"कैवल्य"अर्थात "मोक्ष" पुस्तकको नामबाट नैं सर्जक र आध्यात्मिक चेतनाको गठजोड भएको आभाष हुन्छ। काठमाडौ बुढानिलकण्ठ -६ हात्तीगौंडा निवासी लव खड्का माता भद्रकालीका परम भक्त हुनुहुन्छ । उहाँको यो कैवल्य मुक्तक संग्रह पढेपछि उहाँ देवी सरस्वतीका अनन्य भक्त भएको कुरा बुझिन्छ । तपस्यामा मग्न योगीको बिम्बले सजिएको आवरण पृष्ठले पुस्तकलाई कर्मयोग सँग लेखकको सन्निकटता देखाउछ । अनिता खड्का प्रकाशक रहनुभएको कृतिको मूल्य २०० रुपैयाँ रहेको छ । 

  साहित्यकार वियोगी बुडाथोकीले भुमिकामा काँठमा साहित्यकारलाई साधारण मानिस भन्दा पनि अलि तलको ठान्दै ठट्टाको पात्र बनाइने गरेको स्मरण गर्दै सोही काँठका का एकजना काँठे साहित्यकारको कृति आउँदा मन प्रफुल्लित भएको भावना पोख्नु भएको छ । मुक्तक विधाको इतिहास र वर्तमानलाई तुलना गर्दा वर्तमान समय मुक्तकको निमित्त सुखद समय भएको विचार व्यक्त गर्नुभएको छ। अग्रज मुक्तककारको योगदानलाई सम्झना गर्दै लव खड्काको लेखन शैलीको बारेमा भन्नुहुन्छ लव भाइको लेखन सरल शब्दले वजनदार मर्म बोकेका छन् ।

      मुक्तककार रविन्द्र आशिष शैली को यो मुक्तक मार्फत लव खड्काको दक्षता खुलाउनु भएको छ ।

  मीठा छन् लवका कुरा

  छोटा मीठा अनि पूरापुरा

  कुरा राख्छन् अचार झैँ 

  हेर्दा कुनै छैनन् अधुरा ।

मुक्तककार बद्री उप्रेती लगनशील र मिलनसार लव खड्का भाइको साहित्यिक यात्राको लागि शुभकामना दिनुभएको छ ।

   आफ्ना केही गन्थन मार्फत लव खड्काले स्वस्थानी कथा देखि हजुरबुबाको पुराना पुस्तक अध्ययनका क्रममा कतिबेला साहित्यको रसले तान्यो याद भएन तर मुक्तक विधाले मलाई अँगालोमा कस्यो भन्दै साहित्यिक यात्रामा उत्प्रेरित गर्ने सहयात्री मित्र तथा अग्रज साहित्यकारहरूको नाम स्मरण गर्नुभएको छ ।जिन्दगीको उतारचढाव , आरोह अवरोहमा बग्दा आँसु लुकाउदै हिक्कालाई मुस्कानमा बदल्दै भावनालाई मुक्तक बनाएर ल्याएको छु । माता भद्रकाली र आदरणीय पाठक अनि मित्रहरूको सदासयता सधैं रहनेछ भन्दै आफ्नो मन खोलेर राख्नु भएको छ ।

आउनु-जानु संसारको रीत रहेछ

खुसीले बाँच्नु नैँ असली जित रहेछ

सबैले स्वीकर्नै पर्ने यथार्थ सत्य

काल त आखिर सबैको मीत रहेछ ।

भन्दै मुक्तकको आरम्भ गर्नुभएका खड्काले आफ्नो कृतिमा पस्किने सामाग्रीको वासना छर्नुभएको पाइन्छ ।२९६ वटा मुक्तक समावेश गर्दै कैवल्यलाई शुद्ध मोक्षको सुत्रले भरिभराउ  पार्नुभएको छ ।

