कविता -:नियति र प्रतीक्षा


बिहानीले सुनायो बास्नाहरूको कथा,

हावाले बगायो अनुभूतिका पत्रहरू।

तिमी जन्मेथ्यौ कुनै बेला, कुनै क्षण,

म खोजिरहेछु त्यो कालखण्डभित्र,

समयका मौन उत्तरहरू।


म पुग्न चाहन्थेँ तिम्रो सामु,

जसरी नदी समुन्द्रको काखमा समाहित हुन्छ।

तर समयले बुनेका अनगिन्ती व्यतिक्रममा

मेरो पाइला अल्झिरह्यो,

भ्रमरझैँ अमूर्त रहस्यहरूमा।


समय मेरा प्रश्नहरूलाई मौन गराउँदै गयो,

प्रतीक्षाका घडीहरू अबुझ रहिरहे।

के जन्मदिन मात्र समयको संकेत हो?

के भेट्नु नै प्रेमको परिभाषा हो?कि,

प्रेम आफैँ एउटा समय हो,

जो धड्किन्छ बिनासङ्केत,

बिनाअवसर?


तिम्रो भेट्ने समय जुरेन,

तर समयले मलाई तिमीभित्र भेटाइरह्यो।

तिमी नभएर पनि म तिमीभित्रै थिएँ,

तिमी नभएपछि समय शून्य बनेको थियो।


आकाशले तिमीलाई समेट्न खोज्यो,

तर घामको किरणले बाटो बिर्सिएझैँ,

म पनि तिमीलाई भेट्न खोज्दा

समयको म कुहिरोभित्र हराएँ।


तर अब, म बाँच्नेछु

तिम्रै प्रतीक्षाको छायाँमा,

जहाँ भेट नभए पनि

आत्माहरूको संवाद रहिरहनेछ।


विनोद घिमिरे 

इटहरी 

फागुन ७ गते