इनरुवा।०८१/१२/५  नारी स्रस्टा समाजकी  अध्यक्ष  तथा कोशी लघुकथा समाजकी अध्यक्ष चर्चित लघुकथाकार ममता मृदुल ज्यूको नेतृत्वमा  भारत नेपाल साहित्य सांस्कृतिक महोत्सव २०२५ मा लघुकथा गोष्टिका लागि करिब एक महिना देखिको व्यवस्थापन पश्चात् एउटा १३ जनाको टिम ०८१/१२/५ गते दिनको करिब ५ बजे इनरुवा ,सुनसरी ,बबियामा लघुकथाकार रमेन्द्र कोइरालाको घरमा खाना खाएर तथा भोलिपल्टको लागि रोटी बोकेर जोगबनीको लागि हिंड्यो । खाना र रोटीको लागि श्रीमती सावित्री कोइराला र छोरी रश्मि कोइरालाको विशिष्ट सहयोग रहेको थियो। 
     राति आठ बजेतिर जोगबनी पुगियो । जोगबनी पुग्दा यो टोलीमा निम्न लघुकथाकारहरु जम्मा भएका थिए : 
१.ममता मृदुल (ग्रुप लिडर)                  २. ध्रुव मधिकर्मी 
३. दीपक लोहनी     ४.रमेन्द्र कोइराला   ५. शोभा लोहनी                        ६. ध्रुवराज थापा     ७.धन्वन्तरी मिश्र    ८. विन्दिया लम्साल 
९.नारायण लम्साल  १०. मुना रावल  ११. एन्जल निलु
१२. ललिता दोषी      १३. बिक्रम भक्त जोशी 
 १४ .गोबिन्दमानसिं कार्की १५. ममता कार्की 
 १६ .शारदा शर्मा १७. रोशन पराजुली   १८ शुक्रराज कुँवर  १९ राधा चालिसे
    हामी जोगबनीमा आवश्यक हुनेले सिममा प्याक हाली तथा आवश्यक सामान किनी भारतीय समय ८.४५ मा सिमान्चल एक्स्प्रेसबाट दिल्लीको लागि हिंड्यौं ।
हामी तीनवटा केबिनमा सत्रजना छरिएर बसेका थियौं । दुईजना विक्रमभक्त जोशी र नारायण लम्साल एसीमा गए भने अरु स्लिपरमा थियौं ।
      एक केबिनमा छ जनाको स्लिपिङ सिट हुँदो रहेछ ।तर स्लिपर नाम मात्रको थियो ।एक सिटको टिकट एक व्यक्तिले किने पनि मान्छेहरु खाली देख्यो कि  बसी हाल्थे । आफूले गुडुल्की मार्नुपर्ने । कसको टाउको कहाँ कसको खुट्टा कहाँ ? अलिकति पनि खाली ठाउँ भेट्यो भने स्लिपरको टिकट नलिएकाहरु पनि घुसी हाल्थे । शौचालयसम्मको बाटो पनि प्याक रहन्थ्यो । मुश्किलले रात कट्यो । 
     ०८१/१२/६ 
   ६ गते रेलमै बिहान भयो । ६ बजेतिर हामी पट्ना पुगिसकेका थियौं ।हाम्री लिडर ममता बहिनी आफ्नो समूह भएको केबिनमा गएर फाल्तु मान्छेलाई हटाउन थाल्नु भयो ।सबै सरक्क हंँटे । सोझालाई पेल्ने बलियोदेखि भाग्ने बानी रहेछ । यो कुरा भुक्तभोगी  ममता बहिनीलाई थाहा रहेछ ।उहाँले अनावश्यक बस्न आउनेलाई हकारेर हंँटाएपछि हामीलाई  राहत भयो । दिउँसोदेखि त हामी पनि चलाख भयौं । हामी सिट खाली नछोडी खुट्टा पसारेर बस्न,सुत्न थाल्यौं । 
     उज्यालो भएपछि अनौठो दृश्य देखियो । हरेक सामग्री बेच्ने मानिसहरू घरीघरी आउन थाले । लयदार आवाजमा कराउँथे । उनीहरूको आवाज रोचक थियो । जस्तै :
झालमुरी नास्ता,झालमुरी । 
पानी पियो पानी,पानी ए पानी ।
चाय ए चाय ।चाय लेमन टी चाय,।
ओए पानी बोतल ठन्डा ठन्डा ।
