छन्द कविता
छन्द:वसन्ततिलका
तभजज दुई गुरु
ssi, sii, isi, isi, s, s
आठमा विश्राम
लक्षण : उक्ता वसन्ततिलका तभजा जगौ ग:
गोर्खा यहाँ तल झरे,मन भन्छ साथी।
गोर्खा बनेछ नमुना,अति दुख्छ छाती।
सिङ्गै भुले अब यहाँ,सब पो हराए।
साँचेर लालच खुबै,जग नै हँसाए।
गोर्खा मिलीकन सँगै,सब साथ बाँच्थे।
जस्तै अनिष्ट पलमा,सब साथ हाँस्थे।
गोर्खा दुई मत भई,रहने थिएनन्।
ईमानदार रहने,छलले जिएनन्।
के भन्नु बोल्न नहुने,हिजआज थोरै।
कस्तो छ हैकम यहाँ,डर हुन्छ धेरै।
बेच्छन् थलो मन सबै,अभिमान छैन ।
भन्छन् सधैँ अभय हौँ,भय पीर छैन।
दुर्वुद्धिले तल झरे,अब जाति भाड़्दै।
स्वार्थी विचार मनले,सब जाति गाड़्दै।
यस्तो अधोगति भयो,गुँड़ सल्किदैछ।
छि: घीन लाग्छ मनले,जन मासिदैछ।
तिम्रो छ स्वाङ अति भो,पर सार गोर्खे।
त्यो स्वार्थ लोभ भुलिदै,हुन छोड़ फुर्के।
लौ सोच आगत कुरा,रुन पर्छ नत्र ।
त्यागेर लालच सबै,उठ जाग मित्र ।
विष्णुकुमार बराइली
भारत ,मिरिक




















