घाँटी घाँटी 

चिउँडो चिउँडोसम्म आई पुगेको छ

दाम्लोको चेपबाट तप्तपाउदै गरेको पसिनाको छिपेखोला

बैशाख,जेठको रापिलो घाममा

जिन्दगीको हाट बोकेर

सानागाउँको उकालो उक्लिदै/झर्दै गर्दा।

घाम 

यसरी चर्किरहेको छ कि !

मानौ,सुर्य स्वयम धर्तिमा अवतरण गरिरहेको छ

आँखा उघार्न मिलिरहेको छैन

आँखामा परेको तेजिलो प्रकाशको तेजले।

तर

दिउँसै लालटिन बालेर

जिन्दाबाद मुर्दाबाद भनिरहेको छ शान्तिनगर

दिउँसै मसाल बलेको खबर छ बुढिखोलामा

उज्यालो बिहानीको खोजीका लागि।


अवाक छ

मेरो नुनको भारी,मट्टीतेलको ग्यालेन

सायद यसै सोच्दो हो

गणतन्त्रमा दिउँसै अँध्यारो हुन्छ कि क्या हो ?

कि रातारात:-रातै फल्यो फेरि ?

बर्षौ पहिले

मैले आँखा रोपेको आँगनमा।


एकाएक

आमालाई भनेर 

गुडको भेली सङ्गै बाँधेको 

एकथान नयाँ टुकी फुत्किएर बोल्यो

"बेकार रहेछ नुनको सोझो गर्नु पनि"

टुपीमा बिजुली,ललाटमा रात

नुनको खानी,अलिनो गाँस।


मैले 

पसिना निचोरे

दोश्रो पटक 

जयगढ पुगीसकेको थियो हाट बजार

समुन्द्रको यात्रा तय गरेको सेती झै

मैले सोचे

क्षेत्रीय उत्पिडन पनि सकियो

नुनको जोहो सङ्गै

म गलत रहेछु

अझै फलेका रहेनछ्न,मैले रोपेका आँखा

मैले रोपेका आँखा........।।।


एमपी पाण्डे

बाजपा ३,अछाम