झुल्के घामलाई पछि पार्दै
प्रभातका सुनौला कणहरू
आफ्नै खल्तीमा राख्नुपर्छ
मिहिनेत र इमानदारको मकुट
लगाउँदै नदी जस्तै बगी रहँदा
लक्ष्य प्राप्तिमा बाधा नहुन सक्छ
तराईका फाँटहरूमा नाची रहँदा
उकालो र ओरालो सहज नहुन सक्छन्
जीवनको रङ्गमञ्चमा
अँध्यारो र उज्यालो पक्ष
अभिन्न अङ्ग जस्तै जोडी रहेको हुन्छन्
फाँट र खेतका आली जस्तै
चम्किला सृजनाहरू सूर्यास्त नभइन्जेल
निरन्तर बिच्छ्याइरहनुपर्छ
मूर्तिकारले मूर्ति बनाउनुभन्दा पहिले
जसरी बालुवा र माटो छुट्याउछन्
त्यसरी नै सधैँभरि हामीले
ठिक बेठीक छुट्टयाउनुपर्छ
सधैँ ओझेलमा रहँदा
जगतका अनेक रङ्गलाई
प्रतिस्पर्धामा उतार्नलाई
गर्मीको रापमा पनि
कोइलामाथि टेक्नुपर्छ
शिशिरको सिरोटोमा
हिउँका डल्लासँगै
लडीबडी गर्नुपर्छ
मुहारमा चमकता ल्याउनलाई
प्रगतिपथमा लम्किरहनुपर्छ
आत्मविश्वास फुलाइ रहनुपर्छ
धैर्यताको बहान चढी
सधैँ चेतनाको ढोका खोल्नुपर्छ
सत्कर्मको बिरुवा उमार्नलाई
ज्ञानको महासागरमा पौडी खेल्दै
माक्सको सोच, फ्रायड,गान्धी र
बुद्धको विचारलाई सर्लक्क निलेर
सङ्घर्षको मैदानमा
हरक्षण अर्जुन दृष्टिले
आफ्नो लक्ष्यलाई ताकी रहनुपर्छ
नम्रता नभए विद्या व्यर्थ हुन्छ
नम्रता र साहसलाई उपयोग गरेर
समयसँगको लडाइँमा तिमीले
निरन्तर अज्ञानतालाई चिरफार गर्दै
चेतनाको विगुल फुक्दै फुक्दै
अघि बढी रहनुपर्छ
पाइला सारी रहनुपर्छ ।
अम्बिका खरेल उप्रेती
विराटनगर -१२




















