रङ्गहरू केवल दृश्य मात्र होइनन्,
विचारका छालहरू हुन्,
भावनाका तरंगहरू हुन्,
एउटा युगको चेतनाले कोरेको
समयको हस्ताक्षर हुन्।
तर जब कसैले
रङ्ग बदल्ने दुस्साहस गर्छ,
त्यही क्षण बदलिन्छ सत्यको अनुहार,
इतिहासका पानाहरू पुनर्लिखिन्छन्,
र मान्छेहरू आफ्नै पहिचानसँग अपरिचित बन्छन्।
सेतो कहिले शान्तिको प्रतीक,
कहिले आत्मसमर्पणको संकेत,
रातो कहिले क्रान्तिको आगो,
कहिले निर्दोषको रगत।
कालो, जसले सृष्टिको गर्भमा रहस्य बोकेको छ,
त्यही कालोलाई भयको संज्ञा दिइन्छ।
तर सत्य?
सत्य कुनै रङ्गको कैदी हुँदैन,
त्यो समयभन्दा पर छ,
शब्दहरूभन्दा गहिरो छ,
तर पनि रङ्ग बदल्नेहरू
त्यसलाई छायाँमा धकेल्न खोज्छन्।
सुकरातले विष पिए,
किनभने उनले रङ्ग बदल्न अस्वीकार गरे।
गौतम बुद्धले सिंहासन त्यागे,
किनभने उनी मोहका रङ्गहरूबाट मुक्त भए।
नीत्शेले भने, "सत्य खोज,
तर सचेत बन,
किनभने समाजलाई सत्यभन्दा
सुन्दर भ्रम मनपर्छ।"
आज फेरि समयको अदालतमा उभिएर
तिमी आफैंसँग सोध,
के तिमी रङ्ग लगाउने कलाकार हौ?
कि रङ्ग बदल्ने षड्यन्त्रकारी?
के तिमी सत्यको रङ्ग जोगाउने हौ?
कि सुविधाका लागि चेतनाको क्यान्भास मेट्ने?
किनभने रङ्ग बदल्नु भनेको
केवल बाहिरी स्वरूप बदल्नु होइन,
त्यो इतिहास बदल्नु हो,
मानिसको आत्मा बदल्नु हो,
र जब आत्मा नै बदलिन्छ,
त्यहाँ सत्यको मृत्यु हुन्छ।
विनोद विवश
इटहरी सुनसरी




















