जिन्दगीलाई जति दाउमा लगाए पनि भएन,
गर्दन काटेर आलु भाउमा लगाए पनि भएन।
आधा जिन्दगी आसै-आसमा बितेर गयो,
आफ्नो मुटु उसको ठाउँमा लगाए पनि भएन।
जिन्दगीले जिन्दगीसँग गरेको गुनासो र प्राप्तिको दिक्दारीलाई प्रस्फुटन गरेको यो मुक्तकले प्रायः समस्त जिन्दगीको भाव बोकेको छ। आदरणीय गङ्गा आचार्य सेढाईद्वारा लिखित "अनन्त गङ्गा" मुक्तक सङ्ग्रहमा सङ्ग्रहित यो तेस्रो मुक्तक हो। "हामी र हाम्रो कृति समूह" को उत्साहवर्धन र सुनील अधिकारीको सम्पादनमा यो मुक्तक सङ्ग्रह २०८० सालमा चन्द्र राज सेढाईज्यूले प्रकाशन गर्नुभएको हो। दिवङ्गत आमाको स्मृति गर्दै आरम्भ हुने "अनन्त गङ्गा" मुक्तककारद्वय बद्री उप्रेती र मदन नेपालको शुभकामनाले गदगद छ। सम्पादकीय खण्डमा आदरणीय मुक्तककार सुनील अधिकारीले "अनन्त गङ्गा" भित्रको विषयवस्तु र लेखनीलाई प्रष्ट पार्दै भएका त्रुटि न्यूनीकरण गर्ने प्रयास गरेको र यो मुक्तक सङ्ग्रह "गागरमा सागर" भएको बताउनुभएको छ। "मेरो भनाइ" शीर्षकमा आदरणीय मुक्तककार गङ्गा आचार्य सेढाईले विकटको जन्म, नारीमाथिको बन्धन, समाजको वक्र दृष्टि, पारिवारिक जिम्मेवारीले समय अगावै घरको चुल्हो बन्न विवश हुनुपर्ने नारी बाध्यता स्मरण गर्दै तत्समयमा पनि शिक्षा दिलाउने बा-आमाको स्मरण गर्नुभएको छ। जिन्दगीको खुड्किलो चढ्दैदेखि वर्तमानसम्मको यात्रामा साथ दिने र यो कृति निकाल्न हौसला दिनुहुने सबैलाई सम्झना गर्दै सामाजिक सञ्जाललाई पनि धन्यवाद दिनुभएको छ।
२७० वटा मुक्तक समावेश भएको "अनन्त गङ्गा" भित्रका मुक्तकहरू प्राविधिक रूपमा सबै मापदण्ड पूरा गरेका र भावनात्मक रूपमा मेरै भावना हो भन्ने खालका देखिन्छन्। सरल शब्दको प्रयोग गरेर पनि व्यङ्ग्य प्रहार गरेको भेटिन्छ मुक्तकले:
जति भन्छन् त्यति पैसा तिर्न पाएँ,
सुटुक्क मन जितेर भित्र छिर्न पाएँ।
बधाईको ओइरो लाग्ने थियो होला,
जे पर्छ परोस् बरु खादा भिर्न पाएँ।
नजानिँदो पाराले सम्मान खरिदबिक्रीको विषय उजागर गरेको छ तर पनि सौम्य भावमा।
पानी अनि जवानीलाई छेकेर छेकिन्न,
अन्तरात्माको चीत्कार लेखेर लेखिन्न।
खोलो धाउँदैन तिर्खा लागे धाउनुपर्छ आफैँ,
कसैले अर्काको भाग्य यहाँ मेटेर मेटिन्न।
यो मुक्तकले स्पष्ट र कटु यथार्थलाई छर्लङ्ग पारेको छ।
राजनीतिको नाममा समाज आफैँमा छिन्नभिन्न भएको, लाज अलप भएर निर्लज्जता नग्न घुमेको छ, पैसा सर्वोपरि छ भन्ने विषय उठाउनुभएको छ मुक्तककारले यस्ता मुक्तकमार्फत:
हार-जितको रहस्यमय खेल भित्रभित्रै हुन्छ,
तलमाथि पार्ने बेमेल अचेल भित्रभित्रै हुन्छ।
आफ्नै मतदाताको आँसुको मूल्यले सराप्यो,
राजनीतिमा हुने जालझेल भित्रभित्रै हुन्छ।
विदेशिएका सन्तानको बाध्यता, बा-आमाको विवशता, साँघुरो बन्दै गएको पारिवारिक मोल, अर्थमा जोखिने नाताका बारेमा लेखिएका मुक्तक छन् सङ्ग्रहभित्र। प्रकृतिको बिम्ब प्रयोग गरेर मानवीय स्वभाव चित्रण गर्दै यस्तो लेख्नुहुन्छ गङ्गा जी:
चन्द्रमालाई छुन खोज्छौँ, प्रकृतिलाई मिच्न खोज्छौँ,
आकाशतिर हेरी हिँड्छौँ, भुइँकालाई किच्न खोज्छौँ।
आफ्नै बर्बादीको बाटो गरी, आफ्नै अघि आउँदा पनि,
मर्ने-बाँच्ने ठेगान छैन, निमुखालाई थिच्न खोज्छौँ।
देश भनेको सहर मात्रै होइन, दूरको विकट बस्तीसम्म नियाल्नुस् भन्दै लेखिएको यो मुक्तकमा देशप्रतिको उहाँको भाव झल्किन्छ:
कर्णाली र गण्डकीको आस हेर्न आउनुहोला,
गरिब, गरिबीको घेरा र बास हेर्न आउनुहोला।
छोडिदिनुहोस् लडाइँ-झगडा आफ्नै बीचको,
आमाको रगत बगिरहेछ, खास हेर्न आउनुहोला।
जिन्दगीका आरोह-अवरोहमा भोगेका र देखेका दृश्यबाट आहत मानवीय आवाज सुस्काउँछन् कुनै मुक्तकले यसरी:
भन्थेँ मेटिन्न भाग्यमा लेखेको, मेटिने रै’छ,
अभागीलाई मलमलमा काँडा भेटिने रै’छ।
जुर्ने-जुराउने उत्सैको हजुर खेलौँ लाग्थ्यो,
निर्दोष गला आफ्नाहरूबाट नै रेटिने रै’छ।
उच्च पदका व्यक्तिले गर्ने भ्रष्टाचारको स्वरूपलाई इङ्गित गर्दै सानो घाउमा दाउ थाप्ने प्रवृत्तिप्रति यसरी प्रहार गर्नुहुन्छ:
गिलोलाई साह्रो र साह्रोलाई गिलो भने पनि हुन्छ,
ढिलोलाई छिटो र छिटोलाई ढिलो भने पनि हुन्छ।
यी हुन् पुर्ख्यौलीदेखि चलिआएको चलन रोकिन्न रोकी,
ठूलाहरूले यहाँ खटिरोलाई पिलो भने पनि हुन्छ।
जन्म-मृत्यु, आशा-निराशा, भाग्य-दुर्भाग्य, धन, मन र जीवनको उत्खनन गरिएको छ मुक्तकहरूमा। प्रकृति, देशभक्ति, राजनीति र धर्म सबै समेटेर लेखिएका मुक्तकले "अनन्त गङ्गा" लाई गङ्गाजस्तै प्रवाहित गरेको छ।
अन्त्यमा, आदरणीय मुक्तककारको यो मुक्तकले भने झैँ मेरो पाठकिय धारणा टुङ्ग्याउँछु:
जस्तोसुकै परिस्थितिमा सकारात्मक आस होस्,
दुर्भावना र कुकृत्यहरू सबै निर्मूल या ह्रास होस्।
सके भलो गर्नु सबैको, नसके पनि कुभलो नगर्नु,
सम्पूर्ण नेपालीहरूको घरमा लक्ष्मीको बास होस्।
धन्यवाद।
शम्भु गजुरेल "कुनाघरे काहिंलो"




