अन्डा बिरयानी खाना भैया अन्डा बिरयानी , अन्डा बिरयानी खाना  ।
चना खाजा हरा चना खाजा खाइए । 
ठन्डावाला  मेङ्गो ओ ठन्डा  ।
 चनेकी दाल खाइए दाल ।
 निम्बु खाइए लाल टमाटर वाला ।
  यसरी लयदार आवाजमा सामान बेच्दै बिक्रेताहरु अगाडिको डिब्बातिर जान्थे । हामी अरु सामान नकिने पनि घरीघरी पानी र चिया किनेर पिउथ्यौं ।
      रेलको बाटो पनि अनौठो थियो । घरिघरी बजार आउँथ्यो नभए खेतैखेत थियो । खेतमा धेरैजसो गहुँ खेती,आखाँले भ्याएसम्म । कुनेबेला आलु खेतीआउँथ्यो। उखेलेको,बोरैबोरा । दिनभरि रेलमा हिन्दा पनि खेतैखेत,सपाट,मैदान थियो ।डाँडा,काँडाखोला,झरना वन जङ्गल हरियोपरियो केही थिएन । उराठलाग्दो  थियो । कुनै स्टेशनमा रेल थोरै समयको लागि रुक्थ्यो, करीब दुई मिनेटसम्म ।मानिसहरु छुट्ने डरले आधा घण्टा पहिलेदेखि सबै ढोकामा जम्मा हुन्थे । त्यत्रा मानिसहरू कसरी त्यति थोरै समयमा चढ्ने र उत्रने कार्य समाप्त गर्दा रहेछन् ? पहिले सुन्दा अचम्म लाग्थ्यो अहिले प्रत्यक्ष देख्न पाइयो ।कोही एक सेकेन्ड पनि ढिलो गर्न चाहँदैन थिए । लाग्थ्यो छुट्यो कि गयो ।
      रातिको ९.३० मा दिल्लीको आनन्द बिहार स्टेसनमा हामी उत्रियौं । प्लेटफर्ममा दुई घन्टा विश्राम गरेर रेल्वेको केन्टिनमा प्रती व्यक्ति १६५/ भारु तिरेर खाना खायौं । यहाँको सिस्टम अनौठो थियो । पैसा तिरेर कुपन लिने,त्यो कुपन किचेनमा दिएर खाना लिने अनि अर्को कोठामा गएर खाना खाने ।फेरि थप्ने चलन छैन । खाइसकेर थाल आफै उठाएर राख्ने । अरु ठाउँको जस्तो खानाको थाल ल्याउने,थप्ने,उठाउने चलन थिएन ।
   त्यसपछि गाडीमा हरिद्वार जाने चोक पुग्यौं । जताततै बसै बस । जहाँ जाने हो त्यता जाने बसको लाइन लाग्थ्यो । हामीले पनि निकै पर्खेर १२.३०मा हरिद्वार जाने बसमा चढ्यौं  ।
०८१/१२/७
  बिहान ५.३० मा हरिद्वार पुगियो ।  उत्रने बित्तिकै चिसो हावाले स्वागत गर्यो । बस स्टेसनदेखि अलि पर hotel modi in मा तीनवटा रुम लिएर बस्यौं ।  होटलमा फ्रेस भएर हामी गंगा नुहाउन गयौं । गंगा नुहाउन जाँदा हामी  दुई ग्रुप भएछौं । दिपक लोहनी भएको ग्रुप सडकको सिधै पुलतिर गयो भने ममता भएको ग्रुप वरैबाट सानू बाटोबाट छिरेर गंगा पुग्यो ।दिपक लोहनीको ग्रुप नुहाएर होटेल पुग्यो र खाना खाएर विश्राम गर्न थाल्यो ।
  ममता र म समेतको ग्रुप  ८.३० मा गंगा नुहाएर मनसादेवी दर्शन केवलकारबाट गरयौं । यो मनको इच्छा पूरा गर्ने मन्दिरको नामले जानिंदो रहेछ । केवलकारबाट  ३ मिनेटमा मन्दिर पुगिदो  रहेछ । हिंडेर पनि मानिसहरु गैरहेका थिए ।
    त्यसपछि तल उत्रिएर कम्पनिले नै गाडीबाट चन्डिका देबि लग्यो । १२.०० मा चन्डिका देबि केबलकारमा ५ मिनेटमा पुगियो । चन्डिका देवीको दर्शन गरेर २.०० बजे होटेल पुग्यौं र खाना खायौं । 
