नेतालाई   शिक्षकले   चुनावमा  बोक्यौँ

यिनलाई  गाह्रो  पर्दा   माउ बनी छोप्यौँ

एक माघले जाडो जान्न खै बुझेको कुरो

तमासा र रमिता भो  भन्ने   लाग्छ भुरो ।।


कुनै दल   मौन  बस्छन्  पत्तै   छैन जस्तो 

यिनका नारा घोषणा त कति  सस्तो सस्तो

कोही उचाल्ने कोही थचार्ने आन्दोलन ढाल्ने 

थुक्क नेता   बुझ  तिमी  अब  आगो बाल्ने ।।


यिनको स्वार्थ मिल्यो भने हप्तै दिनमा ऐन

ल्याइहाल्छन्  भित्रभित्रै   के  गरौं  यो बैन

कति  सन्दर्भमा यिनी जूका सरि मिल्छन्

सर्प बनी  किन  यिनले  गुरुलाई   निल्छन् ।।


आन्दोलन कै  मैदानबाट  एकल  सङ्गठन 

निर्माण   गर्ने   प्रण   गरौं   बुझौं गुरु जन

तितरबितर    हुनुहुन्न    लठारो   भै जुटौँ

कलम पुस्तक तेर्साएर यिनको छाती भुटौँ।।


यिनलाई सबक सिकाउन सबले पार्टी त्यागौँ

यिनको तडकभडक झार्न सडकबाटै जागौँ

यति  आँट  नगरेमा  लाउँछन्   गोर्खे  लौरी 

सम्झिनुहोस्  गुरुहरू अनुहार पर्ला चाउरी ।।


रचना -गणेश दवाडी ,लेटाङ -९ मोरङ 

निवृत्त शिक्षक