रिस,लोभ,द्वेष घृणा भएजति मनभित्रै माड्न सकूँ

आएजति दु:ख पीडा आफै भोगी सुख सधैं बाँड्न सकूँ

सर्वथा सत्य सांसारिक रीति नाङ्गै आउनु नाङ्गै जानू

दुखी गरिबको मुहारमा खुसी छर्दै भवसागर छाड्न सकूँ।

कसैको त मुस्कानमा नि जादू हुँदो रहेछ

ओठ मात्र खोल्दा नि मुटु छुँदो रहेछ

छल्किएर टप्किँदा आँखाबाट आँसु 

गुम्सिएका मनका पीडा सबै धुँदो रहेछ ।

आफन्तको के अर्थ कुनै भर नभएपछि 

महलको  के अर्थ मुन्टो लुक्ने घर नभएपछि 

नदेखाउ लालच मात अनि मधुशालाको

नसाको के अर्थ पिउने रहर नभएपछि ।


हेर्दाहेर्दै खोलो कुलो भयो

कुलो मुसो बस्ने दुलो भयो

के हो त भनी बुझ्दै जाँदा

जसले खायो उही ठूलो भयो ।


कुकुरले हड्डी भेट्यो उसलाइ मिठो खाजा भयो

बाँदरले लौरी भेट्यो उसलाई सुरिलो बाजा भयो

चुनाव अघि झोली फैलाइ घरघर माग्दै थियो नेता

चुनाव जित्या भोलिपल्टै रैतीबाट राजा भयो ।


दाल मिठो तड्का लगाएपछि 

माया मिठो धोका खाएपछि 

साच्चै भन्दैछु जे सुकै सोछ प्रिय 

प्रेम मिठो तिमीले छोरा पाएपछि ।


गरिबले मासु खाएपनि साग हुन्छ यहाँ 

पैसा हुनेले खोक्दा पनि राग हुन्छ यहाँ 

भ्रष्टाचार निर्मूल गर्छु त भन्छन् नेता

तर उसको सालीको पनि भाग हुन्छ यहाँ ।


आज फेरि एकपल्ट रुन मन लाग्यो

दोषी नयन आँसुले धुन मन लाग्यो

हो साच्चै वाक्क भएँ अब जिन्दगीदेखि 

आऊ न काल तिमीलाई छुन मन लाग्यो ।


तिम्रो मायाले मलाई सुवासिलो झार बनाइदियो

तिम्रो मायाले मलाई तरबारको धार बनाइदियो

खै कसरी चुक्ता गर्नु तिम्रो त्यो अमूल्य ऋणको भारी

तिम्रो मायाले मलाई  बारूलाको घार बनाइदियो ।


भमरालाई रसको प्यास छ

फूललाई दयाको  आश छ

दुईबिचको आपसी खेलमा

बिचरा माली सिर्फ दास छ ।


के लेख्नु खै जितहारको कहानी

टिलपिल छन् जोर नयन टन्न छ पानी

आँसु देखाई नमाग्नू मसँग दयाको भीक

समुद्रमा डुबुल्की मार्दै छन् आँखाका नानी ।


पिउन जान्नेलाई मीठो पानीको कुवा हो जिन्दगी 

स्वाद लिन जान्नेलाई ताजा मीठो खुवा हो जिन्दगी 

घरी ताप घरी रुझाई हुन्छ आ-आफ्नो बुझाइ हुन्छ

सम्हाल्न नसके उडिजाने सिमलको भुवा हो जिन्दगी ।


जीवनको  हरेक पाटोलाई गहिरो सँग अध्ययन गरेर सरल शब्दले लेखिएका, प्रेमील, व्यङ्ग्यात्मक, राजनैतिक अविश्वास , धार्मिक उन्माद, लोभ, क्रोध र आडम्बर सबै क्षेत्र समेटेर सटिक प्रहार गर्दै लेखिएका मुक्तकले कतै हसाउछन् कतै रुवाउछन् कतै वैरागतर्फ डोर्‍याउछन् । कतै नेता प्रति आक्रोश जगाउने मुक्तक छ कतै मायालु फकाउने पुस्टकारी छ । कतै स्वर्गको प्राप्तिका खातिर आध्यात्मिक मार्ग देखाउने मुक्तक छन्। मुक्तक संग्रह पढ्दै जाँदा अन्तिम मुक्तक आएको पत्तै भएन ! उहाँले आफ्नो अन्तिम मुक्तकमा आफ्नो दोष भुलेर  दुनियाँलाई दिनु पनि  आफ्नै दोष हो भन्ने भाव बोकेको तलको मुक्तक पस्किदै कैवल्यलाई बिट मार्नुभएको छ ।


आफ्नै सिक्का रहेछ खोटो दुनियाँलाई के दोष

मनमा सजाए निष्ठुरीको फोटो दुनियाँलाई के दोष

रुञ्चे मनलाई रोक्नै पर्‍यो भावीको लेखा भोग्नै पर्‍यो

आफ्नै मायाको आयु रहेछ छोटो दुनियाँलाई के दोष।


  कैवल्य भित्रका प्राविधिक र सुत्रगत भाषाका रेफ र मात्रालाई कोत्र्याउँदै आलोचनाको ओखलमा राखेर चिउरा बनाउने समालोचकको जस्तो नजर र ज्ञान म सँग नभएकोले पनि हुनसक्छ ! कमजोरीलाई उजागर गर्नैपर्ने खालको त्रुटि भन्दापनि आञ्चलिक र ठेट गाउँले बोलचाल समेतलाई प्रयोग गरिएकोले  लेखनी पठनयोग्य लाग्यो । 

     सुझाव दिनै परेको खण्डमा कतैकतै वाक्य निर्माण गर्दा वाक्य परिवार र शब्द परिवारको बिचमा मनमुटाव भए झैँ देखिन्छ । त्यस्ता कमजोरी लेखनीको निरन्तरता सँगै स्वत हराउँछ भन्ने विश्वास गर्दै लव खड्का जी को साहित्यिक सफलताको कामना गर्दछु ।


कुनाघरे काईँलो