      ३ बजेतिर सिटी रिक्सामा ममता बहिनीको नेतृत्वमा राम लक्ष्मण झुला ऋषिकेश पुगेर  लघुकथा वाचन तथा प्रमाणपत्र वितरणको कार्यक्रम गर्यौं । यो झुला भनेको हाम्रो जताततै पाइने झोलुङ्गे पुल रहेछ । नजिकको तीर्थ हेला भने झैं हाम्रो झोलुङ्गे पुलमा वास्ता छैन उताको झुलामा ज्यान छ ।झोलुङ्गे पुल जस्ता दृश्यलाई केही नाम दिएर प्रचार गर्ने हो भने हाम्रोमा पनि राम्रो पर्यटन हुने थियो ।
    ७ बजे होटेल आइयो । बाहिर चिया , खानाको कार्य सकेर   होटेलमा जम्मा भयौं । ।१२ बजे रेल स्टेसन पुगेर १२.३० मा हरिद्वार- मथुरा चढियो एसिमा । सुत्ने काम थिएन । दौडादौड थियो ।किनभने भोलिपल्ट बृन्दावनको मुख्य कार्यक्रम भ्याउनु थियो । हाम्री ग्रुप लिडर ममता जति फूर्ती उनको ग्रुपको यात्रा पनि त्यतिकै फूर्तिलो । मलाई त रकेट नेपाल भारत साहित्य यात्रा नाम दिउँ जस्तो लागेको थियो ।
      एसीमा चिसो लाग्ला भन्ने डर हामी केहीमा थियोे । तर त्यतिसारो चिसो हुँदो रहेनछ ।
     मथुरा पुगेपछि बृन्दावनको लागि  एउटा गाडीमा जोडी जति भिन्दै एउटा होटेल र बाँकी  महाराजा अग्रसेन आश्रम बृन्दावनमा व्यवस्था मिलाए अनुसार पुगियो ।
०८१/१२/८
८ गते भारत नेपाल साहित्य सांस्कृतिक महोत्सव कार्यक्रममा जानुपर्ने थियो । अग्रसेन आश्रममा फ्रेस भएर हामीले तीनवटा  रिक्सा लिएर रासलिला एकेडेमी लैजा भन्यौं । तर त्यसले एकेडेमी नबुझेर रासलिला बिहार बुझेर मन्दिर लग्यो ।पाँच मिनेटमा पुग्ने ठाउँमा आधा घन्टामा पनि पुगिएन । बल्लबल्ल  एकजना बुज्रुक ज्यूलाई सोधेर उनको नक्सा अनुसार कार्यक्रम स्थल पुग्यौं । जिल्ला अस्पताल वा सौ सैया अस्पतालको छेउ भनेपछि बल्ल  रिक्सावालाले कार्यक्रम स्थल गीता शोध भवन रासलिला एकेडेमी बृन्दाबन पुर्याइदियो ।
        आसन ग्रहणको कार्य हुँदैथियो । हामी सहभागी भयौं । हाम्री समूह नेता ममता ज्यूलाई मन्चमै बोलाए । आयोजकको एक पक्ष तथा नेपालको नेतृत्व गर्ने चारु,राग, विरागका जन्मदाता आदरणीय डा देवी पन्थी ज्यू र गजल शिरोमणि डा घनश्याम परिश्रमी ज्यूहरुले मन्च शोभायमान गर्नुभयो । उद्घाटन गर्दा ममता मृदुल,डा देवी पन्थी,डा घनश्याम परिश्रमी ज्यू हरुले महत्त्वपूर्ण भूमिका निभाउनु भयो ।उहाँहरुले विदेशी भूमिमा पाएको मान सम्मान हेर्दा मन गदगद भयो । उद्घाटन पश्चात् उहाँहरुले नेपाललाई चिनाउने महत्त्वपूर्ण कुरा गर्नुभयो । ममता मृदुलले नेपालीको संस्कार ,पाहुना सत्कार,छोरीलाई मान्ने चलन,आदि ,देवी पन्थीले नेपालको धर्म,मन्दिर,मेला आदि बारे र घनश्याम परिश्रमीले नेपाल र भारतको धर्म,भाषा बारे समानता   जस्तैः गाल,गाला , हाथ,हात,आँख,आँखा आदि बारे बोल्नु भयो ।
