रातरात सम्पन्न बन्ने सपना देखे बाल मनले,

देशै छोडे हिँडे, भरिए आशामा भोको मनले।

न त शिक्षा काम लाग्यो, न बुद्धिको भर,

भ्रष्ट तन्त्रमा झुकेको स्वाभिमान बन्यो रहर।


न्यायका गीत गाउनेहरू रमाए अन्यायमा,

बोल्ने जिब्रोहरू बिके, सिद्धान्त लट्पटिए पैसामा।

युवाको जोश बाँधियो परदेशी बन्दनमा,

देशले पढायो, रुवायो आफ्नै सम्बन्धमा।


माटो छोडेर परदेशी बने ती थाकेका आत्माहरू,

सपना मात्र होइन, विस्थापित भए आशाहरू।

भ्रष्ट नेताका मञ्चमा नाच्दै छन् विडम्बनाहरू,

भोलिको देश बनाउने पुस्ता भौतारिँदै छन् बाटाहरू।


स्वर्ग सजाउने सपना देखे अबोध ती नयनले,

आशाले बुनेका रातहरू टुक्रिए बिहानै मनले।

लुटियो पसिना, बिक्यो ईमान शासनको बजारमा,

भाँडा माझ्न परदेश पुगे, सिंगार्न आफ्नै दरबारमा।


बिचरा ती सपना बोकेका, स्वर्गको झिल्को देखेका,

दौडिए रहरहरू, हृदयमा पीडा लेखेका।

भ्रष्टताको खोलमा डुबेका ती न्यानो सपना,

भाँडा माझ्न परदेश पुगे ती कलिला सपना।


तर... अन्त्य होइन यो पीडाको कथा,

जुन दिन युवा फर्किन्छन्, बदलिनेछ व्यथा।

न्याय, इमान, र श्रमको मूल्य जब बुझिन्छ,

त्यही दिन स्वदेशमै स्वर्ग फुल्न थालिन्छ।


-चेतन खड्का

विराटनगर !१२