असमझदारीको बाँझोमा

कलमको हलो चलाउदै

शब्दको ब्याडमा

अक्षरका बेर्ना उमारेर

चेतनाको मलजल सिंच्दै

फुलाउनुछ एउटा सुन्दर नेपाल ।।


विविधताको सियोमा 

एकताको धागो उनेर

मधेसको उध्रिएको चोली

पहाडको मक्किएको फरिया सँगै 

तुन्नु छ हिमालको फाटेको टोपी ।।


अक्षरका चोया काढेर 

सद्भावले बुनेको

देशप्रेमको ढाकर

नवरसको खकन तक्मा लगाई

क्रान्तिको नाम्लो थाप्लोमा भिरेर

जुरुक्क बोकेर अघि बढ्नु छ मेरो देश ।।


मेरो चन्द्र सुर्य

लालीगुराँसमा सिउरिएर

मेची कालीको निलो बहावले

किनारालाई बिटमार्दै

अखण्डताको खम्बामा

एकताको  तुनाले 

मसक्क मस्काएर

तनक्क तन्काएर

फर्फराउनुछ आफ्नै अन्तस्करणमा

मेरो प्यारो चन्द्र सुर्य ।।


मेरो देश 

मधौरु छ आजकाल

भ्रष्टाचारी डेङ्गु लागेर

कुसासनको ज्वरो आउँदा

लल्याक लुलुक गलेकाछन् 

न्याय र कानुनका हातगोडाहरू

देश रुँघ्न हिँडेका कुरुवाहरू

एक आपसमा भिड्न लाग्दा

तरङ्गित भएकाछन् रारा र फेवाहरू

थर्थराएका छन् 

कञ्चनजंघा र सगरमाथाका शिर।।


भागवत गिता, मुन्धुम, त्रिपिटक सँगै 

बाईबल र कुरानका महिमा गाएर

मष्तकमा देशप्रेमको तिलक लगाउँदै 

गाउँनुछ एक स्वरमा

सयौं थुंगा फूलका हामी एउटै माला नेपाली ....

देशलाई पुनर्ताजगी गर्दै 

बनाउँनुछ सुन्दर शान्त प्यारो नेपाल 

जय जय जय नेपाल।।


लक्ष्मीप्रसाद फुयाल

मोरङ पथरी शनिस्चरे