     उद्घाटन सत्रपछि ममता मृदुलको नेतृत्वमा लघुकथा गोष्ठी शुरु भयो ।  भारत नेपाल साहित्य सांस्कृतिक महोत्सव -2025 को पहिलो दिन 21 मार्च 2025 (२०८१ चैत्र ८ गते)का दिन उद्घाटन पश्चात् एक घन्टा  लघुकथाले मन्च पायो । मन्चमा बस्ने र सन्चालन गर्ने मौका नेपाली पक्षले पायो जसलाई सुनौलो अवसर मान्नुपर्छ । निम्न लघुकथाकारहरुले निम्न भूमिका निभाएका थिए  :
कार्यक्रम सन्चालक तथा सभापति : ममता मृदुल
प्रमुख अतिथी: ध्रुब मधिकर्मी
विशिष्ट अतिथिहरु : गोबिन्दमान सिं कार्की,रमेन्द्र कोइराला ,विक्रमभक्त जोशी
लघुकथा वाचन गर्नेहरु :
१. दीपक लोहनी -नेपाल    २.रमेन्द्र कोइराला  -नेपाल
३. शोभा लोहनी  -नेपाल     ४. ध्रुवराज थापा  -नेपाल
५धन्वन्तरी मिश्र -नेपाल      ६.सुष्मा आचार्य  -नेपाल
 ७.कैलाश सिग्देल -नेपाल    ८, विन्दिया लम्साल  -नेपाल
९, नारायण लम्साल  -नेपाल   १०, मुना रावल -नेपाल
११, एन्जल निलु -नेपाल       १२ ललिता दोषी  -नेपाल
१३ बिक्रम भक्त जोशी-नेपाल १४.विमल शर्मा पौडेल  -नेपाल
१५ .....................     १६ शारदा शर्मा -नेपाल
१७ रोशन पराजुली  -नेपाल   १८ शुक्रराज कुँवर -नेपाल
१९ राधा चालिसे -नेपाल        २०.डा ममता शर्मा  -भारत
२१.डा भोलाप्रसाद आग्नेय-भारत  २२.डा आदित्य कुमार अंशु-भारत आदि । वाचन पश्चात् प्रमुख अतिथि ध्रुब मधिकर्मीको सारगर्भित वक्तव्य तथा सम्मान र प्रमाणपत्र सँगै लघुकथा गोष्ठी समाप्त भयो ।
     त्यसपछि गजल,कविता आदिको कार्यक्रम शुरु भयो । तीन बजेतिर खाना खाएर पाँच बजेसम्म त्यहाँ बस्यौं । केही साथीहरू आफूखुसी घुम्न जानू भयो भने पाँच बजेतिर हामी केही साथीहरू ध्रुबराज थापा सरको गुगलमेपबाट हिंड्दै अग्रसेन आश्रममा पुग्यौं । 
०८१/१२/९
हामी ९ गते प्रेम मन्दिर बिहानै नौ बजे पुग्यौं । तर दिउँसो त्यति आकर्षक नदेखिने हुँदा हामी केही निस्केर १० बजेतिर कृष्ण जन्म भूमी मथुरा पुगेर १२ बजेतिर कार्यक्रम स्थलमा आयौं । बिहान साथीहरू  तीन चार ग्रुपमा छुट्टीएर घुम्न जानुभयो । दिपक लोहनी ग्रुप ,गोबिन्दमानसिंह ग्रुप,म भएको ग्रुप ,ममता मृदुल ग्रुप आदि । कोही बाँके बिहारी,कोही जन्मभूमि मथुरा ,कोही आगरा , कोही रुममै बसे ।
     हाम्रो ग्रुप बाह्र बजेदेखि तीन बजेसम्म कार्यक्रममा सहभागी भएर घुम्न निस्कियो । यो ग्रुपमा म,ध्रुब मधिकर्मी,ध्रुबराज थापा,धनवन्तरी मिश्र ,शुक्रराज कुँवर थियौं । हामी पागल बाबा मन्दिर गयौं । यो मन्दिर अदभूत थियो । नौ तला थियो । माथिल्लो तल्लामा भक्तहरुले आफ्ना इच्छाहरु भित्तामा कोरेका थिए । इच्छाहरु यस्ता रोचक थिए :  "हे पागल बाबा मेरी एक पागल है,उसकी हरेक इच्छा पूरा कर दो । मेरी सरकारी नोकरी दो ।" "हे पागल बाबा। मेरी और मेरी पत्नीकि सब इच्छा पूरा कर दो । मेरी और मेरी पत्नीको कर्जा से मुक्त कर्दो एक अच्छा सा घर दो सुन्दर सा बच्चा दो। "यस्तै परीक्षामा राम्रो नम्बर ,mbbs पास,भाग्य सुधार आदि जस्ता इच्छाहरु कोरिएका थिए । उनीहरूलाई पागलबाबाले इच्छा पूरा गरिदिन्छन भन्ने आशा थियो ।
