साँच्चै प्रेम परागको मगमगी भर्दिन्छु लिन्छ्यौ भने
आशीर्वाद समेत माग्छु मनले हाँसेर दिन्छ्यौ भने
नाता उत्तम दाजुसाथ बहिनी सत्कारकी माधुरी
पूजा पावन गर्छु भन्छ सजिलो संस्कार चोखो भरी ।
डाकौँ राेचक भावना अब दुबै शृङ्गारको चेतना
पाऔं पोषक चाहना विजयका उत्कृष्ट संवेदना
खोजौं सार्थक प्रेरणा प्रकृतिमा उत्पन्न गर्ने कथा
उड्ने फर्फर फर्फरी गगनमा रोजी मजा सर्वथा ।
मानेको मनकामना भगवती आराध्य पुष्पाञ्जलि
गर्दै अर्पण सामुमा छु अहिले जोडी बसें अञ्जली
बग्दैछन् सललल्ल सल्ल सरिता सेती र मादी जुटी
जानें निर्मल झन् सफा सडकको आरामदायी कुटी ।
आस्थाको अनुरञ्जना मिसिलमा लाै खोट पायौ भने
हाने चप्पल हुन्छ त्यो बखतमा यो बात ऐले भनें
आँखा गाजल चम्किए अधरमा लालित्य ज्ञानाञ्जन
गर्छ्यौ कीर्तन भोरमा जब उठी होस् कोइली गुञ्जन ।
तीखा भेदक वाण छन् नजरका पार्ने सधैँ घायल
चल्दैछ्यौ गजगामिनी नियमले कस्ने गरी कायल
दैवाधीन छ भेटघाट मिल्दा सफा साइत
आई साथ बस्यौ खुली बगलमा यो वारमा आइत ।
एकै धर्म र कर्म हो उभयको हौँ राष्ट्रका सेवक
गर्छौं काम इमान साथ नडगी माधूर्य अन्वेषक
खोल्छौं आँत सफा खुलस्त सजिलै पाइन्छ जो आखिर
आत्माको मनसाय पूर्ण छ हुँदै यो प्रेमका खातिर ।
कुर्दामा कविले बिते पल त्यसै होला सवारी भनी
लाखौँ उन्नत जन्मका सिलसिला चल्ने तयारी पनि आत्माको गहिराइमा नियतको लेखिन्छ स्वर्णाक्षर
लागौँ प्राकृत प्यारतर्फ सुकिलो त्यागेर आडम्बर ।
आस्थाका कविता विशिष्ट रमिता भर्छन् रमाई अति सेवा सज्जनको उपास्य छ हुँदै मिल्दै गयो सम्मति
आँखा निर्मल देख्छु बाल रसिलो खोज्ने दयामा नमी
नातामा बहिनी उदार मनकी देखिन्न केही कमी ।
आँखामा मणि चम्कियो कुशल जो भर्ने भरोसा बनी
भागे पुत्पुत अन्धकार डरले जाज्वल्ल्य ज्योत्स्ना तिमी ।
ज्ञानी कोमल भावना रसिक छौ जो स्वच्छ सौदामिनी
ल्याएको कविले उपार्जन कला मन्दाकिनी, दामिनी
काव्यालोक विमर्श पावन कला देखेर शेताम्बरा
आँखामा मणि चम्किने निशिथमा छौ चञ्चला वाग्धरा ।
आफैँ छौ वरदायिनी अनसुया हौ छाल नारायणी
पायो माणिक चित्तले तरलता उत्साह कात्यायनी
खोल्साबाट बगेर छाल रमणी बन्छ्यौ स्वयं निर्झरी
बन्ने साउन मासमा उधुमले हौ उर्लेर बर्खे झरी ।
अविचल आस्था मणि
म्याग्दे, तनहुँ, नेपाल ।




















