साँच्चै प्रेम परागको मगमगी भर्दिन्छु लिन्छ्यौ भने 

आशीर्वाद समेत माग्छु मनले हाँसेर दिन्छ्यौ भने 

नाता उत्तम दाजुसाथ बहिनी सत्कारकी माधुरी 

पूजा पावन गर्छु भन्छ सजिलो संस्कार चोखो भरी ।


डाकौँ राेचक भावना अब दुबै शृङ्गारको चेतना 

पाऔं पोषक चाहना विजयका उत्कृष्ट संवेदना 

खोजौं सार्थक प्रेरणा प्रकृतिमा उत्पन्न गर्ने कथा 

उड्ने फर्फर फर्फरी गगनमा रोजी मजा सर्वथा ।


मानेको मनकामना भगवती आराध्य पुष्पाञ्जलि

गर्दै अर्पण सामुमा छु अहिले जोडी बसें अञ्जली 

बग्दैछन् सललल्ल सल्ल सरिता सेती र मादी जुटी 

जानें निर्मल झन् सफा सडकको आरामदायी कुटी ।


आस्थाको अनुरञ्जना मिसिलमा लाै खोट पायौ भने 

हाने चप्पल हुन्छ त्यो बखतमा यो बात ऐले भनें 

आँखा गाजल चम्किए अधरमा लालित्य ज्ञानाञ्जन 

गर्छ्यौ कीर्तन भोरमा जब उठी होस् कोइली गुञ्जन । 


तीखा भेदक वाण छन् नजरका पार्ने सधैँ घायल 

चल्दैछ्यौ गजगामिनी नियमले कस्ने गरी कायल 

दैवाधीन छ भेटघाट मिल्दा सफा साइत 

आई साथ बस्यौ खुली बगलमा यो वारमा आइत ।


एकै धर्म र कर्म हो उभयको हौँ राष्ट्रका सेवक 

गर्छौं काम इमान साथ नडगी माधूर्य अन्वेषक 

खोल्छौं आँत सफा खुलस्त सजिलै पाइन्छ जो आखिर

आत्माको मनसाय पूर्ण छ हुँदै यो प्रेमका खातिर ।


कुर्दामा कविले बिते पल त्यसै होला सवारी भनी 

लाखौँ उन्नत जन्मका सिलसिला चल्ने तयारी पनि आत्माको गहिराइमा नियतको लेखिन्छ स्वर्णाक्षर 

लागौँ प्राकृत प्यारतर्फ सुकिलो त्यागेर आडम्बर ।


आस्थाका कविता विशिष्ट रमिता भर्छन् रमाई अति सेवा सज्जनको उपास्य छ हुँदै मिल्दै गयो सम्मति 

आँखा निर्मल देख्छु बाल रसिलो खोज्ने दयामा नमी 

नातामा बहिनी उदार मनकी देखिन्न केही कमी ।

आँखामा मणि चम्कियो कुशल जो भर्ने भरोसा बनी 

भागे पुत्पुत अन्धकार डरले जाज्वल्ल्य ज्योत्स्ना तिमी ।


ज्ञानी कोमल भावना रसिक छौ जो स्वच्छ सौदामिनी 

ल्याएको कविले उपार्जन कला मन्दाकिनी, दामिनी 

काव्यालोक विमर्श पावन कला देखेर शेताम्बरा 

आँखामा मणि चम्किने निशिथमा छौ चञ्चला वाग्धरा ।


आफैँ छौ वरदायिनी  अनसुया हौ छाल नारायणी

पायो माणिक चित्तले तरलता उत्साह कात्यायनी 

खोल्साबाट बगेर छाल रमणी बन्छ्यौ स्वयं निर्झरी 

बन्ने साउन मासमा उधुमले हौ उर्लेर बर्खे झरी ।


अविचल आस्था मणि 

म्याग्दे, तनहुँ, नेपाल ।