  त्यसपछि बेलुका प्रेम मन्दिर गयौं । ८.३० सम्म मात्र खुल्दो रहेछ ।यो पनि अद्भुत थियो । कृष्णको जीवन लिलाको प्रदर्शन आकर्षक ढङ्गले राखिएको थियो । मन्दिरको वरिपरि कृष्णको बाललिला,राक्षसहरु मारेको,गाईलाई मुरली सुनाएको,गोबर्धन पर्वत उठाएको,गोपिनीहरुसँग रासलिला गरेको आदि मुर्तिहरु,बिजुलीको उज्यालोमा साह्रै आकर्षक देखिन्थ्यो । त्यस्तै पानीको फोहोरामा कृपालु महाराज आएर राधे राधे भजन गाएको,लाग्थ्यो भगवान नै प्रकट भएको ।यस्तै सुन्दर दृश्य हेर्दै अग्रसेन आश्रम गयौं ।र रात बिताउने कार्यक्रम गर्न थाल्यौं ।
१२/१०
   बिहान ५ बजे बृन्दाबनबाट अरु गाडीमा र म,ममता मृदुल ,शारदा शर्मा र विक्रमभक्त जोशी रिक्सामा मथुरा स्टेशन हिंडियो । बृन्दावन छोड्ने बेलामा यसका केही विशेषताहरु उल्लेख गर्नु आवश्यक ठान्दछु ।  प्रेम मन्दिर,पागल बाबा मन्दिर,बाँके बिहारी,चौरासी कोष परिक्रमा आदि आकर्षक पक्ष हुन भने ढलको फोहोर,जताततै फोहोर तथा  दुर्गन्ध नकारात्मक पक्ष हुन् । यो हेर्दा यो भन्न मन लाग्यो : 
बृन्दावन शहरमे राधाकृष्णके अलावा फोहर भि बसती है
गन्दगी है दुर्गन्ध है ढलमें बहुत फोहोर बसती है
 त्यस्तै सडकको पेटी ,चोकमा जताततै सुतेर रात बिताएका दृश्यहरु, हेल्मेट बिना बाइकको सवार आदि विकृती पक्ष हुन् । यस्तो पवित्र शहरमा यी कुरा हुनु चन्द्रमामा ग्रहण जस्तो भन्न सकिन्छ । 
      मथुरा स्टेशनमा हामी पुगेर अगाडि गएकालाई भेट्न झमेला पर्यो । गेट नं,प्लेट फर्म नं थाहा पाउनै कठिन । बल्लबल्ल  उनीहरुसँग भेट भयो । 
        हाम्रो रेल आउने समय ६.५५ थियो। ९.२५ सम्ममा पनि आएको थिएन । हामीलाई शौचालय जानुपर्ने समस्या थियो ।त्यो प्लेट फर्ममा एउटा पनि शौचालय थिएन । बरु हामी केही ९.४० मा अर्कै रुकेको ट्रैनमा गएर डराइ डराइ दिशा पिसाब गर्यौं । रेल हिंडि जान्छ कि भन्ने सातो गएको थियो  । विसर्जन पछि ठूलो राहत भयो  । वल्ल वल्ल १० बजे हामी चढ्ने प्रयागराज - लालगढ रेल आयो । यो एसी रेल थियो । हामी सबै त्यसमा चढ्यौं।
     मेरो नम्बर M3L79  थियो । M 1 र M 3 मा सबैको टिकट थियो ।३.१५ मा जयपुर पुगियो ।
    हरिद्वारमा चिसो हावाले स्वागत गरेको थियो भने यहाँ तातो हावाले स्वागत गर्यो। जयपुर राजस्थानको राजधानी रहेछ । राधा चालिसे मार्फत पुलिसको सहयोगबाट स्वागत होटेलमा वास वसियो । यो सरकारी होटेल थियो । केही क्षणको विश्राम पश्चात् शहर घुम्ने भन्दै साथीहरू आ आफ्नो हिसाबले ग्रुप मिलाएर घुम्न निस्किए ।त्यसदिन आइतबार बजार बन्द रहेछ ।बापु बजार नाम चलेको बजार थियो । तसर्थ माहारानी मार्केट खुला हुन्छ भन्दै रिक्सावालाले अंग्रेजीमा कन्भिन्स गर्यो । प्रति व्यक्ति  पाँच रु मात्र लाग्छ भनेर फकायो । हामी पनि हेरौं न त भन्दै दुई रिक्सा तयार भयौं ।