अहिले भर्खरै
एकथान कविता सल्काएँ दैलो ढेपेर
एकैछिनमा
मेरै कोठामा पाहुना लाग्यो
उ माथी आकाशको कालो बादल आएर
ड्याम्मै ढाक्यो भाँडाको कोठा
अनि फत्फताउदै ढोका ढक्ढक्याउन आईपुगे
घरबेटी बा
र सुरु गरे ओठे रामायण
ओइ पासा ¡¡
आफ्नो त आफ्नै थियो
मेरो घर परिवारको फोक्सो पनि
बाँकी नराख्ने भयौ है ?
चुरोटको ठुटो जस्तो।
बालाई के थाहा
कागजका पानाभरी जलिरहेको
मेरो जिबन कथामा
कहिल्यै कहिल्यै मिसिएन निकोटिनको लय
मिसियो त,केवल भोकको लय
अभावको नसा
संघर्षको अम्मल।
तर
देख्नेले धुँवा देखे
ज्वाला देखेनन्
छाम्नेले अँध्यारो छामे
उज्यालो छामेनन् कवि हृदयको
ताप्नेले राप तापेनन्
अंगार तापे कविताको।
र त
केवल धुँवाको बिस्कुन झै भए
कविताका रंगहरू
अम्मलीले छोडेर हिडेको एष्ट्रे झै एक्लिए
कविका चिसा हत्केला ताता कलमहरू।
भन्न मन छ
बा! म चुरोट पिउदिन
आगो पिउछु
बा! म आगो पिउछु ।
बा! म आगो पिउछु।।
एमपी पाण्डे
बराहक्षेत्र




















