वारीपारी चारैतिर सुन्दर वस्तीको बीचबाट
सदा कलकल गरि बगेर सबैको आँत भर्दै
शान्त र संयमित भई
अधिकांश जमिन सिँचित गर्दै
अनकण्टार पहाड बीचबाट
बगिरहने निहुुरेखोला!
विगत अट्चालिस घण्टा लामो समयदेखि
सेतो कपडा ओढेर एकोहोरो रोइरहेको छ
धर्ती र आकाशलाई एकनास छोइरहेको छ
भिषण वितण्डा मच्चाउनलाइ
विना आवाज बगिरहे छ निहुरेखोला!
निहुरि मुन्टी न जस्तै निहुरिएर बग्दाबग्दै
क्षणभरमै निहुराइदियो दुनियाँको शीर
कहाँ के,के हुने हो थाह छैन् बढायो पीर
छानीछानी पिडा दिँदै उर्लियो
सारा जमिन उजाडदै कूर्लियो
विचरा निहुरेखोला!
यतिसम्म उर्लियो कि
कतिलाई उठिवास गरायो
कतिलाई सदाको लागि
सुतिवास गरायो
राक्षसको रूप धारण गरेर
बनिवास पठायो
हेर्दाहेर्द वहुलायो
एक्कासि निहुरेखोला!
मान्छेको लालावाला भनेन्
घरगोठ चौपाय भनेन्
एक अर्काको कुरा सुन्दै नसुन्ने गरि
एकोहोरो गड्गडायो
अकल्पनीय रुपमा
विध्वंस गर्न तुरुन्तै हड्बढायो
हेर्दाहेर्दै बाँदर लड्ने भीर र
खेत मरुभूमि बनाइदियो
निहुरे खोलाले!
पाकेको धान बाली र मकै नभित्र्याउँदै
बर्षभरी नरित्तिने पेट खाली बनाइदियो
कत्तिलाइ करोडबाट रोडमा ल्याइदियो
रिसाउँदै त्यो निहुरेखोला ले!
कयौंको विशाल सपना बगायो
अनि कयौंको विपना भगायो
घाटको आँट बगायो
मनको विशाल फाँट बगायो
जति थियो शान मान र प्रतिष्ठा बगायो
मनोरम् गाउँको सुन्दर अभीष्ट बगायो।
कहिल्यै नदेखिएको कालो रुप लिएर
बस्ती छाड्न दौडधुप गराइदियो
आफू भन्दा पनि कुरुप बनाईदियो
दुनियाँको जीवन स्तर उठ्नै नसक्ने गरी
निहुरेखोला ले!
न पहिलाकै आवाजमा बहन सक्यो
न सधैं गडगडाहटमा रहन सक्यो
निहुरेको निहुर्यै शीर
ठडियन कहिल्यै
हात खुट्टा र ढाड
उठ्नै नसक्ने गरी भाँचियो
कहिल्यै नबिर्सने गरी
आलो घाउ बनि टाँसियो
दुनियाँको मानसपटलमा
उ त्यो "निहुरे खोला"!!




