उसको पालो एउटा कपडा र केही जुत्ताहरू भएको घर भित्र लग्यो ।त्यसैलाई महारानी मार्केट भन्ने नाम दिएको रहेछ ।  हामीले खुल्ला बजार खोजेका थियौं ।  यो रिक्सा वालाले गलत ठाउँमा ल्यायो भन्दै पून स्वागत होटेलमा लैजा भन्यौं ।अर्को मार्केट लैजान्छु भन्दै थियो हामी मानेनौं । पून स्वागत होटेलमा आइयो । भएका मध्ये हामी चार ध्रुब मधिकर्मी,ध्रुब राज थापा,शुक्रराज कुँवर,म मिलेर हलका नास्ता खाएर खाना खायौं स्वागत होटेलको छेउमा र १० बजे रुममा गयौं ।रोशन पराजुली मितको घर जानु भएको थियो ।
०८१/१२/११
     बिहान चिया र खानापछि नौ बजे जयपुर भ्रमणमा जाने कुरा थियो होटेलले अघिल्लो दिननै ६००/ का दरले लिइसकेको थियो ।  त्यो भन्दा पहिले हामीले पून ममता मृदुलको नेतृत्वमा रचना वाचन र प्रमाणपत्र वितरणको काम गर्यौं । यहाँ लघुकथा,गजल,कविता स्व इच्छा वाचन थियो ।
एघार बजेतिर होटेलले व्यवस्था गरे अनुसार  बस आयो । लोहनी दम्पती,बिन्दिया लम्साल,एन्जेल निलु ,नारायण लम्साल  ,मुना रावल १५० को दरले भिन्दै घुम्न गए । हामी चैं स्वागत होटेलले मुर्गा बनायो भन्दै बसमा घुम्न गयौं ।               
      बसमा गाइड पनि थियो । हाम्रो मात्र ग्रुप होला भनेको अरु मान्छे पनि हालेको रहेछ । उसले  पुराना जयपुरतिर तथा आमेरतिर लग्यो । त्यहाँ सबै इटा रङ्गको घरहरु थिए र दरबार पनि । सबैले घरमा यस्तै रङ लाउनु पर्ने । त्यसैले पिङ्क सिटी भन्दा रहेछ्न । पसलमा होडिङ बोर्ड छैन ।पिङ्कलाइ सेतोले पोतेर कालो अक्षर ले दोकानको नाम लेख्नुपर्ने ।
      बसले हामीलाई निम्न स्थानमा घुमायो :
१.जन्तर मन्तर : अद्भुत कला थियो त्यो । घामको छायाको आधारमा समय हेर्ने जयसिहले बनाएको । डिग्री ,समय,राशी हेर्ने।ज्योतिषीले यसैबाट समयको आफ्नु काम गर्थ्यो किनकी त्यतिखेर घडी थिएन । राजा महाराजाले मात्र प्रयोग गर्न पाउँथे ।
२. सवाइ मान सिंह द्वितीय संग्रहालय सिटी पेलेस : महल हेर्न टिकट काट्यौं तर बिदेशी भनेर छिर्न दिएन ।पैसा फिर्तामा झन्झट गर्यो । बल्ल बल्ल फिर्ता दियो । गाइडले अरुलाई घुमाएर ल्याउन्जेल हामी त्यहीँ बसिरह्यौं ।
 बाटोमा गाइडले राज पेलेस होटल देखायो जहाँ एक कोठाको एक रातको एक लाख लिन्छ भन्यो ।
     जताततै रातो घर ।पुरानो दरबार भरी ।त्यसपछि मात्र अरु कलर  देखिन्थ्यो ।
३.भेजिटेबल कलर भवन : पृन्ट नहुँदा भेजिटेबल कलर बनाउने तरिकाले पहिले सारी तथा अन्य लुगाहरुमा पृन्ट गरिन्थ्यो भन्दै सिकाउने मान्छेले प्रदर्शन गरेर देखायो । चाहिन्छ भने भित्र गएर किन्नु होला भन्यो । भित्र रजाइ,कुर्ता सुरुवाल आदि थियो । कोही किन्न थाले, धेरै महँगो देखेर कसैले फँसेको अनुभव गरे ।अठाइस सयको रजाइ ,अठारसयको कुर्ता थियो । 
