(कविता) —दिनभरीको शिकार


चिया पसलमा गफ छाँटने ,चार अक्षर लेखि टोपल्ने

नाम चलेका तर पेट दाम्रेका नेताहरुको टेक्ने समाउने लौरो तर गुरु जनताहरुको

मेरो हैन तीनै मास्टर नानीको गुनासो , गरौ कसो ?, सुन्नै पर्‍यो दुखेसो


हिजोसम्म आकाश पाताल हाँक्थे

उन्नती र प्रगती रोक्ने, पुराना हुन मेठहरु हुन भन्थे

बाबु आमाको के योगदान ?

उनीहरुले रमाइलो गरे हामी पैदा भयौं

हुर्काउने पाल्ने भारा , उनीले तिरेको मनोरञ्जन कर भन्थे

ठिकै त हो जन्मन दरखास्त त हालेका हैनन


रातो रगत क्रान्ति हुन्छ अरे

सिउदोको सिंदुर दासता अरे

नयाँ मिर्मिरे उदाउदै छ अरे

उक्साउथे पुरानो समाप्त नभई नयाँ हुन्न रे

मिलेर बस्नु कायरता , परंपरा मान्नु पछौटेपन

विधि नियम समाज ,अनुशासन अनि सभ्य व्यवहार

हातको हतकडी खुट्टाको नेल 

समग्रमा मुलुक नै एक ठूलो जेल



उनिहरुका उक्साहटमा 

कयौले ज्यानको चिन्ता गरेनन

सुनौलो भविष्य, आउदै गरेको मिर्मिरे 

गरे लठ्ठ परेर होस्टेमा हैसे 

अव उनले भनेको सुनौले बिहान आएको छ

हातको हतकडी खुट्टाको नेल काटिएको छ

न पुराना जेलर छन , न जेल नै कायम छ

अब त मेहेनतको फल पाउने 

सन्ततिको ओठमा हाँसो दिने 

साँच्चै बाली भित्र्याउने बेला छ


तर अव उनको गुनासो छ

आफ्नाले कुरा नमानेको गनगन छ

हिजो सबै जिम्मा लिने डुक्राई 

आज लुते कुकुरको पुच्छर लुकाई


भन्छन, भन्न त भन्थे बुढापाका ,तर लाग्यो 

ती त सेतै फुलेका, किन्तु बुद्धि नभाका

हैन रहेछ, पुग्दो रहेछ उखानमा जो भन्छ

नखाउँ भने दिनभरीको शिकार

खाँउ भने कान्छा बाको अनुहार

हेर्नुस न,


हिजोका दाम्रेका पेट आज दमाहा भए

भुक्के चप्पलमा चार पाँग्रा लागे

सत्र मुजा परेको अनुहार 

इस्तरी लगाएको धोती झै चिल्ला भए


किनभने,

उनीहरुको चित्कार सुन्ने कान टालिएका छन

दुख हेर्ने आँखा बन्द भएका छन

उनीहरुकै भरोसामा तपाईहरुलाई 

सपनाको हावामहल देखाईयो

आकास पाताल गुड्डी हाँकियो

ज्यान फाल्न तैयार गरियो


हो तपाईहरुले सबै दिनुभयो

यो छैन त्यो छैन भन्ने बहाना छैन

भन्नुस म के गरौ,

पिडा तपाईहरुलाई त छ नै 

तर मलाई जस्तो छैन

नखाँउ भने दिनभरीको शिकार

खाउँ भने कान्छा बाबुको अनुहार


के भनौ, आशा गर्नुस

बालुवा पेलेर तेल निकालिएला

बगरको ढुँगो पनि टुसाएर आउला

विश्वास कायम राख्नुस पक्का आउला

कठै मेरो दिनभरीको शिकार


स्वयम्भुनाथ कार्की

विराटनगर १

२०७५।५।३०