईको दूध बेचेर जमीन किन्छु।
त्यही जमीनमा घर बनाउँछु, घर अगाडि फूलको बगैंचा सजाउँछु। गाडी ल्याउँछु। अनि… एउटा रूपवती, समझदार श्रीमती पनि ल्याउँछु। ऊ हाँस्छे, म जिस्काउँछु, माया गर्छे, जीवन रमाइलो बन्छ।"
उसको मन रमायो, शरीर पनि हर्षले चलायमान भयो।
कल्पनामा हाँस्दै उ छटपटियो, अनि खुट्टाले अचानक डोको ठक्कर दियो।
सबै भाँडाकुँडा फुटे — टुक्राटुक्रा भए — सपना जस्तै।
एकछिन ऊ निस्तब्ध बन्यो। न त आवाज थियो, न आँखा झिम्किन्थ्यो।
कल्पना टुक्रियो, यथार्थको छालले पोल्यो।
सन्देश
सपना देख्नु अपराध होइन — तर आँखामा मात्रै सपना राख्ने हो भने जीवनको माटो पनि भाँडाजस्तै चुँडिन सक्छ।
नेपाली जनताको पीडा यही हो — कल्पना छ, श्रम छ, तर योजना छैन।
त्यसैले सपना धेरै, तर टुक्रा अझ बढी।
तिलक ढकाल
झापा , नेपाल ।




