 त्यसपछि ठाउँ ठाउँमा राजाले बनाएका दरबारहरु,रानी,महारानीका दरबारहरु हेर्दै अगाडि बढियो ।४.नाहर गढ किल्ला : सिकार महल(नाहर गढ किला भित्र ) पुग्यौं । यहाँ चैं एकेक जनाले टिकट काटेको हुनाले विदेशी भनेर चिनेन । यो नौ रानीको लागि बनाइएको महल रहेछ । अग्लो ठाउँमा थियो ।माथ्लो भागबाट जयपुर शहर देखिने । राजा रानीहरु, नोकर चाकरलाई लिएर सिकार खेल्न आउँथे ।त्यो हेरेर अलिक पर रहेको केन्टिनमा चिया खाना आदि खाए । त्यसपछी जयगढ किल्ला र शाही पेलेस लग्यो । विदेशी भनेर झन्झट गर्छ भन्दै  बाहिरबाट हेरियो ।
५.जल महल: राजस्थानको जयपुरमा अवस्थित जलमहल भारतको एक अनुपम वास्तुशिल्पीय नमूना हो । मानसागर तालको बीचमा रहेको यो महल १८औँ शताब्दीमा निर्माण भएको मानिन्छ । कसले निर्माण गरेको भन्ने बारे फरक फरक मत देखिन्छ । कोही जयपुरका महाराजा मदनसिंहद्वारा निर्माण गराइएको भन्छन्, कोही सवाई जयसिंह द्वियीयले त कोही प्रताप सिंहले । तालको बीचमा चिटिक्क परेर बसेको यो सुन्दर महल पाँच तलाको छ भन्दा अचम्म लाग्छ , किनकि देखिन्छ दुई तला मात्र । महलको तीन तला पानीमुनि डुबेको अवस्थामा छ अरे । हेर्दा गज्जबको छ ।
इन्फर्मेसनको श्रोत: बिक्रम भक्त जोशीको फेसबुक)
 ६.हावा महल:
हवामहल' एउटा अनुपम कारिगरीको नमूनाका रूपमा रहेको थियो । भिडभाडयुक्त सडकको छेवैमा रहेको रातो र गुलाबी बलौटे ढुङ्गाबाट बनेको यो महल जयपुरको सिटी प्यालेसको छेउमा अवस्थित छ ।
महाराजा सवाई प्रताप सिंहले सन् १७९९ मा यो महल बनाउन लगाएका थिए । हवा महलको वास्तुशिल्प अद्वितीय छ । यसमा धेरै स-साना झ्यालहरू र बाल्कनीहरू छन्, जुन झ्वाट्ट हेर्दा माहुरीको चाका जस्तो देखिन्छ।
यस महलको पाँचतले बाहिरी भागमा ९५३ स-साना झ्यालहरू (झरोखाहरू) छन् । यी झ्यालहरूको मूल उद्देश्य शाही महिलाहरूलाई तलको सडकमा हुने दैनिक जीवन र मनाइने चाडपर्वहरू आफू छेलिएर अवलोकन गर्न दिनु थियो, ताकि तल सडकबाट तिनीहरू नदेखिउन् । यो वास्तुकलाको विशेषता भनेको यिनले 'भेन्चुरी इफेक्ट' प्रदान गर्दछ । जसका कारण चिसो हावा पार गर्न मद्दत पुग्छ, जसले गर्दा महलभित्र गर्मीमा शीतलता प्रदान गर्न सघाउँछ । 
 धेरैजसो मानिसहरूले हवा महललाई सडक तर्फबाट हेर्छन् र ठान्छन् कि यो दरबारको अगाडिको भाग हो । वास्तवमा यो पछाडिको भाग हो । यसको फ्रन्ट भाग यसको ठिक अर्को पाटोमा रहेको छ ।
(इन्फर्मेसनको श्रोत: बिक्रम भक्त जोशीको फेसबुक)
७. बिरला मन्दिर: अन्त्यमा बिरला मन्दिर गयौं ।  
