लघुकथा-:माया
" ओहो कस्तो गर्मी चिसो पानी खाउँन हौ। " बरन्डामा बस्दै दिनानाथले बुढीलाई अर्हाए। हँसिलो अनुहारमा छोराहरु पनि पछि पछि थिए। कान्छो छोरोले हातमा भएको मिठाई आमालाई दिदै भन्यो।" बुवाले व्यवहार सक्नुभयो।"
"हैन! कस्तो व्यवहार हो ?" छक्क पर्दै बुढालाई हेरिन् ।
"आजदेखि सबै खेतबारी यिनीहरुलाई छुट्याई दिए।" मरे भने पनि ढुक्कले मर्छु।" लामो श्वास फेरे।
"जेठो, माइलो छुट्टीएकै थिए। कान्छी बुहारीको जागिर भएर पो, कान्छो हामीसंग छ । यसका सान- साना केटाकेटी नभएको बस्थियो कि जान्थियो?" मनमनै भनिन् ।
"कसलाई के के दिनु भयो त?" चिसो मनले सोधिन् ।
"उनीहरु कै ईक्छानुसार सबै ठाउँको तीन भाग लगाई दिए।"
"मलाई खै त?" बुढालाई सोधिन् ।
"तलाई म छदैछु नि। किन चाहियो?" घर देखाउदै भने।
"ए! आफू मर्ने बेलामा सबै सम्पति भाग लाएर म छदैछु ?"
"त आमा! तलाई त्यसै पनि छोराहरुले कत्ति धेरै गर्छन् ।" सान्त्वना दिदै भने।
"अब भरेदेखि छोराहरुको मै खान जानु। तपाईलाई नै गरुन् । म गर्न पनि सक्दिन् ।" दुखिरहेको घुँडा समाउदै उठिन्।
"कहाँ हिडेकी? मेरो कुरा सुन्न।" रित्तो गिलास हातमा दिन खोज्दै भने।
"अब तपाईको बोक्रे माया चाहिदैन् ।"
टोरोन्टो, क्यानाडा।
ईति।




















