बिना मौसम यहाँ हुरी चल्यो हावा चल्यो
थाहा थिएन फेरि यहाँ अगेनामा पानी पर्यो
तिमी नहुनू भनेको एक शून्यता मात्रै हो
त्यही हुरीमा ओत लाग्ने तिमी खम्बा थियौं
म त सम्झेँ अब जीवनको लडाइँ लड्नु छ
तर प्रत्येक जीवनको युद्ध हुन अघि मैले हारे
यत्रो बर्ष तिमीले हारेको थिएनौं बाउ....?
बल्दै गरेको अगेना आज चिसो भयो
भरिनु लागेको ढिकुटी आज खाली भयो
तिमीले कसरी पो समाल्न थालेको थियौँ
मेरो त प्रत्येक साँझ अँजुलीबाट पोखिन्छ खुसीहरू
प्रत्येक बिहानीको आलारामसित पोखिन्छ रहरहरू
थाहा छैन कसरी कताबाट चुके बाउ....
थाहा छैन कसैसँग आज झुके बाउ.......
होईन तिमीले कसरी रहरहरू पूरा गरेको थियौँ ?
यहाँ रहरको बजारमा शहर छिरे देखि
एक थोपा सास पनि फुर्सदमा कहाँ फेरेको छु र.....
एकछिन सास फुर्सदमा लिन खोज्छु
खै! आलारामले उठाउँछ,
तिमीले पाखुरा आफ्नो स्वाभिमानमा लगायौं
मैले मेरो मस्तिष्क अरूको ठाउँमा लगाए
तिमीले प्रत्येक साँझ जोड्दै गयौं
मैले प्रत्येक साँझ तोड्दै गए
बिनाकारण मैले पौरखी गाउँ छोेडे
तिमीले त्यही गाउँमा बसेर गाउँ जोड्यो
मैले शहरभरी आफन्त खोजे
तिमीले गाउँ भरि आफन्त रोज्यौं,
तिमीले प्रत्येक चीज परेर बुझ्यौं
मैले प्रत्येक चीज ठोकेर बुझे
तिम्रो शुन्यता
खटखट पोल्छ मनमा
तिमीले स्वाभिमानी भएर बाँच्यौं
तिमी आफ्नै सृजनामा निर्भर भयौं
म सहारामा बाँच्ने लहरा भए
होइन
तिमीलाई दुख थिएन हो बाउ?
तिम्रोमा जीवन जिउने हुनर थियो
मेरोमा जीवन बिताउने समय थियो
तिमी आफ्नो लागि खटेर बस्यौं
म कसैको इसारामा नाँचेर बसे
तिम्रो हातमा तिम्रो कामको सटर थियो
मेरो हातमा कसैको इसाराको भर थियो
तिमी मज्जाले हाँस्न सक्थ्यौं
म यहाँ दिल खोलेर रुनु सक्दिनँ,
बाउ नहुनू भनेको त छत नहुनू हो
बाउ नहुनू भनेको त घर नहुनू हो
बाउ नहुनू भनेको त
संसार शून्य हुनू हो।
कृष्ण शर्मा सुमु
भारत मिलन मोड ,सिलगढी




















