चराहरुको चिरविराहट र प्राकृतिक सौन्दर्यले हामी लठ्ठिएका थियौँ । हामीले नुहाएको मूलघाट अझ सङ्लिएको देखिन्थ्यो । माथि सुन्दर चौतारोमा भक्तहरु “बोलबम ! बोलबम !!’’ नारा लगाउँदै हिंडने तरखरमा थिए ।
पहाडको चुचुरोमा मन्दिर हिउँजस्तै टल्केको थियो । हामी सानो पाथिभरा उक्लदै थियौं । पत्नी रुपा र म आनन्दविभोर भै रहेका थियौँ । आमा उकालोमा रेलिङ समात्दै ताते गर्दै हुनुहुन्थ्यो । वारि—पारीका डाँडाकाँडाबाट शङ्खध्वनी र घण्टको आवाजले हाम्रो मनमस्तिष्कले शान्ति,आनन्द र सुखानुभूति गरिरहेको थियो । पारीपटि नागबेली बाटामा गाडिका ताँती देखिन्थे ।
“होइन कति छिटो फड्को मारेछ है बाबा यो ठाउँले, मैले त कल्पना पनि गरेकी थिइन ।” श्रीमतीले आश्चर्य व्यक्त गरिन “ऊ पारीपटी बाँदर कुद्ने भीरमा लहरै गाडी पो कुद्दा रहेछन्, रातमाटे डाँडो पनि हरियो भएछ ।” आमा बोल्नु भयो । “हेर्नु न पारी त्यो टाकुरामा अर्को कति ठूलो मन्दिर जाने हो आमा ? “लान्छस भने जाने नि, तर हिंडेर चाहिं सक्दिन म ।”
बाटाका दुबैतिर फूलमाला, खाजाघर र प्रसादीका पसलै पसल, सबै प्रसन्न देखिन्थे । पर्यटकहरुको ओहोर दोहोर थियो । लालीगुराँस मान्छेबाट भागेर अप्ठ्यारो ठाउँमा राताम्मे फुलेका देखिन्थे । जङ्गली फूलहरुको सुगन्ध मगमगाई रहेको थियो । अग्ला साल र सिसौले हामीलाई झुकेर सम्मान गरिहेका थिए ।
मेरो कल्पनाको नेपाल प्रारम्भ भएजस्तो लाग्यो । प्रत्येक डाँडाका चुचुराहरुमा यस्तै आस्था र विश्वासका मन्दिरहरु निर्माण गर्दै जाने हो भने पर्यटकहरुले नै हामीलाई पालिदिन्थे । हामी मन्दिरभित्र थियौँ । स्वस्ति न इन्द्रो वृद्घश्रवाः .... ।
“कति निदाउन सक्नु भएको हँ ? कोशीको बाँध भत्कियो रे उता पहाडमा पुरै रातमाटे डाँडामा पहिरो गएछ ।
चूडामणि नेपाल अकिञ्चन
विराटनगर १




















