न हुन्छ अस्त त्याे सत्य न उदाउँछ त्याे कतै
सनातन परम् सत्य सर्वत्र छ जताततै ।
घुम्छ मानिस फन्फन्ती वरिपरि उसैकन
समय काल सम्झेर नाम दिन्छ अनेकन ।।
देवकाे देव हाे सृष्टि उही हो मूल कारण
दिने नाम र हो काम गर्नु पर्दछ धारण ।
शब्द र ब्रह्म वेदात्मा देवदेवी भए जति
उनै हुन् सबका स्रष्टा सबैका ती पशुपति ।।
सृष्टि र तत्वमा पञ्च शक्तिकाे स्राेतमा छ यो
प्राण जीव सबैमा छ रक्त सञ्चार सृष्टिकाे ।
न शक्ति मापनै हुन्छ कारण तारणा उनै
न नाम काम नै ज्ञान अनेक नामका तिनै ।।
परमाणु भए स्राेत अणु तत्व उनै हरे
जन्म र मृत्युकाे मूल अनन्त शक्ति हाे अरे।
मुटुजस्तै यता सृष्टि चल्ने नै छ निरन्तर
आराम पल नै हुन्न क्षण चल्छ सधैँभर ।।
पुलिङ्ग लिङ्गमा नाम तीनै लिङ्ग समाहित
अ ऊ म ले भनेजस्तै नपुम् स्त्री पुरुषाकृत।
छैन भेद कतै जात पात लिङ्ग र सृष्टिमा
सनातन छ यो एक भिन्न छन् दृष्टि दृष्टिमा।।
- हरिभक्त सिग्देल ' महेश '
काठमाडौ बुढानिलकन्ठ ९




