     बिरला मन्दिरलाई लक्ष्मी नारायण मन्दिर पनि भनिन्छ । जुन १९८८ मा बि.एम. बिरला फाउन्डेसनद्वारा स्थापना गरिएको हो ।  यसैले  बिरला मन्दिर भन्ने प्रसिद्ध रहेको छ  ।   मोती डूँगरी किल्ला रहेको पहाडीको फेदीमा रहेको यस मन्दिरको विशेषता भनेको सेतो मार्बलद्वारा निर्मित भव्य अनि सुन्दर एवं कलात्मक संरचना । यस मन्दिरका भित्ताहरुमा हिन्दू धर्मका पौराणिक कथाहरुको चित्रण गरिएको छ। यस मन्दिरका तीन गुम्बज विभिन्न तीन धर्मको प्रतीकका रूपमा रहेका छन्, जसलाई धार्मिक सहिष्णुतालाई झल्काउन गरिएको प्रयासका रूपमा लिन सकिन्छ । जयपुरका महाराजले एक रूपियाँमा मन्दिर निर्माणका लागि आवश्यक विशाल भूमि उपलब्ध गराएर धर्मप्रतिको आफ्नो आस्था तथा उदारता उजागर गरेका छन् ।
      त्यसपछि बाहिरै खाना खाएर  स्वागत होटेल आइयो । कोठाबाट सामान बाहिर बिहानै निकालेको थियो  केही बेर फ्रेस भएर  छ रिक्सामा दिल्ली जाने  बस स्टेन्डमा गयौं ९ बजेतिर ।
       यहाँनिर दुर्भाग्यवश तीन जना साथीहरू नारायण लम्साल , बिन्दिया लम्साल ,मुना रावल छुट्नुभयो । ममता मृदुल ,शारदा शर्मा आदि खोज्न गए । पुलिसलाई माइकिङ गर्न लगाएर भेटे। उनीहरू रिक्सामै बसिरहेका रहेछन्  । भेटेर ल्याए । त्यसपछि आरामसाथ बसमा अघि बढियो ।राती १२.३०मा  चिया,खाना खान बाटोमा केही बेर रोक्यो । 
०८२/१२/१२
    ३.३० मा दिल्ली पुगियो ।बिराटनगर निवासी प्राज्ञ विवश पोख्रेल सरकी श्रीमतीलाई( क्यान्सर बिरामी) राजिब गान्धी हस्पिटलमा राखेको थियो । भेट्न जाने इच्छा थियो तर समय मिलेन । ममता बहिनी मात्र जानुभयो । 
प्लेट फर्मको सूचनामा 8.10 मा जोगबनी जाने रेलको समय देखाएको थियो त्यतिखेर आउँछ भनेर रुङेका थियौं धन्न पहिले नै रेल आउने प्लेट्फर्ममा गैयो । नभै छुट्ने रहेछ किनभने 8.10 मा त हिंडि पो हाल्यो । स्लिपर भएपनि सामान्य टिकट काटेका मान्छेहरूको दिनभरी भीड लागिरह्यो । आफूले गुँडुल्की मारेर सुत्नु पर्यो ।भोलिपल्ट ८ बजेतिर जोगबनी पुगियो ।
      केही साथीहरू आफ्नै तरिकाले जाने भन्दै छुट्टिए । काठमाडौ जाने आठ जना र म बिराटनगर बस स्टेन्ड पुग्यौं । काठमाडौको रात्रि बसको टिकट काटेर धनकुटा लज दिनभरिको लागि लियौं । त्यहाँ फ्रेस हुने,खाना खाने काम भयो । हामी आएको सुनेर लघुकथाकारहरु मनोहर पोख्रेल सर र तारा श्रेष्ठ मेम भेट्न आइपुग्नु भयो । तारा श्रेष्ठले मैले अरु केही गर्न सकिन भन्दै सबैको खानाको पैसा तिरिदिनु भयो । उहाँलाई सबैले धन्यवाद दिए । त्यसपछि सामुहिक फोटो खिच्यौं । अन्त्यमा राधा चालिसेको एउटा ग्रुप सामान किन्न जोगबनी जानुभयो भने ध्रुब मधिकर्मी सर कोठा रुङ्गेर बस्नु भयो साथै  तारा मेम पनि बिदा माग्दै हिंड्नु भयो भने मनोहर सरले मलाई राजबिराजको माइक्रो चढाइदिनुभएकोले म पनि इनरुवा घरतिर लागें । 
    यसरी नेपालका लघुकथाकारहरुको ठूलै टिम अन्तर्राष्ट्रिय उत्सवमा भाग लिएर फर्केको छ । नेपाली लघुकथाको शैलीलाई अन्तर्राष्ट्रिय मन्चमा प्रस्तुत गरेर आएकोले यो भ्रमण ले नेपाली लघुकथाको इतिहासमा महत्त्वपूर्ण छाप छोड्न सफल हुनेछ भन्न सकिन्छ । 

रमेन्द्र कोइराला 
इनरुवा -९ बबिया,सुनसरी